बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु

मङ्गलबार, ०९ वैशाख २०८२, १९ : ५९
मङ्गलबार, ०९ वैशाख २०८२

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा क्रिकेट मैदान निर्माण सुरु गरिएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु आठ लाख बजेटमा यहाँ क्रिकेट खेलमैदान निर्माणको काम सुरु गरिएको हो ।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रूपन राईले यहाँ आठ रोपनी जग्गा व्यवस्थापन गरेर ‘लफ्याङ सिरान क्रिकेट खेलमैदान’ निर्माणको काम सुरु गरिएको जानकारी दिए । 

निर्माणाधीन खेलमैदानको लम्बाइ ८७ मिटर र चौडाइ ५७ मिटरको हुनेछ । खेलमैदानका लागि स्थानीय मझुवा सेवा समाजले पाँच रोपनी आठ आना जग्गाको व्यवस्थापन गरेको छ ।

यस्तै, डाँडाबारीका गोविन्द कटवालले एक रोपनी, खड्गबहादुर कटवालले एक रोपनी र धनमायाँ कटवालले आठ आना जग्गा निःशुल्क प्रदान गरेका सङ्घका अध्यक्ष राईले बताए । 

क्रिकेट खेल मैदान निर्माणका लागि प्रतिरोपनी रु एक लाख दश हजारको दरले जग्गा खरिद गरेर क्रिकेट सङ्घलाई उपलब्ध गराइएको मझुवा सेवा समाजका सदस्य भूपराज कटवालले बताए । उनका अनुसार जग्गा खरिदका लागि समाजका सदस्यहरूले सहयोग सङ्कलन गरेका थिए । 

वडाध्यक्ष दिनेश घिमिरेले खेलमैदानका लागि आवश्यक थप छ रोपनी जग्गा जुटाउन वडा नम्बर ५ कार्यालयले पहल गर्ने बताए । 

निर्माणाधीन क्रिकेट मैदानसम्म पुग्ने करिब ८५ मिटर सडक निर्माणका लागि स्थानीय ताराकुमार कटवालले पनि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको सङ्घका अध्यक्ष राईले जानकारी दिए । 

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप