पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त

काठमाडौँ । भारतको जम्मु कश्मिरको पहलगाममा भएको आक्रमणप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दु:ख व्यक्त गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले अमानवीय, क्रुर र ह्रदयविदारक पहलगाम घटनाको निन्दा र भर्त्सना गरेको हो ।
‘केही समयअघि बंगलादेशका चर्चित हिन्दू व्यक्तित्व भावेशचन्द्र रायको अपहरणपछि निर्ममतापूर्वक हत्या भएको थियो। पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरु चिन्ताको विषय हो । जुनसुकै भुगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य हुन सक्दैन, राप्रपा यस्ता आतङ्कवादी गतिविधिको सदैव विपक्षमा छ,अध्यक्ष राजेन्द्र लिङ्देनद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।’
आतंकवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ कालिकानगरका सुदीप न्यौपाने र सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।