बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

सरकार धेरै समय नटिक्ने निष्कर्षमा माओवादी, देउवा पर्खिँदै प्रचण्ड

बिहीबार, ११ वैशाख २०८२, १३ : ०८
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले अब सरकार धेरै समय नटिक्ने निष्कर्ष निकालेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अब केपी ओली नेतृत्वको सरकार धेरै समय नटिक्ने निष्कर्ष निकालेको हो । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको कांग्रेस–एमाले सरकार पूर्ण रूपमा असफल भएको बताएको एक सांसदले बताए । यस्तो अवस्थामा सरकार तलमाथि भएको खण्डमा के गर्ने भन्नेबारे भने प्रचण्डले स्पष्ट जवाफ नदिएको ती नेताको भनाइ थियो । यद्यपि यसबारेमा पार्टीभित्र थप छलफल आवश्यक रहेको उनको भनाइ थियो । 

ती नेताका अनुसार सरकार ढलिहाले अहिले सरकारमा जाने वा नजानेबारे भन्नेबारे प्रचण्डले स्पष्ट बताएनन् । ‘हामीलाई जनताले सरकारमा नजानु भनेको छ । हामीले पनि जाँदैनौँ नै भनेका छौँ । तर यस्तो परिस्थिति आयो जसले गडबडी मात्र गरेर बचेखुचेको सारा व्यवस्थालाई अन्त्य गर्ने बाटोमा जान्छन् कि भन्ने एउटा संशय छ’, प्रचण्डको भनाइ उदृत गर्दै ती सांसदले भने, ‘वर्तमान सरकार ढल्छ या ढल्दैन भन्ने अहिले नै टुंगो त लागेको छैन । तर धेरै जाला जस्तो देखिँदैन ढल्यो नै भने हामीले बाहिर बसेर समर्थन गर्ने हो या सरकारमै सहभागी हुने हो त्यसमा छलफल आवश्यक छ ।’

यदि सरकारमा जानुपर्ने बाध्यता आइलागेका बाहिरै बसेर समर्थन गर्ने कि सरकारमै सहभागी हुने भन्नेमा पार्टीभित्र एकमत हुनु आवश्यक रहेको प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए । सरकार बाहिर बसेर समर्थन गर्दा सहयात्री दलले नमान्ने, सरकारमै सहभागी भए जनतासँग गरेको प्रतिबद्धतामाथि ठेस लाग्ने भएकाले उनीमा द्विविधा देखिएको अर्का एक सांसदले बताए ।  

ती सांसदका अनुसार नयाँ समीकरणका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्किएपछि उनीसँग छलफल गर्ने पनि प्रचण्डले बताएका थिए । उनले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने पनि संकेत गरेका छन् । ‘वेइटिङ प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर हुनुहुन्छ । उहाँ आएपछि छलफल हुनेछ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने । अहिले देउवा उपचारका लागि थाइल्यान्डमा छन् । उनी उपचारका लागि थाइल्यान्ड गएको भनिए पनि कतिपयले राजनीतिक रूपमा समेत हेरिरहेको बेला प्रचण्डले पनि बैठकमा यस्तो बताएका हुन् । 

गत वर्ष असार ३१ गते प्रचण्डलाई सत्ताच्युत गरेर बनेको एमाले–कांग्रेसको गठबन्धनलाई माओवादीले अप्राकृतिक र असंवैधानिक भएको आरोप लगाउँदै आएको छ ।

यस्तै प्रचण्डले सार्वजनिक मञ्चबाट पटक पटक सरकार ढल्ने बताउँदै आएका छन् । यद्यपि सरकार परिवर्तनबारे सरकारका मुख्य घटक देउवाले पार्टीको आन्तरिक तथा बाहिरी फोरममा मुख खोलेका छैनन् । 

तर पनि ओलीको कार्यशैलीलाई लिएर एमाले र कांग्रेसभित्रै उकुसमुकुस भइरहेको, छिमेकी मुलुक चीन र भारतले समेत विश्वास नगरेको, सरकारको कार्यशैलीप्रति जनस्तरमा व्यापक असन्तुष्टि रहेकाले सरकारको भविष्य धेरै लामो नभएको माओवादीको निष्कर्ष छ । 

ओलीलाई जसरी पनि हटाउने दाउमा रहेको माओवादी पछिल्लो समय देउवालाई प्रधानमन्त्री बनाउन सकारात्मक देखिएको हो । तर गठबन्धन परिवर्तन गर्न देउवा तयार नभएसम्म माओवादीको चाहना पुरा हुने देखिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप