सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता

आन्दोलनरत शिक्षकका माग विभागीय मन्त्रीबाट समाधान नभएपछि प्रधानमन्त्री स्वयं अग्रसर भई आन्दोलनरत शिक्षकसँग वार्ता तय भएको थियो । प्रधानमन्त्रीलाई अँध्यारो औधि मन पर्ने हुनाले समय तोकिएको थियो, बेलुकाको ७ बजे । स्थान तोकिएको थियो, प्रधानमन्त्री निवास बालुवाटार ।
शिक्षकका नेताले पनि एक–एकवटा राजनीतिक फेरो समातेकै हुनाले बालुवाटारको मेलोमेसो बुझेकै थिए । एक हुल शिक्षकका नेता भागबन्डा मिलाएर समयअगावै राति ६ः३० बजे नै बालुवाटार पुगे ।
प्रधानमन्त्रीज्यूको पुरानै बानी, कुराउनैपर्ने । शिक्षकहरू पनि सोही मारमा परे । प्रधानमन्त्रीज्यूको अर्को विशेष बैठक रहेछ, राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा । यसमा आलाकाँचा नेता केटाहरू योग्यलाई छनोट गर्नुपर्ने रटानमा रहेछन् । यसै सन्दर्भमा सत्ता साझेदारसँग हाम्रो केटोलाई गर्भनर बनाउने विषयमा रस्साकस्की चलेको थियो । अन्त्यमा मालदार सत्ता साझेदारकै केटोलाई गभर्नरमा नियुक्ति दिने निचोड निकालेर कुरा मिल्यो भनी गर्वका साथ बैठक टुंग्याइयो । त्यसपछि करिब राति ८ बजेतिर शिक्षकहरूलाई दर्शन दिन सक्नुभयो प्रधानमन्त्रीज्यूले ।
केही समय अघिसम्म बिचौलिया र अनेक दोषारोपण गर्ने सत्ता साझेदारका नेताहरू अब आफ्नै मालदार केटोको पक्षपोषणमा लागेर पार्टी सभापतिको जयजयकार गाउन थालिसकेका थिए । योग्यताको कुरा भाँडमा गयो ।
जब शिक्षकसँगको वार्ता सुरु भयो, प्रधानमन्त्रीले प्रश्न तेर्साए, तपाईंहरूले पढाएको विद्यालयमा विद्यार्थीको नतिजा कस्तो छ ? कति प्रतिशत उत्तीर्ण हुन्छन् ? तपाईंका छोराछोरी पढ्नलायक विद्यालय शिक्षा प्रदान गर्नुभएको छ ? तपाईंका सन्तान त्यही विद्यालयमा पढ्छन् ?
शिक्षकहरू नाजवाफ भएर एक–अर्काको मुखामुख गर्न थाले । एकछिन हलमा सन्नाटा छायो । त्यसपछि विपक्षी दलका कार्यकर्ता शिक्षकले मुख खोले— तपाईं र तपाईंको मन्त्री परिषद्, जनप्रतिनिधिका परिवारका सदस्य, आफन्त तपाईंको शासन पद्धतिमा विश्वास गरेर यही देशमा रहेका कति प्रतिशत छन् ? तपाईंले गरेको शासन पद्धतिमा तपाईंकै आफ्ना भनाउँदाले विश्वास गर्दैनन् र यो देशमै बस्दैनन् भने कसका लागिशासन गर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?
पुनः फेरि सन्नाटा छायो । शिक्षकका प्रतिनिधिको मुखमा चमक आयो भने प्रधानमन्त्री र सरकारका तर्फबाट सहभागीहरूको मुख कालो भयो ।
समयतिर ध्यान दिएर गिलासबाट तातो पानीसँगै औषधी खाँदै प्रधानमन्त्रीले सन्नाटा चिर्नुभयो— बाहिर भन्न मिल्दैन, हामी सबै उस्तै–उस्तै हौँ । कस्ता हौँ भन्ने छर्लङ्गै छ । हामी उस्तै–उस्तैको वार्ताबाट समाधान निकाल्ने कि साँच्चिकै जनपक्षीय निर्णय गर्ने त गुरुवर्गहरू ?
शिक्षक वर्गहरू, तपाईंहरू आफ्नो अध्यापनमा विश्वस्त भएर आफ्ना सन्तान र परिवारका सदस्यलाई सरकारी (सामुदायिक) विद्यालयमा पढाउन तयार हुनुहुन्छ नि ?
शिक्षक प्रतिनिधिहरूले तितो भए पनि जनपक्षीय निर्णय गरौँ न त भन्न थाले । अब पालो प्रधानमन्त्रीको थियो । हामीले हरेक क्षेत्रमा राजनीति घुसाएर शक्ति आर्जन गरेको साँचो हो । विद्यालयमा पनि तपाईं शिक्षकहरू एक–एक राजनीतिक पार्टीको एजेन्डा बोकेर काम गर्नुभएकै छ । तपाईंहरूलाई जोगाउनु हाम्रो कर्तव्य रहन्छ । तर हामीले राम्रालाई छाडेर हाम्रा छान्दै गर्दा, कुलमानहरूलाई खेदो खनेर लखेट्दै गर्दा पनि कार्यकर्ताबाट ताली थापिरहकै छौँ । यद्यपि आम नागरिकको माझमा जान सक्ने अवस्था छैन । आफ्ना नेता–कार्यकर्ता, समर्थक नभएको ठाउँमा मलाई नै धेरैचोटि लखेटेका दृष्टान्त छन् । अहिले भर्खरै पनि योग्यलाई भन्दा मालदार मान्छेलाई कानुनी छिद्र प्रयोग गरेरै भए पनि गभर्नर बनाउने सहमति गरियो । तर यो सब गर्दा भित्र–भित्र आत्मग्लानि भने अवश्य हुन्छ । तैपनि मेरा केटा–कार्यकर्ताको अगाडि फूर्ति त लगाउनैपर्छ, हौसला बढाउनैपर्छ !
अब यसो गरौँ, म अहिलेसम्म गरेका नकारात्मक कामबाट मुक्त हुन चाहन्छु । तपाईं शिक्षकका सबै माग पूरा गर्दछु तर एउटा सर्त छ । शिक्षक प्रतिनिधिले सोधे— के सर्त होला प्रधानमन्त्रीज्यू ?
प्रधानमन्त्रीले जवाफ फर्काउनुभयो ः पहिलो कुरा— अबको कानुनमा सरकारी (सामुदायिक) शिक्षकले अनिवार्य आफ्ना परिवारका सदस्यलाई सरकारी (सामुदायिक) विद्यालयमै पढाउनुपर्ने । सो नगरेको खण्डमा शिक्षक पदबाट स्वतः निष्कासन हुने ।
दोस्रो कुरा— राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्री, न्यायाधीश, विभिन्न आयोगका आयुक्त, सरकारी कर्मचारी, जनप्रतिनिधि बन्नका लागि आफ्ना परिवारका सदस्य यही देशमा अनिवार्य हुनुपर्ने । सो नभएको खण्डमा उक्त व्यक्तिले धारण गरेको पद, सरकारी सेवा–सुविधा स्वतः खारेज हुने । अब उपरान्त सरकारबाट सेवा–सुविधा प्राप्त गर्ने कुनै पनि निकाय वा जनप्रतिनिधिका व्यक्ति र परिवारका सदस्यले आफूले गर्ने शासन व्यवस्थामा विश्वास गर्नेछन् र ढुक्कले आफूले यही देशमा पसिना बहाउनेछन् । म र मेरो टिम आफ्नो शासन व्यवस्थामा पूर्ण विश्वस्त छौँ र हाम्रा परिवारका सदस्य यही देशमा रहनेछन् भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
शिक्षक वर्गहरू, तपाईंहरू आफ्नो अध्यापनमा विश्वस्त भएर आफ्ना सन्तान र परिवारका सदस्यलाई सरकारी (सामुदायिक) विद्यालयमा पढाउन तयार हुनुहुन्छ नि ?
फेरि सन्नाटा छायो । यसपटक त सरकारी टोली र शिक्षक टोली दुवैको मुहारको मुस्कान खोसिएको थियो ।
प्रधानमन्त्री थप्छन्— तपाईंहरू आफ्नो अध्यापनमा विश्वस्त हुनुहुन्न भने तपाईंहरूको माग जायज हो त ?
शिक्षक प्रतिनिधिहरूलाई प्रधानमन्त्रीसँग सवाल–जवाफ गर्ने कुनै शब्द रहेन । निःशब्द अनि निरीह शिक्षक देखेर प्रधानमन्त्री आफैँले मुख खोले— हो, हुनुपर्ने, गर्नुपर्ने यही थियो । न तपाईं यो गर्न सक्नुहुन्छ न म नै । भीड जम्मा गरेर शक्ति प्रदर्शन गर्नुलाई गर्व गर्दै आएको मलाई तपाईंहरूको आन्दोलन कुनै नौलो लागेको छैन र छुँदा पनि छुँदैन । मेरै केटाहरूको निजी विद्यालय छन्, तपाईंहरूकै पनि छन् भन्ने सुनेको छु, ती सुकाउन म दिउँला त ? सरकारी (सामुदायिक) विद्यालय राम्रो बनाएर ?
ढुक्क हुनुहोस्, म त्यसो गर्न कदापि दिनेछैन । मेरो पार्टी संगठनका मात्र आन्दोलन थियो भने माग पूरा गरिसक्ने थिएँ, तर अरु पार्टीकाले पनि फाइदा लिने देखिँदा मलाई यो आन्दोलनले नछोएको हो क्या ।
तपाईंहरू सडकमा आन्दोलन गर्दै गर्नु, निजी विद्यालयको सिट पूरा भएपछि केही मागमा सहमति गरेर आन्दोलन सकाउँदा कसो होला त गुरु वर्गहरू ?
शिक्षक प्रतिनिधिहरू पनि अक्क न बक्क भएर मौन समर्थन जनाएर पछि कुरा गरौँला भनेर निस्किए । निस्किँदा ट्रान्समिटर पड्किएको आवाजले मेरो निद्रा खुल्यो ।
यो सपना सपनामै सीमित होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम बजेटमै जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्छौँ : मुख्यमन्त्री आचार्य
-
गाजा–इजरायलबीच नयाँ युद्धविराम योजना प्रस्ताव
-
कक्षा १२ को परीक्षा सर्यो
-
एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ : लिङ्देन
-
नेपाल र भारतबिच ऊर्जा विकासका लागि सम्झौता
-
कश्मीरको पहलगाममा पर्यटकमाथि आतंकवादी हमला, १ जनाको मृत्यु, दर्जन बढी घाइते