१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन

आज २०८२ वैशाख ९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- कर्णालीमा तेस्रो त्रैमासिक समीक्षा
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिने अर्थात् तेस्रो त्रैमासिक समीक्षा गरेको छ । सोमबार गरिएको समीक्षाअनुसार सरकार अझै द्रुत गतिका अग्रसर हुन नसकेको निष्कर्ष निकालिएको छ ।
- व्यक्तिस्वार्थ चर्को
गण्डकीका योजनामा व्यक्तिकेन्द्रित स्वार्थ चर्को छ । अर्थ मन्त्रालयले बजेट निर्माणका क्रममा भोग्नुपरेका चुनौतीलाई १२ बुँदामा उल्लेख गरेको छ । अर्को महत्त्वपूर्ण चुनौतीचाहिँ जे मन लाग्यो त्यही योजना सिफारिस गर्नु पनि हो ।
- समिति नै समस्यामा
कोशी प्रदेश सरकारले गत पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबन्धु थापाको नेतृत्वमा संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गर्यो । उक्त समितिले त्यसको ५ दिनपछि (पुस २३ गते) नै सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्यो ।
- संक्रमणकालीन न्याय
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति गर्न गठित सिफारिस समितिले आयोगको अध्यक्ष र सदस्यको पदमा नियुक्तिका लागि आवेदन दिनेहरूको सूची प्रकाशित गरेको छ । समितिको वैशाख ७ गते बसेको बैठकको निर्णय बमोजिम आवेदकको सूची सार्वजनिक गरिएको हो ।
- न्यायाधीश नियुक्ति
नेपालको संविधान २०७२ ले न्यायपालिका स्वतन्त्र हुने दाबी गरेको छ । तर यथार्थमा भने त्यस्तो देखिँदैन ।
- परीक्षा सर्यो
वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि मात्र हुने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो।
- तयारी पोसाक
सन् २००१ मा करिब ४० करोड अमेरिकी डलर बराबरको तयारी पोसाक निर्यात हुन्थ्यो । विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख उद्योगका रूपमा स्थान ओगट्न सफल थियो, तयारी पोसाक उद्योग ।
- नेकपा स्थापना दिवस
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७७ वर्षमा प्रवेश गरेको छ । २००६ वैशाख १० गते भारतको कोलकातास्थित श्यामबजारमा एक व्यक्तिको घरमा नेकपा स्थापना भएको थियो । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए । सदस्यहरूमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए ।
- सुपारीको आयात–निर्यात
सरकारले फागुन १ गते राजपत्रमा सूचना प्रकाशित गर्दै कोटा हटाएपछि सुपारी आयात ह्वात्तै बढेको छ । लामो समयदेखि सुपारी कोटामा आयात हुँदै आएको थियो ।
- आन्दोलन चर्काउने चेतावनी
निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएका छन् । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी ट्रेड युनियनका प्रतिनिधिले सरकारलाई पाँच वर्ष सेवा अवधि भएको कर्मचारीको एक तह वृद्धि र १० वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीहरूलाई दुई तह अथवा एक श्रेणी वृद्धिको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।