शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’

‘नो इफ, नो बट’ भनेपछि उनीहरू फर्किए : माधव नेपाल
बिहीबार, ११ वैशाख २०८२

 

काठमाडौं । १९ औँ लोकतन्त्र दिवसका अवसरमा तत्कालीन एमाले महासचिव तथा हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग रातोपाटीका रोहित दाहाल र फणीन्द्र नेपालले गरेको कुराकानी :

  • वैशाख ११ गतेलाई कसरी सम्झनुहुन्छ ?

हामीले नेपाली जनताको लामो संघर्ष, बलिदान र समर्पणबाट २०६३ साल वैशाख ११ गते ऐतिहासिक सफलता हासिल गर्‍यौँ । राजतन्त्रमाथिको विजयका लागि त्यो दिन निर्णायक हो । जुन दिन जनता सार्वभौम सम्पन्न भए । जनताको फैसला सबैले मान्नुपर्छ भन्ने मान्यतालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेतले स्वीकार गर्ने स्थिति बन्यो ।

त्यसैका आधारमा विघटित प्रतिनिधिसभा पुनस्र्थापना भयो । त्यसपछि दलहरूको सहमति र चाहानाअनुसार पुनस्र्थापित प्रतिनिधिसभाबाट मुलुकलाई अघि लैजाने कामहरू भए । त्यसै क्रममा राजतन्त्रको पनि अन्त्य र गणतन्त्रको स्थापना भयो । यसर्थ वैशाख ११ नेपाली जनताका लागि अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक दिन पनि हो ।

madhav nepal (3)

त्यसअघि वैशाख ८ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट आफ्नो चाहनामा सरकार गठन गर्नेगरी आफु नै सर्वशक्तिमान राजाको भूमिकामा रहनेगरी पदका निम्ति आतुर नेतालाई पद दिएर सन्तुष्ट पार्न सकिन्छ कि भन्ने मान्यता बोकेर वक्तव्य जारी गर्ने काम भएको थियो । त्यस्ता वक्तव्य हामीले उहिल्यैदेखि अस्वीकार गर्दै आएका हौँ । जतिखेर शेरबहादुर देउवाजीलाई बर्खास्त गरेर नयाँ प्रधानमन्त्रीको खोजी गर्ने क्रममा मलाई पनि प्रस्ताव आएको थियो । 

त्यसवेला मलाई तीन ठाउँबाट प्रधानमन्त्रीका लागि प्रस्ताव आयो । जसमध्ये नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ (निधन भइसकेको), एमाले नेता कृष्णगोपाल श्रेष्ठ (हाल एमाले नेता) मेरो निवासमा प्रस्ताव लिएर आउनुभयो । 

उहाँबाहेक तत्कालीन राजाका संवाद सचिव पनि प्रधानमन्त्रीको प्रस्ताव लिएर आउनुभयो । तर म जनतामा सार्वभौम सत्ता रहनुपर्छ भन्ने मान्यता बोकेको मान्छे । त्यसैले जनताले सार्वभौम सत्ताको प्रयोग निर्वाचन र संसद्को माध्यमबाट गर्छन् र संसद्ले नै आफ्नो प्रधानमन्त्री चयन गर्छ भन्ने मैले अडान राखेँ ।

जनताले आफ्नो सार्वभौमसत्ता दुई किसिमले प्रयोग गर्छन् । एउटा लिगल सोभरेन्टी, जो संसद्को माध्यमबाट हुन्छ अर्को, पोलिटिकल सोभरेन्टी । जब लिगल सोभरेन्टीको प्रयोग गर्न सक्ने निकाय छैन भने कुनै पनि देश सरकारविहीन त हुँदैन । त्यसोभए सरकार कसले गठन गर्ने ? राजाको आदेश र निगाहामा बन्ने प्रधान्मन्त्री खान स्वीकार्य छैन भनेँ ।

madhav nepal (2)

  • तर त्यसवेलाको संविधानअनुसार त राजाले नै प्रधानमन्त्री नियुक्त गर्थे नि ?

नियुक्ति त अहिले पनि राष्ट्रपतिले गर्छन् । राष्ट्रप्रमुख भएपछि नियुक्त गर्ने बेग्लै कुरा हो, तर कसको सिफारिस, कसको निर्णय ? अहिले प्रधानमन्त्रीको नियुक्ति र सपथग्रहण राष्ट्रपतिले नै गराउँछन् तर संसद्को निर्णयमा । संसद् छैन भने पार्टीहरूको निर्णय हुन्छ । राजनीतिक दलहरूको बैठकबाट निर्णय हुन्छ भने दलकै सिफारिसमा म प्रधानमन्त्री बन्न तयार छु तर राजाको सिफारिस र निगाहामा प्रधानमन्त्री बन्दिनँ भनेर प्रस्तावकर्ताहरूलाई पठाइदिएँ । त्योभन्दा पहिला पनि प्रस्तावहरू आएका थिए ।

  • त्योभन्दा पहिला प्रधानमन्त्रीको प्रस्ताव लिएर को–को आएका थिए ?

त्यो वेलाका सेना प्रमुख प्याराजंग थापा । अर्को प्रस्ताव वीरेन्द्र बस्नेतको सम्पर्कबाट गोकर्ण विष्ट (हाल एमाले सचिव) आउनुभएको थियो । तेस्रो प्रस्ताव राजाका तर्फबाट डा. डिल्ली खनाल उहाँकी श्रीमती र अर्घाखाँचीका दुमन थापाहरू हाम्रो पार्टी कार्यालयमै प्रस्ताव लिएर पुग्नुभएको थियो ।

  • त्यति धेरै प्रयास गरे पनि त्यसवेला प्रधानमन्त्रीमा तपाईंं ज्ञानेन्द्र शाहको रोजाइमा त पर्नुभएन नि ?

सम्भवतः मलाई बदनाम गर्ने प्रयासस्वरूप त्यसरी प्रस्ताव गरिएको थियो । मेरो राजनीतिक छवि स्खलित गर्न खोजिएको हुन सक्छ ।

madhav nepal (4)

  • राजाको प्रधानमन्त्री खान तपाईंंले निवेदन हालेको त सत्य हो नि ?

मैले दाबासाथ निवेदन दिएँ, आग्रह गरिनँ । राजाको ‘जो निगाह’ निवेदनमा भनेको छैन । राजनीतिक दलहरूको सिफारिसका आधारमा दाबी गरेको हो । गिरिजाबाबुले मलाई तपाईंं प्रधानमन्त्रीमा दाबी गर्नुस् भन्नुभएको थियो र मैले दाबी गरेको हो ।  

  • त्यसरी प्रस्ताव आएको कुरा गिरिजाप्रसाद कोइरालासँग कुनै छलफल गर्नुभएन ?

त्यसवेला हामी सात दलको बैठक गिरिजाबाबुको निवास महाराजगञ्जमा बसेका थियौँ । गिरिजाबाबु शेरबहादुर देउवा नेतृत्वको सरकारको विपक्षमा हुनुहुन्थ्यो । गिरिजाबाबुको निवासमा बसेको सात दलको बैठकमा (देउवा सरकार) हटिसकेपछि बन्ने सरकारको प्रधानमन्त्री को हुने ? भनेर गिरिजाबाबुले नै प्रस्ताव राख्नुभयो । बैठकले अबको प्रधानमन्त्री माधवकुमार नेपाल हुनुपर्छ भनेर निर्णय नै गर्‍यो । त्यो बैठकमा सहभागी अमिक शेरचनजी, भरतविमल यादव अझै हुनुहुन्छ । प्रभुनारायाण चौधरी अहिले नभए पनि उहाँ पनि त्यो बैठकमा हुनुहुन्थ्यो । त्यसपछि नेमकिपाको अध्यक्ष पनि सायद हुनुहुन्थ्यो । उहाँहरू सवैको बिचमा गिरिजाबाबुले प्रस्ताव राखेर निर्णय भएको थियो । त्यही वेलामा हामीलाई ज्ञानेन्द्र शाहले भेट्न बोलाएका थिए । ज्ञानेन्द्रले भेट्न बोलाइसकेपछि हामी दरबार जाने भयौं । जाने वेलामा गिरिजाबाबुको सबैभन्दा विश्वासिलो व्यक्ति चक्र बास्तोलाले मलाई भन्नुभयो– माधवबाबु तपाईंं प्रधानमन्त्री हुने हो भने पहिलो काम तपाईंंले प्रतिनिधि सभाको पुनर्वहाली गर्नुपर्छ । मैले जवाफमा कसैको सर्त स्वीकार्दिनँ, त्यसरी म प्रधानमन्त्री बन्दिनँ भने । त्यो स्थितिबारे केही दिन पहिला चक्रजीको श्रीमतीलाई पनि सुनाइदिएको थिएँ । अर्थात् म कसैको सामु झुक्ने मान्छे होइन ।

madhav nepal (7)

  • यसको मतलब तपाईंं त्यसवेला संसद् पुनस्र्थापनाको पक्षमा हुनुहुँदैन थियो ?

पक्षमै थिएँ । तर म प्रधानमन्त्री भएपछि मेरो खुबीमा पनि त विश्वास गर्नुपर्‍यो नि ! मलाई कसैले सर्तबन्दी गरेर पठाउने ? मेरो पनि मान्यता छ । सोभरेन्टी जनताको हातमा कसरी ल्याउने ? त्यसका लागि प्रतिनिधि सभा पुनस्र्थापना पनि गरौँला, भएन भने छाडौँला तर पदका निम्ति मरिहत्ते गर्ने मानिस म होइन । पदको दुरुपयोग गर्नुहुँदैन भन्ने मान्यता बोक्ने मान्छे हुँ म ।

केही दिन पहिला ज्ञानेन्द्र शाह, माधव नेपाल र गिरिजाबाबु मिलेर गणतन्त्र ल्याएका हो, तर प्रचण्डजी पछि आउनुभएको हो भनेर तपाईंंले बोलेको समाचारमा आयो, के हो त्यो ?

त्यो दुवै गलत हो । ज्ञानेन्द्रको उपस्थिति थिएन । दोस्रो प्रचण्डजी पछि आउनुभो भनेर उहाँलाई होच्च्याउन खोजेर मेरो र प्रचण्डजीको बिचमा दूरी बढाउन त्यसरी समाचार लेखियो , त्यो आपत्तिजनक छ ।

  • तपाईंंले भनेको के थियो त ?

२०६२ सालको साउन या भदौ महिनामा तत्कालीन नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा गणतन्त्रसम्बन्धी प्रस्ताव हामीले पास गर्‍यौँ । गणतन्त्रसँग जोडिएको आन्दोलनको घोषणा पनि गर्‍यौं । त्यो निर्णयमा हाम्रा केही साथीहरूले ‘नोट अफ डिसेन्ट’ पनि लेख्नुभयो ।

madhav nepal (8)

बैठकको निर्णयअनुसार हामीले बुटवलबाट आन्दोलन सुरु गर्‍यौं । आन्दोलन शानदार रूपमा सफल पनि भयो । गणतन्त्रको माहोल पनि सिर्जना गर्‍यौं । अनि आन्दोलन अघि बढ्दै गयो । आन्दोलनकै क्रममा माघमा मलाई गिरफ्तार गरियो । पहिलो पटक नजरबन्दमा घरमा राखियो, त्यसपछि ककनीको सशस्त्र क्याम्पमा लगियो । त्यहाँबाट वैशाख ७ गते जिल्ला अदालतमा ल्याएर रिहा पुर्जी दिइयो । त्यो पुर्जी लिएर म पार्टी कार्यालय गएँ । त्यहाँ अमृत बोहोरा र ईश्वर पोखरेलसहित हामी तीन जना बसेका थियौँ । त्यसैवेला एउटा प्रस्ताव आएको थियो, ‘बेबी किङ’को । त्यसलाई मैले ‘आउट राइट रिजेक्ट’ गरेँ ।

  • त्यसेला ‘बेबी किङ’को प्रस्ताव ल्याउने को–को थिए ?

देशबाहिर भारतको एक मित्र हुनुहुन्थ्यो । त्यो प्रस्ताव पनि मैले अस्वीकार गर्दिएँ, सम्भव छैन भनेँ । त्यसपछि उहाँहरू गिरिजाबाबु र शेरबहादुरजीकहाँ जानुभयो । त्यो प्रस्तावमा उहाँहरू (गिरिजाबाबु र शेरबहादुर) कताकता सफ्ट हुनुभयो । मलाई त्यो वेला प्रदीप गिरिजीले फोन गर्नभयो र भन्नुभयो ‘माधवजी हाम्रा नेताहरूले बर्बाद गर्ने भए । अब यो आन्दोलन तपाईंंले नै जोगाउनुपर्छ । तपाईंबाहेक कसैले बर्बादी रोक्न सक्ने स्थिति छैन’ भन्नुभयो ।

त्यसपछि गिरिजाबाबु, म र शेरबहादुरजी बस्यौँ । गिरिजाबाबुले मलाई नै उनीहरूसँग कुरा गर्ने जिम्मा दिनुभयो । तर मेले जनताको हातमा पूर्ण रूपमा सार्वभौम अधिकार हुनुपर्छ भनेँ । ‘नो इफ, नो बट’ भनेपछि उनीहरू फर्किए ।

त्यसपछि म पूरै सजग भएँ । वैशाख ८ गते जब ज्ञानेन्द्रले बक्तव्य निकाले, त्यसको समर्थनका लागि मलाई चार देशका राजदूतले फोन गरे । नर्वे, भारत, अमेरिका र ब्रिटेनका राजदूत थिए । मैले चारवटै राजदूतलाई ‘नो’ भन्दिएँ । उनीहरूले यतिसम्म त मानिदिए हुन्छ नि भने, तर मैले हुँदै हुँदैन, नेपाली जनता त्यो स्वीकार गर्न तयार छैनन् भनेँ । राति गिरिजाबाबुले फोन गरेर माधवजी केही सोच्ने कि भन्नुभयो । शेरबहादुरजीसँग कुरा गर्नुस् भन्नुभयो । शेरबहादुरजीले नयाँ ढंगले सोच्नुपर्छ भन्नुभयो । तर मैले सोच्न सकिँदैन, सम्भव छैन भनेँ । 

८ गते नै सबेरै युरोपियन युनियनका राजदूतहरू पनि आएका थिए । त्यसपछि गिरिजाबाबु, म र शेरबहादुरजी बस्यौँ । गिरिजाबाबुले मलाई नै उनीहरूसँग कुरा गर्ने जिम्मा दिनुभयो । तर मेले जनताको हातमा पूर्ण रूपमा सार्वभौम अधिकार हुनुपर्छ भनेँ । ‘नो इफ, नो बट’ भनेपछि उनीहरू फर्किए ।

त्यसपछि वैशाख ११ अगावै संयुक्त राष्ट्र संघका त्यसवेलाका प्रतिनिधि बल्खुको अफिसमा मसँग कुरा गर्न आए । उनलाई मैले तपाईंसँग यस्ता कुरा किन गर्ने ? राजालाई कुरा गर्न मन भए मेरो निवास कोटेश्वर र पार्टी कार्यालय बल्खु नारायणहिटीबाट धेरै टाढा छैन भनेर पठाइदिएँ ।

  • तपाईं त्यसेवेला ज्ञानेन्द्र शाहसँगै कुरा गर्न चाहनुहुन्थ्यो ?

उहाँले मसँग कुरा गर्नुपर्‍यो नि ! नेपालीहरूले समस्या हल गर्नुपर्‍यो । त्यसपछि राजाले पशुपतिभक्त महर्जन मलाई भेट्न पठाए । उहाँले मलाई फोन गर्दा हामी भरतमोहनजीको घरमा बैठक बस्न ठीक परेका थियौँ । त्यसैवेला महर्जनजी आएपछि मैले उहाँसँग कुरा गरेँ र त्यसपछि एउटा वक्तव्य तयार पारियो र उनलाई यहीअनुसार पढ्नुस् भनेर दियौं । उहाँ त्यो वक्तव्य लिएर केही नभनी नारायणहिटी जानुभयो । त्यपछि दिउँसो फेरि पशुपतिभक्त महर्जनले फोन गरेर मलाई गिरिजाबाबुकोमा आउनुपर्‍यो म गाडी पठाउँदैछु भन्नुभयो ।

madhav nepal (9)

अनि भरतमोहनजी र म गिरिजाबाबुकोमा बेलुका सात बजे गयौँ, त्यहाँ गिरिजाबाबुसँग कृष्ण सिटौला पनि हुनुहुन्थ्यो, यो वैशाख ११ गतेको कुरा हो ।

राजाले बेलुका ७ बजे वक्तव्य जारी गर्ने कुरा थियो । तर हाम्रो बसाइ नै ७ बजेसम्म भयो । वक्तव्यलाई अन्तिम रूप दिन त्यसरी बसेका थियौँ । त्यसपछि पशुपतिजी राति नौ बजे वक्तव्य जारी हुन्छ भनेर हिँडनुभयो । पछि सुन्दा त्यो वक्तव्यमा ‘प्यारा देशबासीहरू र श्रीपशुपतिनाथले सबैको कल्याण गरून्’ भन्ने शब्द मात्र थपिएको रहेछ । योबाहेक हामीले जे मस्यौदा गरेका थियौँ त्यही मस्यौदा ज्ञानेन्द्रले पढेको पाइयो ।

  • त्यसवेला यी सबै कुराबारे प्रचण्डसँग पनि कुरा हुन्थ्यो कि ?

मलाई याद भएसम्म मैले उहाँसँग कम्युनिकेट गरेको हुनुपर्छ । किनभने, उहाँ खुला भइसक्नुभएको थिएन । राजाको ११ गते वक्तव्य आएपछि १२ गते टुडिँखेलमा खुलासभा भयो । त्यो सभामा एउटा टिमले हुटिङ गर्‍यो । मञ्चमा भाषण गर्न सुशील कोइराला जानुभएको थियो । तर हुटिङ गरेर बोल्न दिइएन । शेरबहादुरजीलाई पनि बोल्न दिएनन् । 

अर्को तेस्रो व्यक्ति मलाई याद भएन, उहाँलाई पनि बोल्न दिइएन । त्यसपछि म मञ्चमा गएँ । त्यो सभामा गिरिजाबाबु बिरामी भएकाले आउन सक्नुभएको थिएन । जब म बोल्न थालेँ हुटिङ गर्ने मास चुप लाग्यो । ती मान्छे सबै माओवादीका थिए कि भन्ने मलाई लाग्छ । उनीहरूले यो सम्झौता मान्दैनौँ, धोखा हो भन्थे । धोखा होइन, हामीले सम्पूर्ण अधिकार जनताको हातमा ल्याएका छौँ, यसबाट एक कदम पछि हट्दैनौँ, तपाईंहरूको भावनामा पूरै सहमत छु मैले भनेपछि मास शान्त र खुसी भयो ।

madhav nepal (10)

  • तत्कालीन सात दल र राजाबिच कुनै न कुनै रूपको राजा राख्ने सहमति भएको भनेर बारम्बार आउँछ । कमल थापाले त्यो भन्नुहुन्छ, त्यस्तो केही सहमति भएको थियो ?

त्यस्तो कही पनि भएको छैन । प्रत्यक्ष म साक्षी छु । गिरिजाबाबु र म बसेर वक्तव्यको मस्यौदा गरेका हौँ ।

  • त्यसरी ल्याएको गणतन्त्रको उमेर १८ वर्ष पुगेको छ । तर व्यवस्थामाथि कालो बादल मडारिएको छ नि, किन होला ?

व्यवस्थामाथि कालो बादल मडारिएको छैन । किन र के कारणले चाहियो राजतन्त्र ? महान्, त्यागी, दूरगामी चिन्तन  व्यक्तित्व भएकाले ? होइन । राजतन्त्रबाट असन्तुष्ट भएर राणातन्त्रमा जाने त ? त्यसबाट पनि सन्तुष्टि भएन भने मल्लकालमा जाने ? त्यसो हो भने जयस्थिति मल्लका सन्तान बोलाऔं न त ! यस्ता काम नलाग्ने कुराको कुनै अर्थ छैन । मानव काम लागेन भने दानव र जनावार ल्याउने ? यो सम्भव छैन ।  

  • सडकमा उत्रिएका मानिसलाई के भन्ने त ?

देश बनाउने के छ योजना ? देश रुपान्तरणको के योजना छ ? जनताको जीवनलाई समृद्ध बनाउने के योजना छ ? सुशासनको प्रत्याभूति गर्ने योजना के छ ? एउटा वंशमा छ ? त्यसैले सडकमा उत्रिएका मानिसहरू कुनै पनि भ्रममा नपर्नुस् । राष्ट्रपति र प्रधानमन्त्रीले पनि गौरव गर्ने काम गरेका छन् ।

  • यस्तै गरी चल्छ त गणतन्त्र ?

गणतन्त्रको विकल्प राजसंस्था हुँदैन । व्यवस्थामा सुधार गरौँ, नेताहरू सुध्रौँ, गल्ती कमजोरी स्वीकार गरौँ, जनता राष्ट्रप्रति संवेदनशील बन्नुहोस् । त्यो उपाय हो ।

एउटा नेताबाट भएन भने अर्कोलाई जिम्मा दिनुस् । राम्रो नेता देखिएन भने अर्को नेता खोज्नुपर्छ । तर देशका नागरिक नै राम्रा छैनन् भन्ने होइन । नेपाल देश नै नालायकहरूको देश भन्ने पनि होइन । देश चलाउन सक्ने खुबी र क्षमता हामीमा छैन त ? नेपालीले नेपाल नचलाएर विदेशीलाई ल्याएर हुन्छ ? कुनै वंशमा त्यस्तो छ ?

madhav nepal (11)

  • अन्त्यमा अहिलेको सत्ता समीकरणमा संशय पैदा भयो भनिन्छ, तपाईंलाई के लाग्छ ?

यो सरकारले जनताको मन र विश्वास जित्न सकेको छैन । समस्याहरू हल गर्न सकेको छैन, जनतामा आशा पनि जगाउन सकेको छैन । असफल भएको छ । संकीर्ण र यथास्थितिवादी छ चिन्तनको छ सरकार । कसैगरी पनि कुर्सीमा बसिराखौँ भन्ने सोच राखेर हुँदैन ।

  • विकल्प खोज्ने वेला भयो ?

विकल्प खोज्ने भने पनि हाम्रो संख्याले पुग्दैन । अहिले नै अर्को चुनाव गर्नुपर्छ भन्ने कुरा पनि भएन । यो कुरा एमाले कांग्रेसले सोच्नुपर्छ भन्न मात्र सक्छौँ । बरु उन्नत गणतन्त्र, पुँजीवादी गणतन्त्रले भएन भने समाजवादी ल्याऔँ ।

  • सरकार असफल भयो भन्नुभयो, कांग्रेस सभापति देउवासँग केही कुराकानी गर्नुभएको छ ?

मैले केही कुरा गरेको छैन । उहाँहरूबिच सहमति भइरहेका वेलामा मैले भनेर पनि केही हुँदैन ।

madhav nepal (1)

  • १९ औं लोकतन्त्र दिवसको शुभकामना कसरी दिनुहुन्छ ?

१९ औं लोकतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई धेरैधेरै शुभकामना दिन चाहन्छु । एउटा अयोग्य शासनको विकल्पमा योग्य शासन ल्याउने हो । अयोग्य सरकारको ठाउँमा योग्य सरकार ल्याउने हो । 

लोकतन्त्रका त्रुटिहरू सच्चाउन समुन्नत लोकतन्त्रको स्थापना गर्ने हो । फेरि इतिहासको पाङ्ग्रा पछाडि फर्काउने कुरा कसैले सोच्नु हुँदैन । देशलाई भड्खालोमा कहिल्यै लान हुँदैन । व्यक्ति, परिवार र वंशको शासनजस्तो पुरानो युगमा देशलाई फर्काउन हुँदैन । यदि त्यस्तो गर्दै जाने हो भने हामी दास र जंगली युगमा पुग्नुपर्ने हुन्छ । 

इतिहास पछाडि होइन, अगाडि बढ्छ । जंगली, दास र सामन्ती युगमा होइन समाजवादी युगमा मुलुक अघि बढ्छ । मुलुकलाई समाजवादी युगमा बढाउन हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीले दशौं महाधिवेशनमार्फत बैज्ञानिक समाजवादको कार्यक्रम, नेपाली विशेषताको समाजवादको कार्यक्रम अगाडि सारेको छ । 

त्यसलाई आत्मसात गरौँ र त्यसलाई लागु पनि गरौं । त्यो लागु गरियो भने अहिले उठेका बेरोजगारी, उत्पादनमा ह्रासको, पुँजी पलायन, युवा पलायनदेखि हतासा र निराशा सबैको समाधान दिन सकिन्छ । त्यो समाधान हामीले दिने हो । अरू कसैले दिने होइन । 

त्यसैले हामी आशा, उच्च मनोबल र आत्मविश्वासका  साथ अगाडि बढौँ, सम्पूर्ण नेपालीको कल्याण होस्, शुभकामना । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया