एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब

पोखरा । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले हालै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे विस्तृत अध्ययन गरेर रिपोर्ट तयार गरेको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी घोटाला र अनियमितता भएको निष्कर्ष निकालेको छ ।
उक्त विमानस्थल निर्माणका क्रममा नीतिगत निर्णय गरेर अधिकांश रकम भ्रष्टाचार भएको खुलाइएको छ । उपसमितिले निर्णय र निर्माणमा संलग्न पदाधिकारी र कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाउन र थप अनुसन्धानको माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ ।
पोखरामा विमानस्थलको अध्ययन रिपोर्ट बाहिरिएसँगै पोखरेलीहरूले पोखरा रङ्गशाला निर्माणको पनि अनुसन्धान गर्न माग गरेका छन् । पोखराका पुराना फोटो पत्रकार सुदर्शन रञ्जितले विमानस्थल घोटालाको समाचार शेयर गर्दै लेखेका छन्, ‘अब पोखरा रङ्गशालाको पनि छानबिन हुनुपर्छ । ३० वर्ष केही हुँदैन भनेको प्यारापिटको प्लाइउड ३ वर्ष नहुँदै कुहिएको छ ।’ २०७५ पुस १३ मा निर्माण सम्झौता भएको रङ्गशालाको काम ३ वर्षभित्रै पूरा भएको हो । १ अर्ब २८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको रङ्गशाला केही रकम सरकारले दिन बाँकी भएकोले हस्तान्तरण नै गरिएको छैन । पानीले प्यारापिटको प्लाइउड कुहिएपछि सहारा क्लबले आहा रारा गोल्डकप आयोजना गर्दा मर्मत गरेको थियो ।
‘कतिपय प्यारापिटमा त छिर्नै नमिल्ने भएको छ । गेम खेलाउने भएपछि भीआइपी प्यारापीटमा नयाँ प्लाइउड ल्याएर मर्मत गर्यौं,’ सहारा क्लबका अध्यक्ष केशवराज बरालले भने, ‘रंगशालामा अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा भएको छैन भन्ने गुनासो पनि छ ।’ मापदण्ड अनुसार दर्शक मैदानमा आउन नमिल्ने गरी ब्लक निर्माण गर्नुपर्छ । तर यो प्यारापीटको सबै ठाउँबाट दर्शक सहजै मैदानमा छिर्न सक्छन् । बरालका अनुसार करिब १ लाख रुपैयाँ मर्मतमा सहाराले खर्च गरेको थियो । पलाइ कुहिएपछि सामाजिक सञ्जालमा एयरपोर्टमा घोटाला भएको र उक्त निर्माणको विशेष छानबिन गर्न दबाब दिइएको छ ।
भारतको ग्रेट स्पोट्र्स इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले रङ्गशाला निर्माण गरेको हो । स्टिल मोडुलर ग्राण्डस्ट्यान्ड (प्यारपिट) को सामान फ्रान्सबाट ल्याइएको कम्पनीले जनाएको छ । उक्त प्यारापिट जडानको लागि फ्रान्सबाट २ जना प्राविधिक समेत पोखरा आएका थिए । रङ्गशालाको क्षमता १६ हजार ५ सय सिट छ । पूर्वीभागमा ५ हजार २ सय ६८, पश्चिममा ३ हजार ८ सय १४, उत्तरमा ३ हजार ४ सय ४४ र दक्षिणमा ३ हजार ६ सय ९० सिट जडान गरिएको छ ।
त्यसैगरी अति विशिष्ट कक्षमा २८, विशिष्ट कक्षमा २ सय २८ तथा अशक्तका लागि छुट्टै २८ सिट जडान गरिएका छन् । फुटबल मैदान, खेलाडी चेञ्जिङ रुम, एथ्लेटिक्स ट्रयाक तथा मिडिया सेन्टर, हल, शौचालय, प्यारापिटको पश्चिमको विशिष्ट कक्षमा छानो लगायत पूर्वाधार निर्माण भएका छन् । निर्माणको समयमा भिभिआइपी प्यारापिटको माथि राखिएको फेब्रिक पानीले नबिगार्ने र करिब ५० वर्षसम्म टिकाउ हुने दाबी छ । रंगशालामा फ्लड लाइट र स्कोर बोर्डको काम अझै भएको छैन । सरकारले केही रकम भुक्तानी दिन बाँकी नै रहेको निर्माण कम्पनीका इन्जिनियर दीपक बरालले सुनाए ।
रङ्गशाला जिल्ला खेलकुद समितिको रेखदेखका छ । पलाइ कुहिएको जानकारी पाएपछि रेकी गरिसकेको अध्यक्ष मिलन गुरुङले बताए । ‘भर्खरै आयौँ । हामी पनि बुझ्दैछौं । एक पटक हेर्न जाँदा पलाइ कुहिएको रहेछ,’ उनले भने, ‘अहिलेसम्मको अवस्थाबारे माथि रिपोर्टिङ गर्छौँ । फेर्नका लागि निर्माण कम्पनीलाई पनि कुरा पुगिसकेको छ ।’ परिषद्का इन्जिनियर अनिल अधिकारीका अनुसार रङ्गशाला निर्माण कम्पनीसँग वारेन्टी पिरियड बाँकी नै छ । वारेन्टी पिरियडभित्र बिग्रिएको सबै संरचना उसैले बनाइदिनुपर्ने सम्झौता छ । ‘पलाइ कुहिएपछि फ्रान्सका इन्जिनियरलाई बोलाएर देखायौँ । धेरै घामपानी हुने ठाउँमा पलाइ ठिक रहेनछ,’ उनले भने, ‘अब यसलाई पूरै फेरेर स्टिल राख्न लगाएका छौँ । उहाँहरू तयार हुनुहुन्छ ।’ केही भागमा स्टिल फिट गरेर नमुना परीक्षण गरिएको अधिकारीले बताए ।
निर्माण कम्पनीका बराल ३ महिनाभित्र स्टिल फेरिसक्ने बताउँछन् । ‘उत्पादन हुँदै छ । २ देखि ३ महिनाभित्र फेरिसक्छौँ,’ उनले भने, ‘युरोपको हावापानीमा गरिएको डिजाइन पोखरामा म्याच खाएन । यहाँ लगातार पानी पर्ने र चर्को घाम लाग्ने हुँदा समस्या आयो ।’ पलाइ हटाएर स्टिल राख्न छुट्टै ४ करोड हाराहारी खर्च लाग्ने बरालको भनाई छ । आयोजनाको परीक्षण अवधि नसकिँदासम्म पूरा आयोजनाको ५ प्रतिशत धरौटी कम्पनीले राखेको छ । २०३९ सालमा निर्माण गरिएको फुटबल रङ्गशालाको विशिष्ट कक्ष २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेको थियो । त्यसपछि आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रङ्गशाला निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म