बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादी विराटनगरको पदाधिकारी निर्वाचन शनिबार हुने

बिहीबार, ११ वैशाख २०८२, १३ : ४०
बिहीबार, ११ वैशाख २०८२

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको पदाधिकारी निर्वाचन शनिबार हुने भएको छ । गते आइतबार महानगरको दोस्रो सम्मेलन माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गरेका थिए । सम्मेलनको बन्द सत्रबाट ८१ जनाको कार्यसमिति चयन भएको थियो ।  

निर्वाचन समितिले बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरी शनिवार दिउँसो १ः ३० बजेबाट मतदान हुने जनाएको हो । प्रकाशित तालिकाअनुसार पदाधिकारी छान्न हुने निर्वाचनका लागि वैशाख १३ गते शनिबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गर्ने, बिहान १० बजे उम्मेदवारको मनोनयन दर्ता गर्ने, ११ बजे उम्मेदवारको विरोधमा उजुरी दिने, १२ बजे विरोधमा परेको उजुरीको सूचना दिने, १२ः ३० बजे उजुरी छानबिन गरी निर्णय दिने, १ बजे उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १ः३० बजेबाट निर्वाचन सुरु गर्ने भनिएको छ ।

यसैगरी मतगणना दिउँसो ३ः ३० बजेबाट सुरु गर्ने र लगतै मतपरिणाम घोषणा गर्ने भनिएको छ । गत आइतबार पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेको दोस्रो अधिवेशनको बन्दसत्र सोमबार रातिसम्म चलेको थियो । बन्द सत्रबाट पार्टीको राजनीतिक प्रस्ताव, सङ्गठनात्मक र आर्थिक प्रतिवेदनहरू पारित भएपछि समिति निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

कुल ३५६ प्रतिनिधिबाट ८१ जना महानगर समिति सदस्य निर्वाचित गर्नुपर्नेमा ८७ जनाले मनोनयन गरेका थिए । तीमध्ये ६ जनाले मनोनयन फिर्ता लिएपछि समिति सर्वसम्मत रुपमा निर्वाचित भएको थियो । तर कोषाध्यक्ष पदमा बाहेक अन्य पदमा सहमति बन्न सकेको थिएन ।

कोषाध्यक्षमा ५ जनाको दाबी रहेकोमा दाबेदारहरु बिचको छलफलपछि अन्य दावेदाहरु पछि हटेपछि मनिष सोनी सर्वसम्मत निर्वाचित भएका थिए । बाँकी पदाधिकारीहरूका बिचमा भने सहमति जुट्न सकेको थिएन । नेकपा माओवादी केन्द्रको विधानमा सम्मेलनमा उपस्थित प्रतिनिधिहरूबाट महानगर समिति सदस्यहरू निर्वाचित हुने र निर्वाचित भएका समितिका सदस्यहरूले पुनः पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप