पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो

काठमाडौँ । एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भारतको जम्मु–कश्मीर पहलगाममा भएको आतंकवादी आक्रमणको चौतर्फी आलोचना भइरहेको छ ।
यो आक्रमणपछि भारत–पाकिस्तानबिच द्वन्द्व झनै चर्किने देखिएको छ । यतिवेला पाकिस्तानप्रति भारत आक्रामक भएको छ । यी दुई देशबिच युद्ध भए दक्षिण एसियाका देशहरू प्रभावित हुने देखिएका छन् ।
पहलगाममा भएको आक्रमणपछि नेपाल–भारत सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
पहलगाम आतंकवादी आक्रमणमा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको छ । उनको शव आज बुटवल ल्याइएको छ । उक्त आक्रमणमा न्यौपानेकी आमा घाइते भएकी छन् ।
नेपालीको ज्यान गएकाले पहलगाम आक्रमणपछि नेपालको सुरक्षा व्यवस्था पनि विशेष चासोको विषय बनेको छ । उक्त आक्रमणप्रति नेपालले घोर आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गर्दै ओलीले आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरे ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पनि यस्तो क्रूर र अमानवीय कार्यको निन्दा गर्दै दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा नेपाल रहेको बताएकी छिन् । त्यस्तै विभिन्न राजनीतिक दलका नेताहरूले पनि आक्रमणको निन्दा गर्दै आपत्ति जनाइसकेका छन् ।
पहगाममा भएको आतंकवादी हमालाप्रति नेपाल पनि गम्भीर हुनुपर्ने परराष्ट्रविज्ञ टंक कार्की बताउँछन् । भन्छन्, ‘आतकंवादीको आक्रमणलाई जति निन्दा गर्दा कमै हुन्छ, त्यसलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन तर यसपटक त्यसमा एक जना नेपालीको ज्यान गएकाले नेपाल अलि बढी नै सतर्क र सचेत रहनुपर्ने अवस्था छ ।’
नेपाल–भारतबिच खुला सीमा भएकाले घुमघामका लागि बुहसंख्यक नेपाली भारत गइरहेका हुन्छन् । यस्तो अवस्थामा अब नेपालले सुरक्षामा पनि चासो लिनुपर्ने अवस्था देखिएको उनको भनाइ छ । ‘भारत सरकारसँग आग्रह गरेर नेपाली पर्यटक तथा त्यहाँ विभिन्न कामले बसेका नेपालीको सुरक्षामा ध्यान दिन भारतलाई विशेष आग्रह गर्नुपर्छ,’ उनले भने ।
दुई देशबिच खुला सीमा भएका कारण सुरक्षालाई लिएर दुवै देशले वेला–वेलामा चिन्ता व्यक्त गरिरहेका हुन्छन् । खासगरी भारतले नेपालसँगको सीमामा सुरक्षा कडा बनाउनुपर्ने धारणा राख्दै आएको छ ।
नेपाल हुँदै भारतमा आतंकवादीहरू छिर्ने गरेको दाबी भारत पक्षले पहिल्यैदेखि गर्दै आइरहेको छ । नेपालले पनि भारतीय सीमाबाट आपराधिक गतिविधि हुँदै गरेको र त्यसलाई नियन्त्रण गर्दै आउनुपर्ने भन्दै आएको छ । त्यसका लागि वेलावेलामा दुई देशबिच रहेको सुरक्षा संयन्त्रको बैठक बसेर त्यसमा छलफल गरिरहेका हुन्छन् ।
भारत–पाकिस्तानबिच तनाव बढ्न गए दक्षिण एसियाका देशहरूमा यसको सीधा असर पर्ने देखिन्छ । खासगरी नेपाल–भारतबिच भएको खुला सीमाले बढी प्रभाव पार्ने देखिन्छ । यस्तोमा जे पनि हुन सक्ने बताउँछन्, परराष्ट्रविज्ञ विजयकान्त कर्ण । त्यसैले नेपाल सचेत रहनुपर्ने उनले सुझाए ।
पहलगामको घटनाले स्थिति ठिक नदेखाएकाले अवस्था भिडन्ततिर गइरहेको बताए । अब नेपालले शान्तिको सन्देश दिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम