शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

बुधबार राति टर्की* जाँदै प्रधानन्यायाधीश, ५२ संवैधानिक नियुक्तिको फैसला आउला ?

मङ्गलबार, ०९ वैशाख २०८२, १५ : ३१
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि सरकारी वकिलहरूको तर्फबाट बहस सकिएको छ । 

मङ्गलवार सरकारका तर्फबाट नायव महान्यायाधिवक्ताहरू टेकबहादुर घिमिरे र लोकराज पराजुलीसहित चार जना सरकारी वकिलले बहस गरेका छन् । 

सोमबार महान्यायाधिवक्ता रमेश बडालसहित नायव महान्यायधिवक्ताहरु गोपालप्रसाद रिमाल र सञ्जीव रेग्मी तथा सहन्यायाधिवक्ता सूर्यराज दाहालले सरकारको तर्फबाट बहस गरेका थिए भने आइतबार दिनभर महान्यायाधिवक्ता बडालले सरकारको बचाउ गर्दै वकालत गरेका थिए । 

२०७७ माघ र २०७८ असारमा विभिन्न आयोगमा गरिएको नियुक्तिविरुद्ध परेका १५ रिटमाथि २०८१ माघदेखि सुनुवाइ सुरु भएको थियो । यसअघि बुधबार मात्रै संवैधानिक इजलासमा ती रिटमाथि चार पटक सुनुवाइ हुने गरेको थियो ।

तर,प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतकै अग्रसरतामा गत आइतबारदेखि नियमित पेसी तोकेर सुनुवाइ सुरु भएको थियो । 

प्रधानन्यायाधीश राउत विदेश भ्रमणमा जान लागेकाले त्यसअघि नै उक्त मुद्दा किनारा लगाउने मनस्थितिमा थिए । अदालत प्रशासनका अनुसार प्रधानन्यायाधीश राउत बुधबार राति ११ बजे टर्की उड्दै छन् । 

यससँगै विदेश भ्रमणअघि मुद्दाको सुनुवाइ नसकिने लगभग पक्का भएको छ । हालसम्म सरकारी वकिलको बहस सकिएकोमा अब ५२ संवैधानिक निकायका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । 

संवैधानिक निकायका कानुन व्यवसायीको बहसपश्चात् रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु हुनेछ । सबै संवैधानिक निकायबाट कम्तीमा एक कानुन व्यवसायी र त्यसपछि रिट निवेदकको बहस हुनेछ ।

*सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप