बेगनासतालमा सशस्त्र प्रहरीले गर्यो कृत्रिम डुङ्गा दुर्घटना अभ्यास

पोखरा । मङ्गलवार बिहान बेगनासतालको दक्षिणी भागमा डुंगाघाट नजिकै रमाउँदै युवाहरू दुई वटा डुङ्गामा सयर गरिरहेका थिए । अकस्मात डुङ्गा पल्टियो । डुङ्गामा सवार सबै यात्रुहरू तालमा डुबे ।
डुङ्गा डुबेको केही मिनेटमै सशस्त्र प्रहरी बलको उद्धार टोली मोटरबोट लिएर घटनास्थल पुग्यो । तत्कालै उद्धार भएपछि अप्रिय घटना हुन पाएन । ताल पारी राखेका घाइतेलाई डोरीको सहायताले ताल वारी ल्याइयो । उद्धार कार्य चल्दा चल्दै एम्बुलेन्स पनि घटनास्थलमा आइपुग्यो ।
सबै घाइतेलाई अस्पताल लगेपछि घटनास्थल केही शान्त भयो । यी सबै गतिविधि साँच्चै भएको होइन, सशस्त्र प्रहरीले अभ्यास गरेको हो । पोखराको बेगनासतालमा बेला बेलामा डुङ्गा दुर्घटना हुने गरेका छन् । जसका कारण कयौँले अकालमा ज्यान गुमाउनु परेको छ ।
दुर्घटना भयो भने छिटो उद्धार गर्नका लागि सशस्त्रले कृत्रिम अभ्यास गरेको हो । दुर्घटना हुँदा हुने भिड र त्यसलाई छिचोलेर घाइतेलाई समयमै अस्पताल पुर्याउन हुने समस्या अभ्यासमा देखाइएको थियो ।
खास गरी चैत वैशाख तथा जेठको समयमा अत्यधिक हावाहुरी चल्ने र डुङ्गा दुर्घटनाका घटना बढ्ने गरेकापछि सशस्त्र प्रहरी बलको नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनीले अभ्यास गरेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
’केही वर्ष अघिसम्म तालमा डुङ्गा डुब्यो भने चिच्याउने, कराउने मात्रै हो । उद्धारको उपाय थिएन,उनले भने, ’अहिले प्रविधिको प्रयोग भएको छ । दुर्घटना भए तत्कालै उद्धार गर्न सकिन्छ । सशस्त्र प्रहरीले मात्र हालसम्म विपद्का विभिन्न घटनामा १२ सय ३० जनालाई जीवितै उद्धार गरिसकेको र २ सय ८३ जनाको शव निकालेको उनले बताए ।
दुर्घटनाको सूचना समयमा दिए क्षति न्यूनीकरण गर्न सकिने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । अभ्यासमा गण्डकी प्रदेश सरकारले पनि सहयोग गरेको थियो । ३ दिन सम्म भएको जल उत्पन्न प्रकोप सम्बन्धित अभ्यासले सहभागीहरूमा पुर्नताजगी पैदा गर्नुका साथै थप अभ्यस्त बनाएको पाण्डेले बताए ।
’विपद्का घटना न्यूनीकरण गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा विपद् नमुना अभ्यास, तालिम, प्रतिकार्य र सामग्री हस्तान्तरणका कार्यक्रम सञ्चालनमा सहकार्य गर्दै आएको छ,उनले भने ।
प्रदेश सरकारको सहयोगमा फेवा तालमा वाच टावर सञ्चालन गरिएको छ भने बेगनास तालमा पनि यस वर्षदेखि वाच टावर निर्माण सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा
-
पुर्जा बाँड्ने भन्दै कैयौँ आयोग बने, अवस्था उस्तै
-
लाखौँ भूमिहीनप्रति सरकार गम्भीर छैन
-
आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
जग्गा दर्ता गर्न कर्मचारी नै बाधक
-
महाकाली सीमा अतिक्रमणबारे वार्ता गर्न र भारतलाई तटबन्ध निर्माण रोक्न झलनाथको सुझाव