बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

किन स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक ?

चार एजेन्डामा छलफल हुने तय भएको थियो
बुधबार, १० वैशाख २०८२, १६ : ३०
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । वैशाख १७ गतेका लागि बोलाइएको सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।  वैशाख १२ गतेबाट बोलाइएको संघीय संसद्को बर्खे अधिवेशन नियमित बस्ने निर्णय भएसँगै पार्टीको बैठक स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

‘संसदको बर्खे अधिवेशनका बैठकहरू बिदाका दिनबाहेक सधैँ बस्ने निर्णय सभामुख र प्रमुख सचेतकहरूको बैठकले गरेको छ । हाम्रा केन्द्रीय समितिमा रहेका अधिकांश नेताहरू प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य हुनुहुन्छ,’ मुख्यसचिव पौडेलले बुधबार रातोपाटीसँग भने, ‘त्यसैले समय नभएकाले अहिलेलाई बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेका छौँ । बिचमा संसद् बैठकमा दुई/तीन दिन ग्याप भयो भने बस्छौँ ।’ 

पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि थाइल्याण्डमा रहेकाले आउन ढिला हुने भएकाले सारिएको त होइन भन्ने प्रश्नमा पौडेलले भने, ‘यससँग बैठक सर्नुको साइनो छैन । संसद् बैठक नियमित बस्ने कारणले सारिएको हो ।’

बुधबार सभामुख देवराज घिमिरे र मुख्य दलका प्रमुख सचेतकहरूको बैठकले  पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको केही घण्टामै कांग्रेसले पनि विज्ञप्तिमार्फत बैठक स्थगित भएको जानकारी गराएको हो । 

बैठकमा मुख्यगरी चार एजेन्डामा छलफल हुने भनिएको थियो । वैशाख ७ गते उपचारका लागि थाइल्यान्ड प्रस्थान गरेका सभापति शेरबहादुर देउवा वैशाख १३ गते फर्किएपछि औपचारिक एजेन्डा तय हुने भनिए पनि मुख्यगरी चार एजेन्डामा छलफल हुने तय भइसकेको थियो । 

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ का अनुसार आइतबार बसेको पदाधिकारी बैठकमा आगामी केन्द्रीय समिति बैठकमा चार एजेन्डामा छलफल हुने तय भएको थियो । 

‘अघिल्लो पदाधिकारी बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीले दिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृसंस्था, अहिलेसम्म कार्यसम्पादन समिति बैठकले गरेका निर्णय अनुमोदन र आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्ने एजेन्डा बनाइएको थियो,’ सहमहामन्त्री उपाध्यायले रातोपाटीसँग भनिन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत साउन २३ गतेदेखि भदौ १६ गतेसम्म बसेको थियो । त्यसपछि अहिलेसम्म आकस्मिक बाहेक बसेको छैन । यसबिचमा बसेका कार्यसम्पादन समितिका बैठकले गरेका निर्णय अनुमोदन गर्ने मुख्य एजेन्डा बैठकको रहेको थियो । 

कांग्रेसले गत चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न भनेर १० भ्रातृसंस्थालाई निर्देशन दिँदै महाधिवेशनमा समन्वय गर्न भन्दै पार्टीका तर्फबाट निर्देशन समितिसमेत बनाएको थियो । त्यो समयमा तीन भ्रातृसंस्थाले बाहेक अरू भ्रातृसंस्थाले अधिवेशन गर्न नै सकेनन् । केहीले त महाधिवेशन गर्ने पहिलो प्रक्रिया क्रियाशील सदस्यता वितरण र नविकरणको कामसमेत सम्पन्न गर्न सकेका छैनन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले १६ असोजमा भ्रातृ संस्थाहरू तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्न पार्टीका तर्फबाट निर्देशन समिति बनाएका थिए । 

२६ मंसिरमा थप ७ महाधिवेशन सम्पन्न गर्न नसकेका भ्रातृ संस्थाहरू नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल थारू संघ र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन निर्देशन समिति बनाएका थिए । 

ती मध्य नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भूतपूर्व सैनिक संघले महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरे पनि नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, तरुण दल अध्यक्ष विद्धान गुरुङ, महिला संघ अध्यक्ष उषा राउत मिश्र, किसान महासंघ अध्यक्ष गणेश तिमिल्सिना र दलित संघ अध्यक्ष लोकबहादुर विश्वकर्मासहितले महाधिवेशन गर्न सकेनन् । 

कांग्रेसको फागुन एक गते बसेको पदाधिकारी बैठकमा निर्देशन समितिका संयोजक र सदस्यहरूलाई बोलाएर सभापति देउवाले पटक–पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेको भन्दै चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिए पनि पार्टीको निर्देशन कार्यान्वयन गर्न नसक्ने भ्रातृसंस्थाका तदर्थ समितिबारे के गर्ने भन्ने विषयमा आगामी बैठकमा छलफल हुने उपाध्यायले बताइन् । 

आइतबारको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन गर्न नसकेका भ्रातृसंस्थाका तदर्थ समितिका अध्यक्षहरूसँग महाधिवेशनका सन्दर्भमा अहिलेसम्म भएको प्रगति विवरण माग्ने र त्यसैका आधारमा अघि बढ्ने प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई सभापति देउवाले स्वीकार गरेपछि उनीहरूसँग प्रगति विवरण मागिएको छ । त्यो विवरण हेर्दा केही समयमा महाधिवेशन गर्न सक्नेजस्तो अवस्था देखिएकालाई थप समय दिने गर्नसक्ने अवस्था नदेखिएकालाई हटाएर नयाँलाई जिम्मेवारी दिने सम्भावना छ । सहमहामन्त्री उपाध्यायले कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रगति विवरण हेरेर अघि बढ्ने जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप