घटाउँछु भनेका उद्योगीले बढाए सिमेन्टको मूल्य, फ्याक्ट्रीमै ७७१ रुपैयाँ प्रतिबोरा

काठमाडौँ । सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए पनि नघटाई बिक्री भइरहेको पाइएको छ ।
गत चैतको तेस्रो साता सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २५ रुपैयाँ घटाएको भनिएको थियो । तर बजारमा मूल्य घटेको भने देखिएन । बरु उल्टै बढेको पाइएको छ । यसअघि ७५० रुपैयाँ अधिकतम मूल्य रहेको ओपीसी सिमेन्टको मूल्य ७७१ रुपैयाँ पुगेको छ ।
‘सिमेन्टमा एक रुपैयाँ पनि घटाइएको छैन । मन्त्रालय र विभागले घटाएको भनी सञ्चारमाध्यमहरूमा समाचार आयो,' नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, 'तर त्यसलाई कसैले पनि लागु गरेनन् । बरु मूल्य बढाएको देखिन्छ ।’
किन मूल्य घटेन भनेर मन्त्रीलाई सोध्नुपर्ने अवस्था आएको उनले बताए । भने, 'किन मूल्य घट्यो भनेर मिडियामा ल्याउन लगाउनुभयो र किन घटाइएन भन्नुपर्यो ।’ उनका अनुसार उत्पादन बढाएर लागत घटाउनुपर्नेमा कटौती गरी मूल्य बढाएर लागत घटाइएको छ । सिमेन्ट र डन्डी दुवैमा कार्टेलिङ गरिएको र बजारमा सानो मात्रामा सिमेन्ट र डन्डी पठाएर मूल्य बढाएको उनले आरोप लगाए ।
‘कार्टेलिङलाई असफल बनाउन अहिलेको मागले पनि भूमिका खेल्यो । सरकार र उद्योगी मिलेर नै मूल्य निर्धारण भएको देखिन्छ । उद्योग मन्त्रीको प्रत्यक्ष रूपमा आशीर्वाद नै छ । उत्पादन बढाएर त होइन कटौती गरेर लागत घटाउने नीति लिइराख्नु भएको छ,’ सिंहले भने, ‘उत्पादन बढाएर लागत घटाउनुपर्नेमा डन्डी सिमेन्ट दुईटै उत्पादनमा कार्टेलिङ गरिएको छ ।’
गत चैत तेस्रो साता सिमेन्ट उद्योगीले मूल्य घटाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको थियो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उद्योगमा हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको जानकारी दिएका थिए ।
यो पढ्नुहोस्
त्यतिवेला मूल्य घटाएको भने पनि अहिले कार्यान्वायन नगरेको पाइएको महानिर्देशक दाहालले बताए । ‘मूल्य घटाएकै छैन भन्ने मैले पनि सुनेको छु । अहिले फ्याक्ट्री गेट प्राइस राख्ने समय दिएकाले अनुगमनमा निस्किएका थिएनौँ,’ दाहाल भन्छन्, ‘आजदेखि सिमेन्टको मूल्य विश्लेषणका लागि अनुगमनमा टोली पठाएका छौँ ।’
विभागले वैशाख १ गतेभित्र सबै सिमेन्ट उद्योगीलाई सिमेन्टमा फ्याक्ट्री गेट प्राइस राख्न निर्देशन दिइएको थियो । सोहीअनुसार उद्योगीहरूले बोरामै फ्याक्ट्री गेट प्राइस राख्न थालिसकेका छन् । सो मूल्यमा थप नाफा जोडी अधिकतम खुद्रा मूल्य एमआरपी राखेर व्यापारीहरूले बिक्री गर्न पाउने विभागले जनाएको छ ।
लोडसेडिङले मूल्य घटाउन नसकिएको जिकिर
सिमेन्ट उद्योगमा लोडसेडिङ नघटेका कारण मूल्य घटाउन नसकिएको नेपाल सिमेन्ट उत्पादक संघ अध्यक्ष रघुनन्दन मारुले बताए । ‘पहिला उद्योगमा १२ /१३ घण्टा थियो । लोडसेडिङ बढेका कारण सिमेन्ट उत्पादनमा लागत बढेको थियो,’ उनले भने, ‘केही दिन करिब ५/६ घण्टामा झरेको थियो अहिले फेरि बढेको छ ।’ अहिले लोडसेडिङ पहिलाकै आधारमा भइरहेको मारुले बताए ।
कालोबजारीलाई सरकारको प्रोत्साहन !
अहिले डिजेलको मूल्य र लोडसेडिङ घटेका वेला सिमेन्टको मूल्य घट्नुपर्ने उनले तर्क गरे । तर मूल्य बढाएर असार लाग्नेबित्तिकै मूल्य घटाउने गरिएको उनी बताउँछन् । असारमा आगामी योजना तर्जुमा गर्नेवेला निर्माण सामग्रीको मूल्य घट्ने र निर्माण गर्ने सिजनमा मूल्य बढ्दा निर्माण व्यवसायी मर्कामा पर्ने गरेका सिंहको तर्क छ ।
'असारमा स्वाट्ट घटाएर प्रतिबोरा ४००/५०० बनाउनुहुन्छ । आगामी वर्षको योजना तर्जुमा गर्ने वेला असारमा हो । त्यतिवेलाको हिसाबमा निर्माण लागत थोरै देखिन्छ,’ उनले भने, ‘निर्माणको सिजनमा बढाउँदा लागत बढ्छ ।’ साथै गत असारमा राष्ट्र बैंकको इन्डेक्स १६१ थियो अहिले १५६ पुगेको छ । तर अहिले सबै निर्माण सामग्रीको मूल्य ७५ प्रतिशत बढेको छ । असारको तुलनामा अहिले १ करोडको बिल पेस गर्दा ५ लाख रुपैयाँ आउने भएकाले निर्माण व्यवसायी मर्का परेको उनले तर्क गरे ।
ओपीसी सिमेन्टको मूल्य ७७१ रुपैयाँसम्म
वाणिज्य विभागका वरिष्ठ अधिकृत अमित झाकाअनुसार विभागको निर्देशनमा सिमेन्ट उद्योगले उत्पादन मूल्य (फ्याक्ट्री गेट प्राइस) राख्न थालेका छन् । उद्योगले ओपीसी सिमेन्टको फ्याक्ट्री गेट प्राइस प्रतिबोरा ६७५ रुपैयाँदेखि ७७१ रुपैयाँसम्म तोकेका झाले जानकारी दिए ।
यसमध्ये शिवम् सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७७१ रुपैयाँ तोकेको छ । यस्तै सर्वोत्तम सिमेन्ट उद्योगको ओपीसी सिमेन्ट प्रतिबोरा ६७५ रुपैयाँ, शालिमार गोल्ड सिमेन्ट उद्योगको ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७०० रुपैयाँ तोकेको ह्वाङ्सी सिमेन्टले ७३५ रुपैयाँ, रिद्धिसिद्धिले ओपीसी प्रतिबोरा ७१५ रुपैयाँ तोकेको छ । ह्वाङ्सी सिमेन्ट उद्योगले पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६४५ रुपैयाँ तोकेको छ । अन्यको भने विवरण प्राप्त हुन बाँकी रहेको उनले जानकारी दिए ।
फ्याक्ट्री गेट प्राइस राख्नु सकारात्मक कदम रहे पनि स्वचालित मूल्य प्रणाली हुनुपर्ने अध्यक्ष सिंह बताउँछन् । भने, 'उद्योगी व्यवसायीले देखाएर नाफा खानुपर्यो।’ उत्पादन कटौती गरेर कार्टेलिङ गरी कालोबजारी गर्दा सरकारले कारबाही गर्नुको सट्टा प्रोत्साहन गरिरहेको उनले गुनासो गरे ।
नेपाल सिमेन्टमा आत्मनिर्भर छ । भारतमासमेत निर्यात हुँदै आएको छ । अहिले भारतमा सरदर प्रतिबोरा ५०० रुपैयाँमा सिमेन्ट पाइन्छ । ‘नेपालबाट पनि सोही मूल्यमा सिमेन्ट निर्यात भइरहेको छ । यही सिमेन्ट नेपाली उपभोक्ताका लागि भने ७७१ रुपैयाँमा बेच्ने?’ अध्यक्ष सिंहले भने, ‘उद्योग मन्त्रीले उद्योगीले कार्टेलिङ गर्न पाउनुपर्छ भन्ने धारणा लिएका छन्, सिमेन्ट उद्योगीलाई धरासायी बनाउनु हुँदैन । तर बजारमा कालोबजारी गर्न पाइँदैन ।’