शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय
‘केको रिटायर्ड ? अन्तिम घडीसम्म कलाकारिता गर्ने हो’
अन्तर्वार्ता

‘केको रिटायर्ड ? अन्तिम घडीसम्म कलाकारिता गर्ने हो’

९० को दशकमा एउटा फर्मुलामा रहेर चलचित्र बन्थ्यो, अहिले दायरा असाध्यै फराकिलो छ : राजेश हमाल
बिहीबार, ११ वैशाख २०८२

काठमाडौंँ । नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशक भयो राजेश हमालले बिताएको । पछिल्ला आठ वर्ष भने उनी ठुलो पर्दाबाट टाढै रहे । यसबिचमा उनले टेलिभिजन कार्यक्रमदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गरे । तर फिल्मबाटै उदाएर यो ख्याति कमाएका उनले यसलाई बिर्सन सकेनन् ।

कमब्याक गर्दैछन्, फिल्म ‘नरसिंहा अवतार’बाट । यो फिल्म आगामी जेठ ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । आठ वर्षपछि उनलाई फिल्ममा देख्न पाउँदा दर्शक पनि निकै उत्साहित छन् । बौद्धिक अभिनेताको छवि बनाएका हमालसँग उनको कमब्याक र चलचित्र क्षेत्रको फड्कोबारे रातोपाटीले कुराकानी गरेको छ । 

  • ‘नरसिंहा अवतार’ तपाईंको कमब्याक फिल्म भनिएको छ । कमब्याक मान्ने, कि नमान्ने ?

– कमब्याक मान्ने कि नमान्ने भन्दा पनि कसरी हेर्ने भन्ने कुरो हो । एउटा अन्तरालपछि म चलचित्रमा देखिँदैछु । यो सन्दर्भमा कमब्याक भन्न मिल्यो । म चलचित्र क्षेत्रबाटै विलिन भएर गुप्तबास बसेर फेरि देखिएको भन्नुचाहिँ जायज नहोला । म यो क्षेत्रबाट बाहिर थिइनँ । अन्य कामहरू गर्दै थिएँ, चलचित्र गतिविधि नजिकै थिएँ ।

  • केही समय किन चलचित्रबाट टाढा रहन मन लाग्यो ?

– मेरो रिलिज भएको पछिल्लो चलचित्र ‘शकुन्तला’ हो । यसको रिलिजपछि जानीबुझी नै चलचित्रबाट ग्याप लिएको हो । केही समय नगर्ने मात्र मनस्थिति थियो, यति लामो समयको सोच थिएन । चलचित्रका अफरहरू आइरहेका थिए । काम गर्ने सोच हुँदाहुँदै कहिले कथावस्तु, कहिले टिम कहिले के चित्तै बुझेन । नेपाली चलचित्रको सिनारियो परिवर्तन हुँदै थियो । पहिले बन्ने चलचित्रमा मेरो चरित्र स्पष्ट हुन्थे । अफर आएका चलचित्र त्यस्ता थिएनन् । चलचित्र चित्त नबुझेरै केही समय नगरेको हो । ‘नरसिंहा अवतार’को टिमसँगको भेटमा पनि म फिल्म गर्छु भन्ने थिएन । फिल्म बनाउँछु भन्नेलाई म भेट्छु, कथा सुन्छु । राम्रो भए मात्र गर्छु । यसको कथा सुन्दै गर्दा म आकर्षित भएँ । अभिनय गर्ने निर्णयमा पुग्न केही समय लाग्यो । चलचित्र रोज्नुको कारण यसको विषयवस्तु, मेरो पात्र र निर्माण टिम ठिक लागेर हो । 

  • त्यसो भए अहिलेसम्मकै फरक भूमिकामा देख्न पाइन्छ त ?

– अहिलेसम्म नगरेको भूमिका छ भनेर भन्दिनँ । चरित्र हाम्रो समाजबाटै आउने हो । भूमिकाभन्दा पनि त्यो भूमिका कसरी प्रस्तुत गरिएको छ, कथा कसरी समावेश गरिएको भन्ने हो । ‘नरसिंहा अवतार’को भूमिका गरिरहेकै भए पनि कथा विशेष छ ।

  • फिल्मका तस्बिरमा तपाईंलाई प्रहरी अफिसरको पोसाकमा पनि देख्न सकिन्छ । फेरि पनि प्रहरी अफिसरकै भूमिका ?

– प्रहरीको चरित्र पनि छ । तर, त्यो चरित्र कुन सन्दर्भमा छ, कस्तो हिसाबले छ भन्ने कुरो चलचित्रको मुख्य आकर्षण हो । त्यो अहिले खोल्न मिल्दैन ।

  • ग्यापपछि काममा फर्किँदा केही भिन्नता त पक्कै थियो होला ?

– चलचित्रको प्रविधिमा केही परिवर्तन भएको थियो । टेक्नोलोजीले गर्दा हामीले गर्ने कार्यको परिणाम पहिलेभन्दा राम्रो निस्किन्थ्यो ।

  • तपाईँको फिल्ममा दर्शकले हिरोगिरी हेर्दै आएका छन् । अहिले फिल्ममा त्यो शैली फेरिएको छ । यो फिल्ममा के छ ?

– दर्शकले खोजेको हिरोगिरी मेरो चरित्रमा छ । एक किसिमको विद्रोह यो चलचित्रको कथामा छ । प्रहरी पेसा होस् वा प्रशासनिक । जे कुरो भइरहेको छ, त्यो ठिक छैन भनेर त्यसविरुद्ध खडा हुने चरित्र मेरो छ । चलचित्रमा दर्शकले मेरो पात्रमा हिरोइजम् देख्न पाउनुहुन्छ ।

  • ‘नरसिंहा अवतार’पछि फेरि अर्काे चलचित्र हेर्न यसरी नै पर्खनुपर्छ होला हैन ?

– म मलाकार भएकोले कलाकारिता गर्ने इच्छा हुन्छ । केही समयको अन्तरालपछि ‘नरसिंहा अवतार’ आउन लाग्दा एउटा परीक्षा दिन लागेजस्तो भइरहेको छ । यो चलचित्रप्रति दर्शकको प्रतिक्रिया कस्तो हुन्छ, त्यसमा पनि भर पर्छ । कलाकारिता जारी राख्ने सोच त मेरो छ ।

  • पछिल्लो पुस्ताका कलाकारसँग अभिनय अनुभव कस्तो रह्यो ?

– म नयाँ न पुरानो कलाकार भनेर हेर्दिनँ । कलाकारको रूपमा मात्र हेर्छु । नयाँ पुस्तालाई म पहिल्यैदेखि काम गरेको सिनियर व्यक्ति लाग्यो होला । चलचित्रको चरित्रमा उत्रिएर अभिनय गर्न लागेपछि सबैले आ–आफ्नो चरित्र उत्कृष्ट गर्नैपर्छ । चरित्रले नयाँ पुरानो केही भन्दैन ।

  • अब ड्रिम प्रोजेक्टको रूपमा यस्तो फिल्म गर्न पाए हुन्थ्यो भन्ने मनमा अझै छ र ?

– मेरो लागि ड्रिम प्रोजेक्ट भनेको सबै चलचित्र राम्रो होस् भन्ने हो । चलचित्रमा एउटाको मात्र भूमिका राम्रो भएर पनि भएन । एउटालाई मात्र रुचाएर पनि भएन । सबै सफल हुनुपर्छ, सबै चलचित्र रुचाइनुपर्छ ।

चलचित्र राम्रो बनाउने मुख्य पात्र निर्देशक नै हो । हाम्रो चलचित्र उद्योगमा सही ढंगको निर्देशकको खाँचो छ । सोच बोक्ने, सिर्जना गर्ने निर्देशकले नै हो । निर्देशकले निर्माण अगाडि नै चलचित्र हेरिसकेको हुन्छ । आत्मविश्वास भएको निर्देशकसँग काम गर्न पायो भने त्योभन्दा अर्काे सपना कलाकारको के होला र ? 

  • चलचित्रमा नयाँ कथा, नयाँ पुस्ताको प्रवेशलाई कसरी हेर्नुहुन्छ ?

– हाम्रो चलचित्र क्षेत्रको ठुलो समस्या भनेको फिल्मको लेखन हो । त्योभन्दा ठुलो समस्या स्क्रिप्टमा लेखिएको पर्दामा उतार्नुमा देख्छु । यो समस्या हाम्रो सुरुदेखि नै छ । अहिले लेखनमा धेरै कुरो सुध्रिएको पनि हुन सक्छ । लेखन पर्दामा उतार्दा चुकेकै छौँ । कलमले लेख्दा सही लेख्छौँ । क्यामराले लेख्दा हामी चुक्छौँ । चलचित्र क्यामरामार्फत भन्ने हो । अहिलेको ठुलो चुनौती लेखिएको कुरा सही ढंगबाट पर्दामा उतार्ने नै हो ।

  • हाम्रो चलचित्र उद्योग राम्रो गतिमा छ त ?

– नेपाली चलचित्र क्षेत्रको सकारात्मक पक्ष भनेको राम्रो, नराम्रो वा झुर जे भए पनि गतिशील छ, ठप्प छैन । चलचित्र बन्नु सबैभन्दा राम्रो पक्ष हो । नयाँ नयाँ कलाकार, प्राविधिक भित्रिएको छ । यो हेर्दा पोजेटिभ हो । बनेको चलचित्र एकसेएक राम्रो हुनुपर्छ भन्ने दाबी कसैले गर्न सक्दैन । चलेकै चलचित्र नगरीमा पनि रुचाइएका चलचित्रभन्दा नरुचाइएका धेरै हुन्छन् । कुनै क्षण हामी एकदमै उत्साहित पनि हुन्छौँ । कुनै क्षण हामी एकदमै निरुत्साहित । एक समय २–४ चलचित्रले राम्रो व्यवसाय गर्छ । हामी नेपाली फिल्मको सुनौलो दिन आयो भनेर उफ्रिन्छौँ । धेरै चलचित्र बन्छ । फेरि २–४ चलचित्र चल्दैन, हतोत्साहित हुन्छौँ । चलचित्र आज चल्यो, भोलि चल्दैन । चलचित्रको व्यवसाय जुनै पनि राष्ट्रमा समुद्रको लहरजस्तो हो । नेपाली चलचित्रमा हामीले जति गर्ने हैसियत र क्षमता छ । त्यो गर्न सकेका छैनौँ । हामीमा उपलब्ध भएका जनशक्ति, बजेटबाट अझ मिहिनेत गरेर अझै राम्रो चलचित्र बनाउन सक्छौँ । त्यहाँ हामी चुकेका छौँ । विशेषगरी क्रियटिभिटी र निर्देशन पक्षमा चुकेका छौँ ।

  • अहिले फिल्मको भाष्य परिवर्तन भएको छ नि त ?

– चलचित्र भनेको यो विषयवस्तुमा, यही तरिकाले बन्नुपर्छ भन्ने छैन । त्यो मेकरको स्वतन्त्रता हो । कोही मेकरले त्यो राष्ट्रको चलचित्रबाट प्रभावित छु, त्यो ढाँचामा ढाल्न सक्यो भने मेरो दर्शकले रुचाउलान् भनेर सोच राखेर त्यता पनि गर्न सक्लान् । कसैले म विशुद्ध नेपाली कथावस्तुमा चलचित्र बनाउँछु भन्लान् । कोहीले रिभेन्स, कोहीले एक्सन र कोहीले अन्य बनाउँछु भन्न सक्छ ।

यो राम्रो कुरो हो । यसले फिल्मको दायरालाई धेरै फराकिलो बनायो । मेकरलाई आफ्नो क्षमताअनुसार चलचित्र बनाउन खुला छोड्यो । ९० को दशकमा हामी चलचित्र बनाउँथ्यौँ । एउटा फर्मुलामा रहेर चलचित्र बन्थ्यो । त्यो फर्मुलाभन्दा बाहिर जान मिल्दैन थियो । अहिले दायरा असाध्यै फराकिलो छ । पुरुष र महिला मुख्य पात्र यस्तो हुनुपर्छ, रंगरूप यस्तो हुनुपर्छ भन्ने छैन । कलाकारितामा रुचि भएका व्यक्तिका लागि ठुलो मैदान दिएको छ । मेरो समयमा हिरो, हिरोइन यस्तो हुनुपर्छ भन्ने थियो । 

अहिले जसरी बने पनि चलचित्र सफल भयो भने त्यसको मुख्य उद्देश्य पूरा भयो । सफल भएन भने टीकाटिप्पणी हुन्छ । अहिले चलचित्रमा विविधता छ । दर्शक पनि त्यो हेर्न तयार छन् । ९० को दशकमा दर्शक पनि तयार थिएनन् । उहाँहरूले हिरो भएन, अनुहार मिलेन भन्नुहुन्थ्यो । अहिले चरित्र सुहाएको छ भने दर्शक हेर्न तयार छन् । त्यो हिसाबमा सर्जकका लागि फराकिलो दायर भयो ।

  • नेपाली फिल्म किन अन्तर्राष्ट्रिय बन्न सकिरहेको छैन ?

– चलचित्र अन्तर्राष्ट्रिय भयो भने त्यो कुन तहबाट भयो भनेर सोच्ने हो । विश्वका फेस्टिभलमा सहभागी भयो भनेर अन्तर्राष्ट्रिय भन्ने कि, व्यावसायिक रूपमा धेरै राष्ट्रहरूमा चल्यो भनेर अन्तर्राष्ट्रिय भन्ने । एउटा कोणबाट हेर्ने हो भने नेपाली चलचित्र अन्तर्राष्ट्रिय भएन भनेर भन्न सकिन्न । किनभने विभिन्न फेस्टिभलमा पुगेका छन् । संसारभर छरिएका नेपाली दाजुभाइ, दिदीबहिनीमाझ चलचित्र पुगेको छ । हाम्रो चलचित्र जुन देशमा रिलिज भए पनि ९८ प्रतिशत नेपालीले नै हेर्ने हो । 

सही मानेमा अन्तर्राष्ट्रिय हुन एउटा जटिलता के छ भने एउटाको कल्चर, एउटा स्वाद राख्ने दर्शकका लागि पस्किएको फिल्म अन्यका लागि मेल खाँदैन । कतिलाई अनुभवको हिसाबमा हेर्न मन लाग्ला । त्यो बेग्लै कुरो हो । कोही विदेशी आएर नेपाली खाना राम्रो रहेछ भनेर खाला । तर बहुसङ्ख्य विदेशीले नेपाली खाना खाँदैन । 

क्रियटिभ पनि त्यही हो । फेरि अन्तर्राष्ट्रिय बनाउँदा हाम्रा दर्शकलाई मन नपर्न पनि सक्छ । हलिउडलाई हेरेर भन्नुहुन्छ भने त्यो तहमा पुग्न सक्दैन । किनभने उसको भाषा पनि धेरैले बुझ्छन् । उसको लाइफस्टाइलबाट सबै प्रभावित छन् । हलिउडका फिल्म पनि नेपाली दर्शकलाई मन नपर्ला ।

  • नेपालका फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगे, यसले परिवर्तन ल्याएको कि छैन ?

– ल्याएको छ नि । त्यसले बेग्लै सोच राख्ने फिल्म मेकरलाई स्थान दिँदै फिल्मका लागि प्रेरित गरेको छ । त्यो राम्रो हो । फिल्म भनेको पुस्तकजस्तो हो । यो विषयवस्तुमा यसरी बनाउनुपर्छ भन्ने छैन । नेपालमा विभिन्न विषयवस्तुमा चलचित्र बन्न थालेका छन् । आजभन्दा ३०–४० वर्ष अगाडि त्यस्तो अवस्था थिएन । 

  • निर्देशनमा आउने सोच हरायो ?

– हराएको छैन । सिर्जनशील क्षेत्रको सबैभन्दा राम्रो पक्ष के भने यसमा उमेर पुग्यो रिटायर्ड हुनुपर्छ भन्ने छैन । मस्तिक, हातखुट्टा, सोच चलिरहेको सिर्जना गर्न सकिन्छ । निर्देशन गर्ने मेरो सोच हराएको छैन । कलाकारका रूपमा अफर आएपछि त्यही प्राथमिकतामा पर्‍यो । भोलि कलाकारमै व्यस्त भएँ भने ढिलो पनि हुन्छ । अभिनय अफर आएन, व्यस्त भइनँ भने निर्देशन गर्ने सोच हो । निर्देशनमा केही समयपछि आउन सक्छु ।

  • कलाकारिताबाट रिटायर्ड लिने सोच छैन नि ?

– के को रियायर्ड ? कलाकारिता जसका लागि गर्ने हो उहाँहरूले नरुचाए सीधै रिटायर्ड भइहालिन्छ । कलाकारको रूपमा म आफूले आफैलाई भाग्यमानी ठान्छु । किनभने यति लामो समयसम्म कलाकारिता गर्न विरलैले पाउँछन् । अहिलेसम्म भाग्यले साथ दिइरहेको छ । दर्शकले रुचाएसम्म कलाकारिता हो । अहिले फराकिलो भएको कलाकारिताको दायराले उमेरसुहाउँदो सशक्त चरित्र गर्ने मौका मिल्छ । अन्तिम घडीसम्म कलाकारिता गर्ने हो ।

  • प्रदर्शनको तयारीमा रहेको ‘नसिंहा अवतार’लाई लिएर केही ?

– ‘नसिंहा अवतार’ विशुद्ध मनोरञ्जनात्मक चलचित्र हो । लभ, रोमान्स, ट्राजेडी, भावना, विद्रोह सबै खालका विषय यसमा छन् । चलचित्र हेर्दा तपाईंहरूलाई आनन्द आउँछ होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया