बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

प्ले–अफ चरण प्रवेशको सम्भावना जीवित राख्न जित्नैपर्ने दबाबमा मुम्बई र हैदराबाद

बुधबार, १० वैशाख २०८२, १० : ०८
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा बुधबार सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल हैदराबादस्थित राजिव गान्धी स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

जारी आईपीएलमा खेल्न लागिएको यो ४१औँ खेल हो । यो सिजनको आईपीएलमा हैदराबाद र मुम्बई दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । आईपीएलको जारी सिजनमा मुम्बई इन्डियन्स प्ले–अफ चरणमा पुग्न सँघर्षरत छ भने हैदराबादको अवस्था नाजुक देखिन्छ । 

यी दुबै टोली आईपीएलका पूर्वविजेता हुन् । आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोलीमध्ये एक हो । मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । मुम्बईका अतिरिक्त चेन्नई सुपर किङ्सले मात्र पाँच पटक उपाधि जित्न सकेको छ । 

मुम्बई इन्डियन्सले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई २३ रनले पराजित गरेको थियो । सन् २०१५ मा मुम्बईले दोस्रोपटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नईलाई नै ४१ रनले हराएको थियो ।

त्यसपछि मुम्बई इन्डियन्सले सन् २०१७ मा उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजायन्ट्सलाई एक रनले पराजित गरेको थियो । आईपीएलको इतिहासमा यो सबैभन्दा कम रनअन्तरको जित पनि हो ।

मुम्बईले सन् २०१९ मा चौथो पटक उपाधि उचालेको थियो । उक्त संस्करणको फाइनलमा पनि मुम्बईले चेन्नईलाई एक रनले नै हराएको थियो । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो । मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो । 

सनराइजर्स हैदराबादले भने हालसम्म एकपटक आईपीएलको उपाधि जितेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो । त्यतिबेला हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको थियो । 

हैदराबाद सन् २०१८ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला हैदराबादलाई फाइनलमा चेन्नई सुपर किङ्सले हराएको थियो । हैदराबाद साविक उपविजेता पनि हो । अघिल्लो संस्करणको फाइनलमा हैदराबादको टोली कोलकाता नाइट राइडर्ससँग हारेको थियो ।

मुम्बईको नवौँ र हैदराबादको आठौँ खेल
जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्सले हालसम्म आठ खेल खेलेको छ । सनराइजर्स हैदराबादले भने हालसम्म सात खेल खेलेको छ । हालसम्मको नतिजालाई हेर्दा हैदराबादभन्दा मुम्बई बलियो देखिन्छ । 

मुम्बईले आठमध्ये चार खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । मुम्बई आठ अंकसहित तालिकाको छैटौँ स्थानमा आसिन छ । त्यसैले बुधबारको खेलमा जित हात पार्दै मुम्बई प्ले–अफ चरण प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ ।

srh

अर्कोतिर, यो सिजन हैदराबादको प्रदर्शन खासै गतिलो देखिँदैन । हैदराबादले सातमध्ये केवल दुई खेलमा जित हात पारेको छ भने पाँच खेलमा पराजय भोगेको छ । हैदराबाद चार अंकसहित नवौँ स्थानमा छ । त्यसैले बुधबारको खेलमा पराजित भए हैदराबादको अगाडि बढ्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी रहनेछ ।

यस्तो थियो अघिल्लो भिडन्त
जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स दोस्रोपटक आपसमा भिड्न लागेका हुन् । यसअघि अप्रिल १७ तारिखमा यी दुई टोलीबिच भिडन्त भएको थियो । त्यो खेलमा मुम्बईले हैदराबादलाई चार विकेटले हराएको थियो । 

मुम्बईको घरेलु मैदान वानखेड स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको मुम्बईले १८.१ ओभरमै ६ विकेट गुमाएर एक सय ६६ रन बनाउँदै लक्ष्य पार गरेको थियो ।

पहिले ब्याटिङ गरेको हैदराबादका लागि ओपनर अभिषेक शर्माले ४०, हेनरिक क्लासनले ३७ र ओपनर ट्राभिस हेडले २८ रन बनाएका थिए । मुम्बईका बलर विल ज्याक्सले दुई विकेट हात पारेका थिए । 

जवाफी ब्याटिङ गरेको मुम्बईका लागि विल ज्याक्सले ३६, ओपनर रायन रिकेल्टनले ३१ तथा रोहित शर्मा र सूर्यकुमार यादवले २६–२६ रन बनाएका थिए । हैदराबादका बलर प्याट कमिन्सले तीन र एसान मालिंगाले दुई विकेट हात पारेका थिए ।

हेड टु हेडमा मुम्बई अगाडि
आईपीएलमा हालसम्म सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिच कुल २४ खेल खेलिएको छ । त्यसमा मुम्बई बलियो देखिन्छ । मुम्बईले १४ खेलमा हैदराबादलाई हराएको छ । हैदराबादले भने १० खेलमा मुम्बईलाई पराजित गरेको छ । 

mi

लयमा छन् हैदराबादका हेड
जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ट्राभिस हेड हुन् । अर्का ब्याट्सम्यान अभिषेक शर्माको प्रदर्शन पनि अब्बल देखिन्छ । हेडले हालसम्म सात खेलमा कुल दुई सय ६२ रन बनाएका छन् । जारी आईपीएलमा उनको स्ट्राइक रेट १६८ रहेको छ । 

अभिषेक शर्माले पनि सात खेलमा कुल दूई सय ४२ रन बनाइसकेका छन् । हैदराबादका लागि ब्याट्सम्यान ईशान किसनको निराशाजनक प्रदर्शन चिन्ताको विषय हो । पहिलो खेललाई अपवाद मान्ने हो भने उनले पछिल्ला ६ खेलमा कुल ३२ रनमात्र बनाउन सकेका छन् ।

हैदराबादका लागि सर्वाधिक विकेट लिने बलर भने हर्षल पटेल हुन् । उनले अघिल्ला ६ खेलमा कुल नौ विकेट लिइसकेका छन् । टोलीमा कप्तान प्याट कमिन्स, मोहम्मद शामी, जिसन अन्सारीजस्ता प्रभावशाली बलर पनि छन् । 

मुम्बईको सर्वाधिक रन सूर्यकुमारको नाममा
आईपीएलको जारी संस्करणमा मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्यकुमार यादव हुन् । उनले यो सिजन लयमा देखिएका छन् । उनले हालसम्म टोलीका लागि कुल तीन सय ३३ रन बनाइसकेका छन् । 

उनको स्ट्राइक रेट १६२.४३ रहेको छ । यसक्रममा उनले दुईवटा अर्धशतक पनि प्रहार गरेका छन् । मुम्बईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा तिलक बर्मा दोस्रो स्थानमा छन् । उनले हालसम्म कुल दुई सय ३१ रन बनाएका छन् । 

चेन्नई सुपर किङ्सविरुद्धको अघिल्लो खेलमा पूर्वकप्तान रोहित शर्मा पनि लयमा देखिएका थिए । उनले त्यो खेलमा अविजित ७६ रन बनाएका थिए । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर कप्तान हार्दिक पाण्ड्या हुन् । उनले ११ विकेट लिइसकेका छन् । 

मुम्बई इन्डियन्सको टोलीमा जसप्रित बुमराह, ट्रेन्ट बोल्ड र दीपक चाहरजस्ता प्रभावशाली बलर पनि छन् । यसका अतिरिक्त मिचेल सान्टनर र विग्नेश पुथुरजस्ता क्षमतावान स्पिनर पनि रहेका छन् । 

ब्याट्सम्यानलाई साथ दिने पिच
सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिच बुधबारको खेल हुने राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको रहेको छ । परिस्थिति अनुसार, तिब्रगतिका बलरले पनि यो पिचमा राम्रो प्रदर्शन गर्न सक्छन् । 

यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८२ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ३५ खेल जितेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले ४६ खेलमा सफलता हात पारेका छन् । एक खेल भने अनिर्णित रुपमा सकिएको छ । 

मौसम सफा रहने 
मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच खेल हुने दिन बुधबार हैदराबादको मौसम सफा रहने बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको कुनै सम्भावना छैन । तापक्रम २५ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ । 

सम्भावित टोली 
सनराइजर्स हैदराबाद :
 प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, ईशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासन (विकेटकिपर), अनिकेत वर्मा, अभिनव मनोहर, मोहम्मद शामी, हर्षल पटेल, एसान मालिंगा र जिशन अन्सारी ।

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रायन रिकेल्टन (विकेटकिपर), रोहित शर्मा, सूर्यकुमार यादव, तिलक बर्मा, मिचेल सान्टनर, विल ज्याक्स, ट्रेन्ट बोल्ट, नमन धीर, दीपक चाहर, जसप्रित बुमराह र अश्विनी कुमार ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप