शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म

बिहीबार, ११ वैशाख २०८२, २२ : ००
बिहीबार, ११ वैशाख २०८२

आज मिति २०८२ साल वैशाख महिनाको ११ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङ लिएर आएका छौँ ।

१. सरकार छाड्ने गगनको चेतावनी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिने बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहिबार आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा महामन्त्री थापाले जनताको कुरा गर्दा वास्ता नगरे सरकारबाट बाहिरिने बताएका हुन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा थापाले भने, ‘हाम्रा केही आधारभूत कुराहरू छन् त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ । यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।’

२. प्रचण्डलाई देउवाको फोन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्ड प्रस्थानअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेको खुलेको छ । वैशाख ७ गते उपचारका लागि भन्दै देउवा थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका थिए ।

देउवाको भ्रमणलाई सत्ता परिवर्तनसँग समेत जोडेर टिकाटिप्पणी भइरहेका बेला उनले प्रचण्डलाई फोन गरेको खुलेको हो । सिंहदबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले देउवाले आफूलाई फोन गरेको ब्रिफिङ गरेका हुन् ।

३. माओवादीको चासो

शुक्रबारदेखि सुरु हुने संसदको बर्खे अधिवेशनमा प्रभावकारी ढंगले प्रस्तुत हुने प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ ।

बिहीबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले गत वर्ष खासगरी विद्यालय शिक्षा विधेयक सम्बन्धमा माओवादी नेतृत्वको सरकार र नेपाल शिक्षक महासंघसँग भएका सम्झौता कार्यान्वयन नभएकोप्रति माओवादीले गम्भीर चासो देखाएको छ ।

४. नियमावली संशोधन

सरकारले सार्वजनिक खरिद नियमावलीको चौधौँ संशोधन स्वीकृत गरेको छ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको नियमावली संशोधनको मस्यौदा सोमबार बसेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

५. पहलगाम घटना

एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भारतको जम्मु–कश्मीर पहलगाममा भएको आतंकवादी आक्रमणको चौतर्फी आलोचना भइरहेको छ ।

यो आक्रमणपछि भारत–पाकिस्तानबिच द्वन्द्व झनै चर्किने देखिएको छ । यतिवेला पाकिस्तानप्रति भारत आक्रामक भएको छ । यी दुई देशबिच युद्ध भए दक्षिण एसियाका देशहरू प्रभावित हुने देखिएका छन् ।

पहलगाममा भएको आक्रमणपछि नेपाल–भारत सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

६. शिक्षकका सवाल

गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा उक्त आदेश दिएको हो । साथै कक्षा १२ को परीक्षा नसार्न पनि आदेशमा भनिएको छ ।

७. शिक्षामन्त्रीको शपथ

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

पन्तलाई प्रधानमन्त्रीले वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए ।

८. दीपक मनाङे

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि दिएको निवेदन फिर्ता लिएका छन् ।

पुनरावलोकनका लागि निवेदन दिएको चार महिना नाघिसक्दा पनि पेसी चढ्ने तर हेर्न नमिल्ने हुन थालेपछि उनले निवेदन फिर्ताका लागि अपिल गरेका थिए ।

उक्त अपिलमा न्यायाधीशत्रय कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले मागबमोजिम हुने आदेश गरेको हो ।

९. पार्टी एकता

डा।सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच एकता घोषणा हुने निश्चित भएको छ । एकताको सबै तयारी पुरा भएको र वैशाख १७ गते दुई पार्टीबिच एकता घोषणा हुने जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् ।

१०. एमालेको कार्यक्रम

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजा र राजसंस्थाको माग गर्नेहरुलाई राक्षसी प्रवृत्ति देखाएको भन्दै कटाक्ष गरेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा विहीबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिका घरमा आगजनी गर्ने, पार्टीका कार्यालय, व्यपारिक प्रतिष्ठान, सञ्चारगृह तोडफोड गरेर कस्तो तानाशाही ल्याउन खोजेको भन्ने देखिएको बताए ।

यो पनि...

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप