बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

दलहरूप्रति घनश्यामको टिप्पणी : मुखमा कालोमोसो दलेर दरबारमार्गमा उभिनुपर्ने अवस्था छ !

मङ्गलबार, ०९ वैशाख २०८२, १४ : ४३
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले प्रमुख राजनीतिक दलहरूको चरित्रबारे तिखो टिप्पणी गरेका छन् । १५६औँ लेनिन जयन्ती तथा नेकपा स्थापनाको ७६ वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौँमा भएको विचार गोष्ठीमा बोल्दै उनले प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी, रास्वपा र मधेस केन्द्रित दलहरूको चरित्र चित्रण गरेका हुन् । 

भुसालले देशको राजनीति अहिले गम्भीर अवस्थामा पुगेको भन्दै राजनीतिक सङ्कट पार लगाउने दलहरू नै भएको जिकिर गरे । कार्यक्रममा सहयात्री तथा विपक्षी दलहरूको आलोचना गरिरहँदा आफ्नै पार्टीको कमजोरीबारे कुनै टिप्पणी गरेनन् ।

अहिले राजनीतिक पार्टीहरू एमाले जस्तो भएको भुसालले टिप्पणी गरे । एमालेको चरित्र केपी ओली जस्तो व्यक्तिको प्रशंसामा रमाउने खालको भएको चित्रण गरे ।

‘अहिले पार्टी कस्तो छ भने एमाले जस्तो छ । एमाले कस्तो छ भन्दा कमरेड ओली जस्तो छ । कसैका कुरा सुन्दैनन् । देश अप्ठ्यारो अवस्थामा पुगेको छ । उनलाई अर्को कुनै मतलब छैन । मात्र नाम चाहिएको छ । एक लाख मानिस जम्मा भएर ‘आइ लभ यु केपी बा’ भन्दिन परेको छ । यो तहको आकाङ्क्षा राख्नु यो देशको दुर्भाग्य होइन ?

भुसालले पहिलो ठुलो दल कांग्रेस ‘न लायक न नालायक’ भएको टिप्पणी गरे । ‘कांग्रेस पार्टी न लायक पार्टी हो न नालायक पार्टी हो । अरू नालायक भयो भने त्यो लायक देखिन्छ । अरू लायक भयो भने त्यसको खासै भूमिका हुँदैन’, उनले भने ।

यस्तै सहयात्री दल नेकपा माओवादी केन्द्रप्रति पनि निकै आक्रामक देखिएका उनले माओवादको औचित्य पुष्टि गर्न चुनौती दिएका छन् । ‘हाम्रो क्रान्तिकारी सहयात्री पार्टी नेकपा माओवादी छ । सिद्धान्तकै हिसाबले पनि हामीले पटक पटक भनेका छौँ–पार्टीको नाम माओवादी राखेको छ, के हो माओवाद व्याख्या पनि गर्दैन ? किन राखेको हो त्यहाँ ? त्यसैले मैले भनेको छु–‘लुकिङ लन्डन’ ‘टकिङ टोकियो’ । एकातिर हेर्छ अर्कोतिर कुरा गर्छ । माओवादबाट हेर्दा समाज के देखिन्छ ? वर्ग के देखिन्छ ? आन्दोलन के देखिन्छ ? भविष्य के देखिन्छ ? हाम्रो भूराजनीति के देखिन्छ ? केही पनि देखिँदैन । जबसम्म माओवादी रहन्छ तबसम्म हाम्रो वास्तविकताको नजिकसम्म पनि आउँदैन । निकास दिने र क्रान्ति गर्ने कुरा बेकार कुरा हो । उसको तर्क हुन्छ गणतन्त्र हामीले ल्याएको । त्यसको भोग पनि हामीले नै गर्ने हो । मधेस दगुर्दै छ, आँखा काठमाडौँमा छ । कुनै झ्यालमा बत्ती बल्छ कि भनेर त्यतैतिर हेरेको छ’, भुसालले भने ।

यसैगरी मधेसी पार्टीहरू क्षेत्रीय  दल भएकाले राष्ट्रिय समस्या समाधान गर्न नसक्ने उनले बताए ।

‘समस्या राष्ट्रिय छ, पार्टी क्षेत्रीय छ । जसको चरित्रै क्षेत्रीय छ, त्यसले राष्ट्रिय समस्या समाधान गर्छ ? तिनलाई गाली गर्न पनि हुँदैन । तिनीहरूले कबुल गरेका छ कि हामी क्षेत्रीय हौँ’, उनले भने ।

भुसालले नयाँ वैकल्पिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई काण्डैकाण्डमा उदाएको पार्टीको संज्ञा दिए । पुराना दलहरूको नालायकीका कारण उदाएका पार्टी भएकाले केही गर्न नसक्ने उनको तर्क छ ।

यस्तो पृष्ठभूमिमा पूर्वराजा ज्ञानेन्द्र शाहले सडकमा जुलुस लिएर निस्कनुपर्ने अवस्था आउनु दलहरुको नालायकीपनबाहेक अरू केही हुन नसक्ने बताए । उनले ज्ञानेन्द्र शाहहरु सल्बलाउँदा गणतन्त्रवादी दलहरुले आफ्नै मुखमा कालोमोसो दलेर दरबारमार्गमा उभिनुपर्ने भुसालले बताए ।

भुसालले भने, ‘हामीले आफूले आफैलाई मुखमा कालोमोसो दलेर दरबारमार्गमा उभिनुपर्ने अवस्था छ । रविहरूको पार्टीलाई आक्रोशले जन्मायो, तर त्यत्रा काण्डैकाण्ड छन् । तिनले डाको छोडेर बोल्नु हाम्रो नालायकी होइन ?

बेथिति मौलाउँदा जनताले आक्रोश वा निराशा पोख्नु स्वाभाविक भएको उनको भनाइ छ । तर जसले ‘क्रान्तिकारी हौँ भनेर कबुल गरेका छन् उनीहरू भागेर सुख नपाउने’ भुसालले बताए ।

‘भाग्ने ठाउँमा पनि हाम्रो हिसाबकिताब हुनेछ । त्यसैले हामीलाई भाग्ने छुट छैन । यस्तो अवस्थामा लेनिन र पुष्पलालबाट शिक्षा लिने हो । राष्ट्रिय सङ्कटको समाधान गर्ने हो’, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप