आईपीएलमा ‘दाम’ अनुसारको ‘काम’ नदेखिएका यी तीन महंगा खेलाडी

काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण अहिले उत्सर्गमा छ । प्रतियोगिताको आधाभन्दा बढी खेल सकिएको छ । प्रतियोगितामा सहभागी १० मध्ये अधिकांश टोलीले आफ्नो आठ खेल खेलिसकेका छन् ।
प्रतियोगिता उत्तरार्धतर्फ लम्कँदै गर्दा टोलीहरुबिच प्ले–अफ चरणमा स्थान बनाउने होड चलेको छ । केही बलिया टोली भने एकपछि अर्को निराशाजनक प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिने स्थितिमा पुगेका छन् । आईपीएलको जारी संस्करणका लागि भएको मेगा अक्सनमा केही भारतीय खेलाडीलाई विभिन्न क्लबले निकै ठुलो रकम खर्चिएर खरिद गरेका थिए । महंगोमा बिक्री भएका यी खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा गरिएको थियो ।
तर, मेगा अक्सनमा निकै महंगोमा बिक्री भएका भारतीय टोलीले जारी आईपीएलमा गतिलो प्रदर्शन गर्न सकेका छैनन् । सोही कारणले उनीहरुको क्लबको अवस्था पनि खासै गतिलो देखिँदैन । एकपछि अर्को निराशाजनक प्रदर्शनका कारण महंगोमा बिक्री भएका खेलाडीहरुको आलोचना पनि बढ्दो छ ।
निकै महंगोमा बिक्री भएर पनि गतिलो प्रदर्शन गर्न नसकिरहेका यस्तै केही महंगा भारतीय खेलाडीको बारेमा यहाँ चर्चा गरिएको छ ।
ऋषभ पन्त (लखनउ सुपर जायन्ट्स)
जारी सिजनको आईपीएलका लागि भएको मेगा अक्सनमा ऋषभ पन्त सबैभन्दा महंगोमा बिक्री भएका खेलाडी हुन् । उनी लखनउ सुपर जायन्ट्सका कप्तान पनि हुन् । लखनउले ऋषभका लागि २७ करोड भारतीय रुपैयाँ खर्चिएको थियो ।
तर, जारी आईपीएलमा विकेटकिपर ब्याट्सम्यान ऋषभले गतिलो प्रदर्शन सकेका छैनन् । हालसम्म नौ खेल खेलिसकेको लखनउ पाँच जित र चार हारबाट १० अंक बटुल्दै तालिकाको पाँचौँ स्थानमा छ । ऋषभले हालसम्म नौ खेलको आठ पालीमा कुल एक सय ६ रनमात्र बनाउन सकेका छन् ।
उनले हालसम्म एउटा अर्धशतक (६३ रन) मात्र प्रहार गरेका छन् । उनले हालसम्म पाँच छक्का र आठवटा चौकामात्र प्रहार गरेका छन् । उनले गतिलो प्रदर्शन गर्न नसकेपछि लखनउ अहिले प्ले–अफ चरणमा पुग्न संघर्षरत देखिन्छ ।
वेंकटेश ऐयर (कोलकाता नाइट राइडर्स)
आईपीएलको जारी संस्करणमा वेंकटेश ऐयर कोलकाता नाइट राइडर्सबाट खेलिरहेका छन् । उनी टोलीका उपकप्तान पनि हुन् । वेंकटेश ऐयर पनि आईपीएल इतिहासकै सबैभन्दा महंगा खेलाडीमध्ये एक हुन् । कोलकाताले उनलाई २३ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । तर, उनले पनि जारी आईपीएलमा गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । उनको टोली कोलकाताले हालसम्म आठ खेल खेलिसकेको छ ।
तीन जित र पाँच हारबाट ६ अंक बटुल्दै साविक विजेता कोलकाता तालिकाको सातौँ स्थानमा आसिन छ । कोलकाताको प्ले–अफ चरणमा पुग्ने सम्भावना पनि कम देखिन्छ । यसको एउटा कारण आफूले विश्वास गरेर ठुलो रकम खर्चिएको खेलाडी वेंकटेशको निराशाजनक प्रदर्शन पनि हो ।
वेंकटेशले हालसम्म आठ खेल खेल्दै कुल एक सय ३५ रनमात्र बनाउन सकेका छन् । उनले पनि हालसम्म एउटामात्र अर्धशतक (६० रन) बनाउन सकेका छन् । उनले हालसम्म चार छक्का र १४ वटा चौका प्रहार गरेका छन् ।
ईशान किशन (सनराइजर्स हैदराबाद)
आक्रामक ब्याट्सम्यानको परिचय बनाएका ईशान किशन आईपीएलको जारी संस्करणमा सनराइजर्स हैदराबादबाट खेलिरहेका छन् । उनी पनि आईपीएलको यो संस्करणमा निकै महंगोमा बिक्री भएका भारतीय खेलाडी हुन् ।
उनलाई हैदरावादले ११ करोड २५ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । निकै महंगो रकममा बिक्री भए पनि उनले जारी आईपीएलमा गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । राजस्थान रोयल्सविरुद्धको खेललाई अपवाद मान्ने हो भने उनको प्रदर्शन निराशाजनक देखिन्छ ।
ईशान किशनले राजस्थानविरुद्धको खेलमा भने शतक (अविजित १०६ रन) बनाएका थिए । अन्य खेलमा भने उनको प्रदर्शन निराशाजनक देखिन्छ । उनले हालसम्म सात खेलमा कुल एक सय ३८ रनमात्र बनाउन सकेका छन् ।
आफ्नो पहिलो खेलमा राजस्थानविरुद्ध शतक प्रहार गरेपछि बाँकी ६ खेलमा उनले कुल ३२ रनमात्र बनाउन सकेका छन् । उनको खराब प्रदर्शनको असर सनराइजर्स हैदराबादले भोग्नुपरेको छ । हालसम्म सात खेल खेलेको हैदराबाद दुई जित र पाँच हारबाट चार अंक बटुल्दै तालिकाको नवौँ स्थानमा छ । हैदराबादले प्रतियोगिताको प्ले–अफ चरणमा स्थान सुरक्षित गर्ने सम्भावना निकै कम देखिन्छ ।