बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

समलैङ्गिक दृश्यता दिवस सम्पन्न, अधिकार उपभोग गर्न नपाएको गुनासो

बुधबार, १० वैशाख २०८२, २० : १६
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । समलैङ्गिक दृश्यता दिवस २०२५ को अवसरमा विशेष कार्यक्रम गरिएको छ । मितिनी नेपालको आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवल किशोर शाह सुडीको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा समलिङ्गी महिलाहरूको वास्तविक जीवन भोगाई, सङ्घर्ष अनि सफलताको कथा समेटिएको कथा पुस्तक “जीवन परिवर्तनको आँधी“ विमोचन गरिएको थियो ।

नेपालको संविधान २०७२ ले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय भनेर सम्बोधन गरेको छ। यद्यपि समुदायको अस्तित्वलाई संविधानले स्वीकार गरे तापनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय भित्रका समलिङ्गी द्वयलिङ्गी र क्वेयर महिलाहरूको मुद्दा अझै ओझेलमा परेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नवलकिशोर शाह सुडीले समुदायको उत्थान, सशक्तिकरण र विकासका लागि फोकल मन्त्रालयको रूपमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय प्रतिबद्ध रहेको बताए । 

नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको आन्दोलन सुरु भएको दुई दशकभन्दा बढी बितिसकेपनि समलिङ्गी महिलाहरुले वास्तविक रुपमा अधिकारको उपभोग गर्न नपाएको बताए । त्यसका लागि थुप्रै नीतिगत चुनौतीहरू रहेकाले र त्यसको समाधानका लागि सबैको साझा प्रयास जरुरी रहेको बताए । 

मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले सन् १९९५ मा बेईजिङमा भएको महिलाहरूको चौथो विश्व सम्मेलनपछि महिलावादी आन्दोलनमा परिवर्तन आएको बताइन् । 

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय तथा महिलावादी आन्दोलनमा समेत समलिङ्गी महिलाहरूको विषय अझै पनि ओझेलमा परेको र छलफलको मूलधारमा ल्याउन नसकेको गुनासो गरिन् ।  

हरेक वर्ष अप्रिल २१ देखि २७ सम्म लेस्बियन भिजिबिलिटी सप्ताह भनेर समुदायले मनाउँदै आइरहेको छ । अप्रिल २६ लाई विश्वव्यापी रूपमा लेस्बियन भिजिबिलिटी डे भनेर मनाउने गरेको  बताइन् । 

सन् २००२ मा मितिनी सपोर्ट ग्रुपको स्थापना गर्दै नेपालकै पहिलो समलिङ्गी जोडी लक्ष्मी घलान र उनको पार्टनर मिरा बज्राचार्यले मितिनी नेपालको स्थापना गरी समलिङ्गी महिलाहरूको अधिकार र सवालमा काम गर्दै आइरहेका छन् । 

विगतमा एलबिक्यु महिलाहरूको कुनै पनि प्रकारको इतिहासको दस्तावेजीकरण नभएको बताउँदै कथा पुस्तक,“जीवन परिवर्तनको आँधी“ मार्फत एलबिक्यु महिलाहरूको कथालाई दस्तावेजीकरण गरिएको हो । यसले उनीहरूको अधिकारका लागि वकालतको माध्यमको रुपमा प्रयोग गरिने बताइन् । 

यसैगरी कार्यक्रमको अर्को सत्रलाई प्यानल छलफलमार्फत अगाडि बढाइएको थियो। जसमा मितिनी नेपालका संस्थापक एवं अध्यक्ष लक्ष्मी घलान, समलिङ्गी जेष्ठ नागरिक एकल महिला गण्डकी प्रदेश तनहुँ देवघाटबाट सुकमाया मगर र लुम्बिनी प्रदेश रुपन्देहीबाट समलिङ्गी महिला शीतल थापाले प्यानल छलफलमा सहभागिता थिए ।

छलफलमा कथा पुस्तक “जीवन परिवर्तनको आँधी“ ले समलिङ्गी महिलाहरूको अन्तर विविधता र अन्तर पुस्ता विषयवस्तुलाई समेटेको जनाइएको छ । 

समलिङ्गी महिलाको यौनिकता, भावनात्मक सम्बन्ध र पहिचानसँग जोडिएको सवाललाई बाहिर उजागर गर्न कथा पुस्तक साझा गरिएको अध्यक्ष लक्ष्मी घलानले बताए । यसैगरी समलिङ्गी जेष्ठ नागरिक एकल महिला सुकमाया मगरले सामाजिक सुरक्षा ऐनले असहाय एकल महिला भत्ता प्रदान गरेता पनि समुदायको एकल महिला कानुनमा उल्लेखित एकल महिलाको परिभाषामा नपरेको बताइन् ।

जसले गर्दा एकल महिला हुँदा पनि एकल महिलाले राज्यबाट पाउने एकल महिला भत्ता लगायतका सेवा तथा सुविधाबाट आफू वञ्चित भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप