बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

‘भूठान’ को प्रिमिएरमा नेता र कलाकारले के भने ?

बुधबार, १० वैशाख २०८२, १५ : १७
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘भूठान’ प्रिमियर गरिएको छ ।

मङ्गलवार काठमाडौँको सुनधारास्थित सिभिल महलमा रहेको क्यूएफएक्समा गरिएको प्रिमिएरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकारलगायतको सहभागिता थियो ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले फिल्मले आफ्नो माटो गुमाउनुको, पहिचान गुमाउनु, देश गुमाउनुको पीडा देखाएको बताए । उनले कलाकारको अभिनय, सुन्दर निर्देशकीय पाटोले भुठान एक उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिए ।

नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले फिल्मले धेरैको कथा बोलेको बताए । उनले गुमाउनु परेकाहरूको पीडा फिल्मले बोलेको धारणा राखे । 

साम्बाला निर्देशक मीनबहादुर भामले फिल्म रमाइलो लागेको बताउँदा गायिका आनी छोइङ डोल्मा राम्रो लागेको प्रतिक्रिया दिए ।

अभिनेत्री मनिषा कोइराला चलचित्र असाध्यै मन परेको बताइन् । उनले भनिन्, ‘सिनेमा भनेको कथा भन्नु हो । उनले कस्तो मिठो ढङ्गले कथा भन्नुभएको छ एउटा मान्छेको पीडा देखाउनु भाको छ । मेरो विचारमा टेक्निकल्ली सिनेमाटोग्राफी स्टोरी लाइन डायलग डायलग पनि पोएट्री जस्तो छ ।’ नेपाली क्रिकेट टोलीमा कप्तान रोहितकुमार पौडेलले पनि चलचित्र एकदमै राम्रो लागेको प्रतिक्रिया दिए । 

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले राम्रो फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरे । विनोद पौडेल निर्देशित ‘भूठान’को सम्पूर्ण छायाङ्कन अमेरिकामा भएको हो ।  

अङ्ग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रमा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीको अभिनय छ । हलिउडका विश्वविख्यात अभिनेता ब्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । 

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देश प्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । 

चलचित्र यही वैशाख १२ गते रिलिज हुँदै छ । ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप