बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ

मङ्गलबार, ०९ वैशाख २०८२, १७ : ३१
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि आक्रोश पोखेका छन् । 

कम्युनिस्ट आन्दोलनलाई प्रचण्ड र माधव नेपालले कमजोर बनाएको आरोप लगाउँदै ओलीले 'डम्बरुमाथि खतरा आयो भने बघिनीले झाप्पु हान्ने' भन्दै यदि त्यस्तो अवस्था आए आफूहरूले पनि झाप्पु हान्ने चेतावनी दिए । 

 नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७७ वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट आन्दोलनलाई आफूले पुनर्गठन गरेर अगाडि बढेको दाबी गरे । 

आफूलाई बघिनीको संज्ञा दिएका ओलीले ओलीले भने, ‘हामीले एकता चाह्यौँ, आन्दोलन मजबुत बनाउन चाहेकाले एकता गर्‍यौँ । तर उनीहरूले एकता देश र जनताका निम्ति होइन  पार्टी भाँड्न, फुटाउन र विभाजन गर्न प्रयोग गरे । फेरि हामीले आन्दोलनलाई पुनर्गठन गर्‍यौँ । उनीहरूले गलत मनसायका साथ पार्टी कब्जा गर्न खोजे । जबसम्म डम्बरुमाथि खतरा हुँदैन तबसम्म बघिनी चुप लाग्न सक्छ । डम्बरुमाथि खतरा आयो भने बघिनीले झाप्पु हान्छ । हामी पनि त्यसै गर्छौँ ।’

आन्दोलनमाथि कसैले खतरा गर्‍यो भने आफूहरूले झाप्पु हान्ने उनको भनाइ थियो । 

उनले माधव नेपालले एमालेको अस्तित्व समाप्त पार्न खोजेको आरोप लगाए । ‘योद्धाहरूको पसिना र आँसुमाथि टेकेर निर्लज्ज ढंगले कम्युनिस्ट आन्दोलनमाथि तोडफोड गर्ने, ध्वस्त बनाउने, सिद्ध्याउने, एमालेको त नामै सुन्न नचाहने, एमाले खोज्दा पनि नभेटिने गरी ध्वस्त बनाउँछु भनेर कोही १३ वर्ष नेतृत्वमा बसे । जुन आमाको कोखमा बसेर हुर्कियो, जुन  आमाको दुध चुसेर हुर्कियो त्यही आमालाई अस्तित्व पनि राख्दिन भनेर मार्न तयार हुने अपराधी प्रवृत्ति यिनीहरूमा हाबी भयो’, ओलीले आक्रोश पोख्दै भने ।

आफ्नै नेतृत्वमा २०७५ सालमा कम्युनिस्ट आन्दोलनलाई इतिहासकै बलियो शक्ति बनाएको उनले जिकिर गरे । तर केही परिचालित कठपुतलीहरूका कारणले समस्या पैदा गर्ने तथा एकताबद्ध हुन नदिइएको उनले आरोप लगाए  ।

नेकपाकालमा आफूलाई निष्कासन गरेर पार्टी कब्जा गर्ने प्रचण्ड–माधवको  षड्यन्त्र असफल भएको समेत ओलीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप