बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?

मङ्गलबार, ०९ वैशाख २०८२, १८ : ५५
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा रहेको अवस्थामा बोर्डले निर्धारित मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारी सहभागी नहुने अवस्थामा बोर्डले कसरी परीक्षा गराउँछ भन्ने धेरैको चासोको विषय पनि बनेको छ । बोर्डले निजामती कर्मचारी र सुरक्षा निकायको सहयोगमा भए पनि परीक्षा नरोक्ने नीति लिइसकेको छ । शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयका ५५ लाख विद्यार्थीहरूको पढ्न पाएका छैनन् । 

यसैबिच रिपोर्टर्स क्लब नेपालले शिक्षासँग सरोकार राख्ने निकायहरूसँग अन्तरक्रिया गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का सह–अध्यक्ष गोपाल प्रसाद आचार्यले कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन हुनुको विकल्प नरहेको बताए । पठनपाठन र परीक्षा ठिक समयमा हुन सकेन भने आगामी दिनमा देश चलाउने जनशक्ति नै कमजोर भएर जाने उनले बताए ।

‘परीक्षा र पठन संस्कृति ठिक ढंगले ठिक समयमा हुन सकेन भने हाम्रो देश चलाउने जनशक्ति कमजोर भएर जान्छ । समाज, विद्यार्थी र अभिभावकहरूको मनोविज्ञान यो कक्षा १२ को परीक्षा समयमा सञ्चालन होस् भन्ने छ,’ प्याब्सनका सह–अध्यक्ष आचार्यले भने । 

त्यस्तै, राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एनप्याब्सन) का अध्यक्ष सुवास न्यौपानेले शिक्षकहरूको आन्दोलनले विद्यार्थीहरूको पढ्न पाउने नैसर्गिक अधिकार हनन हुन नहुने बताए । ‘अहिले ५५ लाख विद्यार्थी भाइबहिनीहरू पढाइबाट वञ्चित हुनुभएको छ । पढ्न पाउनु विद्यार्थीहरूको नैसर्गिक अधिकार हो । नैसर्गिक अधिकार वञ्चित हुन हुँदैन,’ उनले भने । 

उच्च माध्यमिक विद्यालय संघ (हिसान) का उपाध्यक्ष रामहरि सिलवालले कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय स्वागतयोग्य रहेको बताए । उनले भने, ‘परीक्षा वर्षभरि पढेको विषय मापन गर्ने र शैक्षिक यात्रा अगाडि बढाउने माध्यम पनि हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोकिने निर्णय गरिसकेको सन्दर्भमा एउटा सरकारी निकायले परीक्षाको तालिका जे छ, त्यहीअनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाइरहेको सन्दर्भमा यो स्वागतयोग्य कुरा हो । कर्मचारीलाई राखेर गराउँछ, अथवा अरूबाट गराउँछ, त्यो हाम्रो सरोकारको विषय होइन । परीक्षा हुनुपर्छ भन्ने हामी मान्यता राख्छौँ ।’ 

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बालबालिकाको शिक्षा पाउने अधिकार हनन हुन नहुने बताए । अहिले अभिभावकहरूको चाहना आफ्ना सन्तानहरूले राम्रोसँग पढ्न पाउनुपर्‍यो भन्ने नै रहेको उनले बताए । ‘शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक अधिकार, मानवअधिकार र बाल अधिकारको रक्षा गर्नुपर्छ । हामी त्यो लाइनबाट बाहिर जान सक्दैनौँ । एउटा अभिभावकले पनि चाहने के हो भने आफ्नो सन्तानले पनि राम्रोसँग पढ्न पाउनुपर्‍यो, राम्रो शिक्षा प्राप्त गर्न पाउनुपर्‍यो भन्ने हो,’– उनले भने । 

शिक्षकहरूको आन्दोलनको कारण विद्यार्थीहरूले भर्ना हुन नपाएको उनले बताए । शिक्षकहरूको आन्दोलनको बिचमा निजी विद्यालयका विद्यार्थीहरूले पढ्न पाइरहेको  र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू यसबाट वञ्चित हुनुपरेको उनले बताए । कक्षा १२ को परीक्षामा शिक्षकहरूलाई समेटेर अगाडि बढ्दा राम्रो हुने उनले बताए । 

नेपाल शिक्षक महासंघका सचिव हरिप्रसाद जोशीले भने आफू शिक्षा ऐन नलिई कार्यक्षेत्रमा नफर्किने प्रण गरेर आन्दोलनमा होमिएको बताए । शिक्षकहरूको आन्दोलन उत्कर्षमा पुग्नै लाग्दा शिक्षामन्त्रीले राजीनामा दिनु दुःखद् विषय रहेको उनले बताए । ‘शिक्षा क्षेत्रका कुनै पनि कार्यक्रममा सहभागी नहुने गरी हामी शैक्षिक हडताल घोषणा गरिसकेका छौँ’– उनले भने, ‘कक्षा १२ को परीक्षामा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने भनेर हामीले निर्णय गरिसकेका छौँ । त्यो निर्णयबाट हामी ब्याक हुँदैनौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप