बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
अतांकवादी हमला

आतंकवादीबाट मारिएका सुदीप : स्थानीय भन्छन्, ‘एउटा समाजसेवी युवा गुमायौँ’

बुधबार, १० वैशाख २०८२, १४ : ०८
बुधबार, १० वैशाख २०८२

बुटवल । बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप न्यौपाने केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा हिँडेका थिए । उनले छिमेकी साथी अभिषेक पोखरेललाई दिल्लीलगायतका ठाउँमा भ्रमणका लागि जान लागेको बताएका थिए । 

तर मंगलबार भारतको जम्मू–कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने मध्येमा एक नेपाली सुदीप पनि रहेको खबर आएको थियो । गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मीर गएका सुदीपमाथि बन्दुकधारीहरूले अचानक आक्रमण गरेको थियो ।  

खबरपछि अहिले उनको टोलको मनकामना पथ शोकमा डुबेको छ । बिहान साढे ११ बजेतिर सुदीपको टोलमा पुग्दा अभिषेक पनि मलिन मुद्रामा चोकमा उभिएका थिए । न्यौपानेको घरमा केही नभए पनि छिमेकीहरू घर अगाडि भेला भएर दुखद घटनाको विषय चासो र चर्चा गरिरहेका थिए । 

3

स्थानीयहरू अन्य नेपाली अवस्था के छ ? कहिले न्यौपानेको शव ल्याइन्छ ? सुदीपसँग घुम्न गएका आमा दिदी, भिनाजु अवस्था के छ भन्ने चासो लिइरहेका थिए ।  छिमेकी केशरी न्यौपाने रातोपाटीसँग प्रश्न गरिन्, ‘अन्यको अवस्था के होला, कहिले, ल्याउलान् ।’ 

यो मनकामना पथ पहिलेदेखि बसे पनि ३ वर्ष अगाडि सुदीपकी आमा रिमाले यही घर बनाएकी हुन् । रिमाको सम्बन्ध विच्छेद भएको छ । उनीसँग छोरा सुदीप बस्ने गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले रातोपाटीलाई बताए । उनले आजै साँझ शव काठमाडौँ ल्याउने तयारी भएको जानकारी दिए । यता समाजवासी सुनिल शाहीले आतङ्कवादी हमलाले गर्दा राम्रो युवा गुमाउन परेकामा सबै दुखी भएको बताए । 

त्यस्तै बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बन्दुकधारीहरूको समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘कुन धर्म समूह हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको जानकारी दिए । साथमा उनको आमा, बहिनी र ज्वाइँ सकुशल रहेको जानकारी आएको उनले खुलाए । 

13

आक्रमणमा ज्यान गुमाएका सुदीपले एचएको अध्ययन पुरा गरेपछि काठमाडौँ गएर बीपीएच अध्ययन गरेका थिए ।  पछिल्लो समय उनी बुटवलको आधुनिक समाज डेन्टलसँग जोडिएर मुख स्वास्थ्य अभियान परियोजनामा काम गरिरहेका थिए । 

आधुनिक समाज डेन्टलका सञ्चालक अमृत भुसालका अनुसार सुदीपले मुख स्वास्थ्य अभियान लिएर प्युठान, भैरहवालगायतका ठाउँमा पनि पुगेका थिए । न्यौपाने यो परियोजनासँग जोडिएर ग्रामीण क्षेत्रका विपन्न वर्गको मुखको स्वास्थ्य केन्द्रित भएर काम गर्न रुचाउने गरेको उनले खुलाए । भुसालले भने, ‘उनी मेहनती थिए र विपन्न वर्गको स्वास्थ्य सेवामा काम गर्न रुचि राख्थे । तर, दुर्भाग्यले यस्तो घटना भएछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप