जीवनी ल्याउँदै राजेश हमाल, भन्छन् : नखुलेका धेरै कुरा खुलाएको छु

काठमाडौंँ । पुलिस अफिसर, भरिया, गाउँले किसान, टुहुरो, पालेदाइ, मजदुर र व्यवसायीदेखि महिलाको भूमिकासम्म गरेका राजेश हमाललाई हामीले फिल्ममा धेरै चरित्रमा देख्यौँ ।
अभिनयमा विभिन्न चरित्र निर्वाह गर्ने क्रममा हमालले अनेकौँ भाषा बुझे, धेरैका पीडा देखे ।
तर, के साँच्चिकै हामीले उनको अनुहारमा उनलाई नै वास्तविक देख्यौँ त ? पर्दामा एउटा रौद्र, रोमाञ्चक र रोमान्टिक अवतारमा पालैपालो देखिने हमाललाई हामीले सधैँ चम्किलो अनुहार, दरिलो र आत्मविश्वासपूर्ण जीवनशैलीमा पायौँ ।
तर त्यो चमकभित्र कति रसाएका होलान् उनका आँखा ? कतिपटक छटपटीमा बिते होलान् उनका रात ? कतिपटक लरखराए होलान् उनका कदम ? हामीले खासै सोधेनौँ । सायद, त्यसैले ती सबै जवाफ लिएर आउँदैछन् हमाल । जीवनीका रूपमा तयार पारिएको छ पुस्तक ‘युगदेखि युगसम्म’ ।
उनी आफैँ सुनाउँदैछन् पर्दाका सुपरस्टारको पर्दापछाडिको कथा । आफ्नै आत्मकथामार्फत । ‘युगदेखि युगसम्म’ले स्टार्डमको धङधङी मात्रै होइन, त्यो धङधङीभित्रको थकान, बेचैनी र हारका कथासमेत बताउनेछ ।
उनले पुस्तक ‘युगदेखि युगसम्म’ छलफलमा आधारित रहेर ल्याउन लागेका हुन् । यसमा आफ्नो जीवनी, सोच, विचारदेखि विद्रोहसम्म सबथोक रहेको हमालले बताए ।
‘जीवनमा मेरो बाल्यकाल, मेरो हुर्काइ, फिल्मको अहिलेसम्मको यात्रा सबै आउँछ,’ उनले भने, ‘योबाहेक पनि जीवनप्रतिको धारणा, राजनीतिप्रतिको धारणा, दर्शन अन्य सामाजिक विषयवस्तुप्रतिको धारणालगायत धेरै कुरा समावेश छ ।’ पब्लिकका लागि यो रोचक सामग्री हुने विश्वास उनले गरेका छन् ।
‘यो नितान्त अटोबायोग्राफिकल शैलीमा हुने छैन । कुराकानीका आधारमा हो । छोटो प्रश्न र लामो उत्तर यसमा हुनेछ । एक प्रकारले भन्नुपर्दा यो पढ्दा मेरो सम्पूर्ण जीवनी थाहा हुन्छ,’ उनले थपे ।
हमालमा आफ्नो जीवनी पुस्तकमा ल्याउनुपर्छ भन्ने सोच ८–१० वर्ष अगाडि मात्र जागृत भएको हो । त्यो जगाउने काम फाइन प्रिन्टले गरेको थियो ।
‘फाइन प्रिन्टका अजित बराल र नीरज भारीले धेरै वर्ष अगाडिदेखि तपाईंका पुस्तक आउनुपर्यो भनेर घचघच्याइरहनुभएको थियो । म वेला भएको छैन, लेखौँला नि, अझै धेरै काम गर्नु छ भन्दै टार्दै थिएँ,’ हमालले सम्झिए, ‘कोरोना सुरु हुनु केही अगाडि उहाँहरू फेरि आएर कुराकानी शैलीमा गरौँ भन्नुभयो । म राजी भएँ ।’
यो शैलीमा हलिउड कलाकारको पुस्तक आएको भए पनि नेपालमा यस्तो शैलीको जीवनी आफ्नो नै पहिलो भएको उनी बताउँछन् ।
हमालको पुस्तक कुराकानी उतार्ने काम यज्ञशले गरेका छन् । धेरै सोच विचार गरेर उनले यज्ञश छाने । अहिले उनलाई लाग्छ– आफ्नो पुस्तकका लागि यज्ञश लेखकमा सही पात्र हुन् ।
‘पात्र छान्ने वेला भन्दा पनि आफ्नो जीवन खोल्ने वेला यज्ञश झन् महत्त्वपूर्ण लाग्यो । किनभने, मैले जीवनका सबै कुरा उहाँसँग खोलेँ,’ हमाल भन्छन्, ‘बाहिर नआएका धेरै कुरासमेत उहाँसँग खोलेको छु ।’ श्रीमती मधुले भन्दा पनि यज्ञशले आफ्नाबारेमा धेरै कुरा पुस्तकका सिलसिलामा थाहा पाएका हमालले सुनाए ।
‘म पहिलादेखि अहिलेसम्म पनि आफ्नो व्यक्तिगत जीवन, भावना खोल्ने व्यक्ति होइन । धेरै काम गरेका सहकर्मी पनि म कस्तो मानिस हो भनेर परिचित हुनुहुन्नजस्तो लाग्छ,’ हमाल थप्छन्, ‘पुस्तकका लागि नितान्त व्यक्तिगत कुरादेखि जीवनका उतारचढाव सबै खोल्नुपर्यो ।’ पुस्तकमा आफ्नो जीवनको बाहिर नआएका प्रेम र रोमान्सका कुरा, अनुभवसमेत आफूले खोलेको उनले सुनाए ।
पुस्तक तयार गर्न करिब तीन वर्ष लागेको छ । यति धेरै समय लाग्छ भन्ने उनले सोचेका थिएनन् । ‘३–४ महिनामै कुराकानी गर्दा भइहाल्छ भन्ने थियो,’ उनले भने ।
मानिसहरूले पाँच वर्ष लगाएर पुस्तक तयार पारेको भन्दा यत्रो समय पनि लाग्छ र भन्ने आफूलाई लाग्ने गरेको उनी बताउँछन् । तर अहिले उनलाई लागेको छ– पुस्तक लेख्नु चानचुने कुरो होइन रहेछ, समय लाग्दो रहेछ ।
विभिन्न व्यक्तित्वका जीवनी अध्ययन गर्न रुचाउने हमाल जीवनीबाट अनुभव, शिक्षा र प्रेरणा मिल्ने बताउँछन् ।
‘युगदेखि युगसम्म’ हमालको पहिलो पुस्तक हो । पुस्तक उनी आउँदो जेठमा आफ्नो जन्मदिन पारेर सार्वजनिक गर्ने तयारीमा छन् ।
‘जेठ मेरा लागि एकदमै महत्त्वपूर्ण छ । किनभने मेरो पहिलो फिल्म ‘युगदेखि युगसम्म’ जेठमै सुरु भएको थियो । म जन्मिएको जेठमै हो,’ उनी भन्छन्, ‘अहिले लामो समयपछि अभिनय गरेको फिल्म ‘नरसिंह अवतार’ पनि जेठमा रिलिज हुँदैछ ।’
पुस्तक जेठमा सार्वजनिक गर्ने भए पनि पुस्तकको परिचय केहीअघि पोखरामा आयोजित लिटरेचर फेस्टिभलमा गराउने उनले तयारी गरेका थिए ।
कार्यक्रममा जानु अघिल्लो दिन बिमारी परेकाले त्यो योजना पूरा हुन नसकेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाभोज’ टिजरमा पैसाले निम्त्याएकाे पारिवारिक र सामाजिक द्वन्द्व
-
विजयनाथ भट्टराईले गभर्नर छनोट सिफारिस समिति सदस्यबाट दिए राजीनामा
-
शंखरापुर हत्या प्रकरण : आरोपी र मृतक ३ महिनादेखि सँगै बस्थे, मदिराले मातेर हत्या
-
छतमा सोलार राख्न ग्लोबल आइएमई बैंकले कर्जा दिने
-
बेगनासतालमा सशस्त्र प्रहरीले गर्यो कृत्रिम डुङ्गा दुर्घटना अभ्यास
-
आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु