एनआरएनएको एकता महाधिवेशनसम्बन्धी मुद्दामा सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ ।
परराष्ट्र मन्त्रालयको पत्राचारका आधारमा महान्याधिवक्ताको कार्यालयमार्फत ६ महिना एकता महाधिवेशन पर सार्न माग गर्दै सर्वोच्चमा पेस भएको निवेदनविरुद्ध राजेश शमशेर राणाले दायर गरेको मुद्दामा अदालतले मिसिल झिकाउने आदेश गरेको छ ।
परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर दायर मुद्दामा बुधबार न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले सो आदेश गरेको हो ।
परराष्ट्रले सर्वोच्च अदालतको परमादेशअनुसार एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिको सहमतिबिनै महान्यायधिवक्ताको कार्यालयमार्फत पत्राचार गर्दै ६ महिना समय थपको सिफारिस सहित पत्राचार गरेको थियो ।
परराष्ट्रको पत्रअनुसार महान्याधिवक्ताको कार्यालयले अदालतमा निवेदन पेस गरेपछि राणाले मंगलबार सर्वोच्चमा तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने मागसहित रिट दायर गरेका थिए ।
वैशाख ८ मा सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले तोकिएकै मितिमा महाधिवेशन गराउनुपर्ने आशयको एक पत्र सचिवालयलाई पठाएको थियो ।
सर्वोच्चको परमादेशमा नै पूर्वअध्यक्ष शेष घले उच्चस्तरीय समितिका संयोजक रहेका छन् । घले नेतृत्वको १३ सदस्यीय समितिले यही मे महिनाको ३, ४ र ५ मा काठमाडौँमा एकताको महाधिवेशन तोकेर सबै प्रक्रिया अघि बढाइसकेको अवस्थामा परराष्ट्रले २०८२ कात्तिक ४ पछि एकताको महाधिवेशन गर्ने गरी ६ महिना समय थप गर्न पत्राचार गरेको थियो ।
बुधबार नै एकता महाधिवेशन सार्ने या रोक्ने भन्नेबारे इजलासबाट कुनै आदेश भएको छैन । अब सुनुवाइको अर्को पेसी तोकेर यस सम्बन्धमा थप आदेश हुने छ । एकता महाधिवेशनअघि नै पेसी तोकिएमा यस सम्बन्धमा आदेशअनुसार हुनेछ । अन्यथा एकता महाधिवेशन गर्न बाधा नहुने बहसमा सहभागी एक अधिवक्ताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य