चलाउनु हुँदैन संविधानका चार खुट्टा

वर्तमान संविधानको चारवटा खुट्टा वा खम्बा छन् — गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता ।
यीमध्ये कुनै एकलाई पूरै हटाउनेबित्तिकै संविधानले काम गर्दैन । कुनै एक खुट्टालाई चलाउनु भनेको यो प्रणालीलाई नै परिवर्तन गर्नु हो । प्रणालीलाई हटाउने संवैधानिक बाटो छ तर अहिले त्यो व्यवहारमा सम्भव देखिँदैन ।
भारतको उदाहरण लिन सकिन्छ । त्यहाँ ‘धर्मनिरपेक्ष’ शब्द पछि राखिएको हो । सन् १९७६ मा इन्दिरा गान्धीले संविधान संशोधन गरेर धर्मनिरपेक्षता थपेकी थिइन् । त्यतिबेला इन्दिरा गान्धीको पार्टीले दुईतिहाइ बहुमत ल्याएको थियो । त्यसअघि भारत धर्मनिरपेक्ष नै थियो तर संविधानमा लिपिबद्ध गरेको त्यतिबेलै हो । अहिलेको भाजपा त्यतिबेला धर्मनिरपेक्षको विपक्षमा थियो । हिन्दु राज्य कायम गर्नुपर्ने उसको ‘आइडोलोजी’ थियो । सन् २०१९ को अगस्टमा जम्मु तथा कस्मिरले पाउँदै आएको स्वायत्तता अन्त्य गर्दै मोदी सरकारले संविधानको धारा ३७० खारेज गर्यो । तर धर्मसापेक्ष किन गरेनन् ? किनकि धर्मनिरपेक्ष हटाउनेबित्तिकै भारतीय समाजमा उथुलपुथुल हुने अवस्था हुन्छ । त्यसलाई सम्हाल्न सकिन्छ कि सकिँदैन भन्ने छ । त्यसै पनि बीपेजीका कारण भारतमा अन्तरसमुदायको द्वन्द्व बढिराखेको छ ।
हाम्रो संविधान निर्माणका बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएकी थिइन् । त्यतिबेला पत्रकारले प्रश्न गर्दा उनले आफूले भारतको संविधानको शपथ खाएर आएकी छु भनेकी थिइन् । स्वराजले धेरै व्याख्या नगरे पनि स्पष्ट संकेत गरेकी थिइन् कि आफूलाई हिन्दुवादी भनेर भनिरहन आवश्यक छैन । यसको अर्थ भारतको संविधानमा जे छ, त्यही अनुसार आफूले काम गर्ने हो भनेर जवाफ दिएकी थिइन् । त्यस कारण संविधानको पनि सिमाना हुन्छ, संविधानमा छ भन्दैमा त्यसको उपयोग गर्ने एउटा वातावरण हुन्छ । बहुमत छ भन्दैमा पेलेर निर्णय गर्न मिल्दैन । त्यसैले हाम्रो संविधानका चार खम्बामध्ये कुनै पनि हटाउन सकिँदैन ।
देशमा ८० प्रतिशत हिन्दु छन्, किन हिन्दु राज्य नहुने भन्ने उनीहरूको भावना होला, भावना मात्रै सबै कुरा होइन । विश्वव्यापी रूपमा स्विकारिएको लोकतन्त्रको सिद्धान्त छ । त्यो सिद्धान्तले नै धर्म निरपेक्षताको भावनालाई समेटेको हो । त्यो भावना कुनै पनि धर्मविरोधी छैन । यसमाथि हाम्रो संविधानले सनातनदेखि मान्दै आएका धर्म संस्कृतिको संरक्षण गर्नु राज्यको कर्तव्य हुन्छ भनेको छ । यसमा गुनासो गर्नुपर्ने देखिँदैन, राज्यको पहिचान एउटा धर्मको आधारमा नहोस् भन्नेमा हाम्रो संविधान छ ।
अहिले पनि क्रान्तिकारी नेताले बोल्दा ‘नेपाल अधिराज्य’ भनेको सुनेको छु । अधिराज्य भनेको उच्चस्तरीय शब्द हो जसरी बोल्ने गरेका छन् । यसको अर्थ अझै पनि नेताहरूको दिमागमा गणतन्त्र आएको छैन । सोचमा गणतन्त्र नहुनेबित्तिकै व्यवहारमा थुप्रै विरोधाभास देखिन्छ ।
हिजो हाम्रो राज्यको पहिचानसँग एउटा शाही परिवार जोडिएको थियो । गणतन्त्रले देशलाई एउटा व्यक्तिको पहिचानसँग जोड्न चाहँदैन । हामीले राज परिवार वा राजतन्त्रलाई अस्वीकार गरिसक्यौँ । अहिले पनि क्रान्तिकारी नेताले बोल्दा ‘नेपाल अधिराज्य’ भनेको सुनेको छु । अधिराज्य भनेको उच्चस्तरीय शब्द हो जसरी बोल्ने गरेका छन् । यसको अर्थ अझै पनि नेताहरूको दिमागमा गणतन्त्र आएको छैन । सोचमा गणतन्त्र नहुनेबित्तिकै व्यवहारमा थुप्रै विरोधाभास देखिन्छ ।
विश्वका उदाहरण, हाम्रो इतिहास आदिका आधारमा छिटै राजतन्त्र फर्कने सम्भावना देखिँदैन । विश्वको इतिहास राजा–महाराजाको भविष्यवाणीबाट बनेको छैन । जनताको कर्म र भावनाबाट बनेको छ । त्यसकारण नेपाली जनता गणतन्त्रको विपक्षमा गएको म देख्दिनँ ।
जेन–जी पुस्ता
अहिलेको नयाँ पुस्तालाई जेन–जी भनिए पनि अफ रुट (जरा नभएको) पुस्ता होइन यो । अहिले जुन किसिमको सोसल मिडिया टे«न्ड देखिन्छ, यसमा विश्वव्यापी रूपमा व्यक्ति केन्द्रितबाहेक अन्य संसार देखिएको छैन । पुस्ताभित्र एउटा व्यक्ति देखिन्छ । घरमा कहिलेकाहीँ कुनै अवसरमा जम्मा हुँदा प्रत्येक सदस्य मोबाइलमै व्यस्त हुन्छन्, आपसमा वार्ता कम हुन थालेको छ । अहिलेको सामाजिकीकरणको अवस्था यस्तो भइदियो । उनीहरु आफ्नो संसारमा मात्र सीमित भए, यो डरलाग्दो कुरा हो । यसले हिजोको इतिहाससँग विमुख गराउँछ । इतिहासबाट विमुख भएर समाज अगाडि बढ्दैन ।
पुँजीवादमा पनि एक जनाको पुँजीले विश्वलाई नियन्त्रण गर्ने अवस्था छ । जहाँ समाजका मानिसहरु चारजना पुँजीवादीको पुर्जा बनेर बस्नुपर्ने हुन्छ । अहिलेको जेन–जी पुस्ताले आफू उभिएको धरातलभन्दा पर हेर्दै छैन, यो कुरा हाम्रो देशमा डरलाग्दो देखिन्छ ।
कुनै पनि कुरा निरपेक्ष हुनै सक्दैन तर आजको पुस्ता घर, परिवार, बाउआमाबाट निरपेक्ष हुँदै छ । म पहिलोपटक टोकियो जाँदा— बस चढ्दा होस् वा रेलमा चढ्दा, एकले अर्कासँग कुरा गरेको देखिनँ । सबैको कानमा मोबाइल छ, एक हातले झोला समाएको हुन्छ ।
मलाई एकजना साथीले सोधे— कस्तो लाग्यो जापान ?
मैले भनेँ— तिमीहरूको जीवन त एक हातमा मोबाइल र अर्को हातमा झोला रहेछ ।
अहिले त्यही अवस्था नेपालमा देख्दै छु । हिजो सार्वजनिक बसमा यात्रुबिच धेरै विषयमा चर्चा हुन्थे । अहिले हिजोको जस्तै समाज हुन्छ वा हुनपर्छ भन्ने होइन तर नयाँ पुस्तालाई कसरी प्रशिक्षित गर्ने भन्ने चुनौती थपिएको छ । राजनीतिक मात्र होइन, सांस्कृतिक प्रशिक्षित गर्न जरुरी छ ।
गणतन्त्र आयो तर आजकलका स्कुलका पाठ्यपुस्तक हेर्छु, उही पुराना राजतन्त्रका कुरा छन् । गोरखा युद्धको इतिहास धेरै छन् । गणतन्त्र, लोकतन्त्र स्थापनाका लागि गरेका संघर्ष पुस्तकमा आउनुपर्ने हो । हिजोको गोरखा युद्धको कुरा पढाएर आजको पुस्ताले गणतन्त्रको ज्ञान कसरी पाउँछ ? यसमा हामीले हेक्का राख्नुपर्छ ।
(प्राध्यापक खनालसँग रातोपाटीकर्मी गणेश पाण्डेले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन