सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’

काठमाडौँ । बिहीबार सुरक्षाकर्मीको घेराबिच करिब १२ बजे सर्वोच्च अदालत प्रवेश गरे गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद सजाय भोगिरहेका मनाङे फैसलाको पुनरावेदनका लागि दिएको निवेदन फिर्ता लिन सर्वोच्च पुगेका थिए । सुरक्षाकर्मीसहित उनी केही समर्थकहरूले लिएर पुगेका थिए ।
न्यायाधीशत्रय कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासबाहिर बसेर आफूले दिएको निवेदनको आदेश पर्खिए । पहिलो नम्बरमै तोकिएको भए पनि आदेशका लागि पेसी चढ्न केही समय लाग्ने भएपछि त्यहाँ एकैछिन बसेर उनी तल्लो तला झरे ।
करिब दुई घण्टा उनी सर्वोच्च परिसरमा देखिए । फैसलाको पुनरावेदनका लागि दिएको निवेदनमा इजलासले मागबमोजिम हुने आदेश गरेपछि प्रहरीले उनलाई भ्यानमा हालेर डिल्लीबजार लग्यो । उनले त्यो दुई घण्टा अवधिमा सर्वोच्च अदालतको गोला तान्ने प्रक्रियादेखि राजनीतिक नेतृत्वसम्म वितृष्णा पोखेका थिए ।
इजलासबाहिर बसिरहँदा वरिष्ठ अधिवक्ता सुशिल पन्त न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल पूर्ण इजलासबाट बाहिरिए । ‘सुशील दाइ हैन ? नमस्ते,’ सँगै जोडिएको अर्को इजलासको ढोका अगाडि बेन्चमा बसिरहेका मनाङेले उठ्दै नमस्कार गरे ।
‘ह्याँ किन ?’ पन्तले सवाल गरे । ‘अपिल फिर्ता लिन आएको,’ मनाङेले जवाफ दिए । फेरि पन्तले सोधे, ‘केको अपिल ?’ पन्त इजलासबाहिर ढोकामा टाँसिएर पेसी सूची हेर्न आए ।
‘सारेको सार्यै गर्छन् । पाँच महिना भइसक्यो । हैन, हेर्न नमिल्ने भए गोला किन तान्नु ?’ मनाङेले अदालतप्रति वितृष्णा व्यक्त गरे ।
केही समय वरिष्ठ अधिवक्ता पन्तसँग गफिएपछि उनी २०७८ मंसिर १५ देखि सर्वोच्चमा सुरु भएको गोलाप्रथाद्वारा पेसी व्यवस्थापनको प्रक्रियाविरुद्ध खनिए । ‘यिनीहरू हेर्न नमिल्ने थाहा पाइपाइ गोला तान्छन्,’ उनले सुरक्षाकर्मीहरूतर्फ हेर्दै बताए ।
यद्यपि, गोला तानिसकेपछि मात्रै कुन मुद्दा कसको इजलासमा पर्यो भन्ने थाहा हुन्छ । बिहान १०ः१० भित्रै सर्वोच्च पुगेर न्यायाधीशहरू गोला (गोट्टी) तान्ने हलमा सहभागी हन्छन् र गोलाअनुसार साढे १० बजे पेसी तोकिने काम हुँदै आएको छ । यसरी गोला तान्दा कुनै मुद्दा न्यायाधीशले हेर्न नमिल्ने भए त्यो स्वतः हेर्न स्थगित हुने गर्छ ।
मनाङेले निवेदन दिएको पाँच महिना बितिसक्यो । हरेक पटक हेर्न नमिल्ने भएकाले आफू निवेदन फिर्ता लिन आएको उनले बताइरहेका थिए । उनले सर्वोच्चको फैसला पुनरवलोकनका लागि २०८१ माघ ४ गते निवेदन दिएकोमा माघ १० गते निवेदन दर्ता भएको थियो । यसबिच उनको निवेदन तीन पटक पेसी चढेको छ । २०८१ फागुन १५, चैत ७ र वैशाख ४ गते । हरेक पटक यसअघि जिल्ला र उच्च तथा सर्वोच्चमा फैसला हुँदा उनको मुद्दा हेरिसकेका न्यायाधीशको इजलासमा परेपछि स्थगित भएको थियो ।
हरेक पटक स्थगित भएपछि गत वैशाख ८ गते निवेदन फिर्ताका लागि उनले अपिल गरेका थिए । इजलास बस्न समय लाग्ने भएपछि उनी भुइँतलामा झरे । प्रहरी र आफन्तहरूबिच उनले नेपालको राजनीतिप्रति वितृष्णा पोखे । उनले सरकारबाट कैद छुट पाएर सर्वोच्चको आदेशपछि पुनः जेल फर्किएका नेपालगञ्जका योगराज ढकाल (रिगल)को घटना पनि सम्झिए ।
‘अदालतले कैद छुट दिने निर्णय गरेपछि राष्ट्रपतिले राजीनामा दिनुपर्दैन ? सब चोरहरू । ग्वाम्मै पैसा खायो.....अनि फेरि जेल पठायो....?’ सुरक्षाकर्मीतर्फ हेर्दै उनले भने । यसो बताइरहँदा सायद उनी सुरक्षाकर्मीको सहमतिपूर्ण जवाफ चाहन्थे, तर सुरक्षाकर्मीहरू चुपचाप मुस्कुराइ मात्रै रहे ।
त्यसपछि पुनः उनी अदातलको गोला प्रणालीविरुद्ध खनिए ।
‘हेर्न मिल्दैन भन्ने थाहा पाइपाइ गोला तान्छ यिनीहरू,’ उनले फेरि भने ।
‘गोला तानिसकेपछि मात्रै कसको मुद्दा हो थाहा हुने भएर हो,’ नजिकै रहेका एक कर्मचारीले भने ।
‘सुरुमै हेर्न नमिल्ने मुद्दा किन तान्न दिनु ?’ उनले प्रश्न गरे ।
‘गोलाले अहिले हैरान बनाएको छ । यसलाई रोक्न प्रणाली बन्दैछ । हेर्न नमिल्ने मुद्दा छुट्याउनेगरी,’ उनले जवाफ फर्काए ।
अदालत र सरकारविरुद्ध आक्रोश पोखेपछि इजलासमा उनको पेसीमाथि सुनुवाइ भयो । अदालतले मागबमोजिम हुने आदेश गर्यो ।
के हो मनाङेको मुद्दा ?
मनाङेको समूहले ठेक्कापट्टा र असुली धन्दामा २०६१ वैशाखमा अर्का गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । त्यसवेला मनाङे ठमेल क्षेत्रलाई आधार बनाएर अपराधका क्षेत्रमा सक्रिए थिए भने चक्रे चक्रपथ क्षेत्रलाई । दुवै समूहबिच दुस्मनी चलिरहेको वेला मनाङेको समूहले चक्रेको समूहमाथि आक्रमण गर्दा उनको देब्रे हात काटिएको थियो ।
उक्त घटनापछि प्रहरीले मनाङेलाई २०६१ चैतमा पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँको फैसलाबमोजिम मनाङे दुई वर्ष कैद सजाय कटाएर रिहा भएका थिए । जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन परेपछि उच्चले उनलाई ५ वर्ष कैद सजायको फैसला गरेको थियो ।
उच्चको फैसलापछि फरार रहेको अवस्थामा उनी २०७५ मा पक्राउ परेका थिए । उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुर्पक्षका लागि थुनाबाहिर बसेर मुद्दा लड्न पुनरावेदन पाएका थिए । यसैबिच २०८१ कात्तिक २० गते सर्वोच्चले पनि उच्चकै फैसला सदर गरेपछि उनी कात्तिक २७ गते पक्राउ परी सोही दिन कारागार चलान भएका थिए ।
यसैबिच उनले मुलुकी अपराध ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको मागसहित जिल्ला अदालत काठमाडौँमा निवेदन दिएकोमा जिल्लाले मागबमोजिम १ वर्ष कैद कट्टाको आदेश गरेको थियो । ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा २० प्रतिशत कैद छुट हुने व्यवस्थाअनुसार उनले उक्त छुट पाएका थिए ।
एक वर्ष कैद छुट र विभिन्न समयमा कैद भुक्तान गरिसकेकाले अब मनाङेले एक वर्ष चार महिना मात्रै कैद भुक्तान गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा