बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

नेपाल र भारतबिच ऊर्जा विकासका लागि सम्झौता

मङ्गलबार, ०९ वैशाख २०८२, २० : ३६
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । नेपाल र भारतबिच नेपालका ऊर्जा क्षेत्रको विकासका लागि सम्झौता भएको छ ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका ऊर्जा, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा सो सम्झौता भएको हो । दुई देशबिच ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी कामबारे सम्झौता भएको छ ।

गएको माघ ३० गते भारतको नयाँ दिल्लीमा नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकले ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति गरेको थियो । 

त्यही सहमति अनुसार आज नेपाल विद्युत् प्राधिकरण र पावर ग्रीड लिमिटेडले संयुक्त कम्पनी स्थापना गर्न सम्झौता गरेका हुन् ।सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रीड लिमिटेड भारतका निर्देशक डा. यतिन्द्र दुवेदीले संयुक्त हस्ताक्षर गरे ।

समझदारी अनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहने उल्लेख छ । बाँकी ४९ प्रतिशत अर्को देशको रहनेछ । 

प्रसारण लाइनमध्ये इनरुवा–न्यु पूर्णियाको लम्बाई नेपालतर्फ २५ र भारततर्फ १०० किलोमिटर रहेको छ भने दोदोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहेको छ ।

मन्त्री खट्टर दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आएका हुन् । उनले आजै अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप