१० बजे १० समाचार : पहलगामको बाछिटा नेपालसम्म, रघुजी इन्-कान्छाराम आउट

आज २०८२ वैशाख १० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- पहलगाम हमला
भारतको जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा एक नेपालीको पनि मृत्यु भएको छ । नेपाली नागरिक सुदीप न्यौपानेको मृत्यु भएको बताइए पनि उनको थप विवरण उपलब्ध गराइएको छैन ।
- बजेट खर्च गर्नुपर्ने दबाब
बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्षको बाँकी ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब छ । आर्थिक वर्षको अन्तिम तीन महिनामा अधिकांश बजेट जसोतसो खर्च गर्ने प्रवृत्ति चालु आर्थिक वर्षमा पनि देखिने भएको हो ।
- हजार बढी योजना
कोशी प्रदेश आयोजना बैंकमा सोमबार एकै दिन एक हजारबढी आयोजना इन्ट्री भयो । आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेटमा समावेश गर्ने कानुनी व्यवस्था कार्यान्वयनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कडाइ गर्दै आएको छ । सोही अनुसार प्रदेश योजना आयोगले वैशाख १० गतेसम्मका लागि प्रदेशका सबै मन्त्रालयलाई आयोजना प्रविष्ट गर्ने समयावधि तोकेको छ ।
- शिक्षक आन्दोलनले निम्त्याएको असर
शिक्षकहरू विगत २१ दिनदेखि सडक आन्दोलनमा छन् । गत चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलनमा रहेका हुन् । उनीहरूले विगतमा आफूहरूसँग गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक नछाड्ने अडान राखेका हुन् ।
- सरकार
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई बर्खास्त गरेका छन्। सरकारले गरेका निर्णय विरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन्।
- ओलीको चुनौती
‘केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा दिएको चुनौती हो यो ।
- तीनकुने घटना
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहितका २४ जनालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
- कांग्रेस केन्द्रीय समिति बैठक
वैशाख १७ गतेका लागि बोलाइएको सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । वैशाख १२ गतेबाट बोलाइएको संघीय संसद्को बर्खे अधिवेशन नियमित बस्ने निर्णय भएसँगै पार्टीको बैठक स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
- गभर्नर नियुक्ति प्रकरण
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अन्योल बढेको छ । गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिका सदस्य पूर्वगभर्नर डा. विजयनाथ भट्टराईले मंगलबार राजीनामा दिएसँगै अन्योल बढेको हो ।
- नेपाल सुपर लिग
धनगढी एफसीलाई स्तब्ध बनाउँदै पोखरा थन्डर्स नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो क्वालिफायरमा पोखरा १–० गोलले विजयी बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो