बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?

मङ्गलबार, ०९ वैशाख २०८२, २० : ५७
मङ्गलबार, ०९ वैशाख २०८२

वासिङटन डीसी । हालैका दिनमा बहुमूल्य धातु सुनको भाउ बढिरहेको छ ।

मंगलबारको कारोबारमा पनि सुनको भाउमा कीर्तिमानी वृद्धि जारी रह्यो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको आलोचना गरेपछि जोखिमयुक्त सम्पत्तिप्रति लगानीकर्ताको रुचि कम भएको छ । लगानीकर्ताहरू सेभ हेभन एसेट सुनतिर आकर्षित हुँदा सुनको भाउ आकासिएको हो । 

यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे न्युयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔंस ३ हजार ४६० डलर ५४ सेन्ट कायम थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरिको तुलनामा ४ दशमलव ३९ प्रतिशत धेरै हो ।

मंगलबारको कारोबारमा स्पड गोल्डको भाउ अधिकतम् ३ हजार ४९८ डलर ५० सेन्ट र न्यूनतम् ३ हजार ३१५ डलर १३ सेन्टका बिच रहेको थियो । सोही समयमा यूएस गोल्ड फ्युचर्स प्रतिऔंस ३ हजार ४५५ डलर ९५ सेन्टमा किनबेच भइरहेको थियो । यो अघिल्लो दिनको तुलनामा शून्य दशमलव ९५ प्रतिशत धेरै हो । 

ट्रम्पले लगाएको ट्यारिफको चिन्ता र ट्रम्प–पावेलबिचको खिचातानीका कारण लगानीकर्ताहरूले अमेरिकी सम्पत्तिलाई बेवास्ता गरिरहेका छन् । डलरको भाउ घटेसँगै लगानीकर्ताहरूले डलरसँग विपरीत सह–सम्बन्ध मानिएको सुनमा लगानी बढाइरहेको केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले भने ।

अमेरिकी अर्थतन्त्रले सुस्तीको सामना गर्न सक्ने भन्दै ट्रम्पले सोमबार पनि पावेललाई ब्याजदर घटाउन भनेका थिए । तर ट्रम्पका ट्यारिफले महँगीमा पार्ने स्पष्ट प्रभाव नदेख्दा सम्म ब्याजदर यथावत् राख्ने सुरमा पावेल छन् । 

अमेरिकाको सरकारी ऋणपत्रमा व्यापक सेल अफ देखिएपछि त्यहाँको सेयर बजार र डलर दुवै कमजोर भएका छन् । यस्तोमा एसियाका सेयर बजारलाई पनि मंगलबार स्थिरता कायम गर्न सकस भयो ।

यो महिना सुनको भाउमा व्यापक वृद्धि देखिएकोले भाउमा करेक्सन आउन सक्ने सम्भावना रहेको वाटरर भन्छन् । तर ट्यारिफले निम्त्याउन सक्ने आर्थिक अनिश्चय कायमै रहेकोले सुनको भाउ ओरालो लाग्दैन भन्नेमा क्रेता विश्वस्त छन् । गएको बुधबार सुनको भाउ पहिलो पटक ३ हजार ३०० डलरमाथि उक्लिएको थियो । सोमबार यसको भाउले ३ हजार ४०० को स्तर पार गर्‍यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप