मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : न्यायाधीश नियुक्ति

न्यायाधीश नियुक्ति सधैँ विवादित : संसदीय सुनुवाइ अन्त्य कि न्याय परिषद्कै पुनर्संरचना ?

मङ्गलबार, ०९ वैशाख २०८२, १० : ४६
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । नेपालको संविधान २०७२ ले न्यायपालिका स्वतन्त्र हुने दाबी गरेको छ । तर यथार्थमा भने त्यस्तो देखिँदैन । 

न्यायपालिका स्वतन्त्र र विश्वसनीय हुन नसकेको आरोप बारम्बार लागिरहन्छ । न्यायाधीश नियुक्तिमा दलीय भागबन्डा हुने गरेको आरोप त कैयौँपटक लागेको छ । न्यायाधीश हुन र पद जोगाउन राजनीतिको फेरो समात्नुपर्ने अवस्था नेपालको न्यायालयमा नौलो विषय होइन । 

यसैबिच नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ । उनले बारमै पत्रकार सम्मेलन गरी न्यायपरिषद्का अध्यक्ष (तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ) विरुद्ध अभिव्यक्ति दिएका थिए । उनले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा लेनदेन भएको दाबी गर्दै अभिव्यक्ति दिएका थिए । जुन न्यायिक क्षेत्रमा गम्भीर विषय हो । घिमिरेको उक्त अभिव्यक्तिविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा परेको थियो । 

न्याय परिषद्ले २०८१ असोज १ गते न्याय परिषद् नियमावली संशोधन गर्दै न्याय तथा कानुन सेवाबाट नियुक्त भएका न्यायाधीशको वरीयता माथि रहने प्रावधान कायम गरेसँगै बार आन्दोलित भएको थियो ।

आन्दोलनकै बिच न्यायाधीश नियुक्त गरिएपछि घिमिरेले उक्त अभिव्यक्ति दिएका थिए । यद्यपि यो न्याय परिषद्विरुद्ध पहिलो अभिव्यक्ति भने थिएन । 

पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले पनि एक पत्रिकामा अन्तर्वार्ता दिँदै न्यायपरिषद् न्यायाधीश पदको ‘दलाली गर्ने चौतारी’ भएको अभिव्यक्ति दिएका थिए ।

अवहेलना मुद्दा दायर भएपछि बारका पूर्वअध्यक्ष र उपत्यका बारका पदाधिकारीले घिमिरेको पक्षमा उभिने निर्णय गरेका थिए । २०८१ चैत २३ गतेको निर्वाचनमार्फत आएको बारको नयाँ नेतृत्वले पनि नियमावली संशोधन खारेजी र निवर्तमान अध्यक्ष घिमिरेमाथि लागेको अवहेलना मुद्दाको शीघ्र सुनुवाइका लागि पहल गर्ने बताएको छ । 

शनिबार पदभार ग्रहण गर्दै बारका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले निवर्तमान अध्यक्ष घिमिरेको मुद्दा बारले लड्ने बताए । आइतबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग शिष्टाचार भेट गर्दै बारको नयाँ पदाधिकारीले घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दा शीघ्र सुनुवाइ गर्न अनुरोध पनि गर्‍यो ।

बारले न्यायाधीश नियुक्तिमा प्रश्न उठाउँदै गर्दा पछिल्लो समय संविधान संशोधनको मुद्दालाई मुख्य एजेन्डा बनाएको छ । जसमा न्याय परिषद्को पुनर्संरचनादेखि न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइको अन्त्य गर्नुपर्ने विषय बारले उठाएको छ ।

हाल न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीशको अध्यक्षतामा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एक जना कानुनविद् र बारको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त वरिष्ठतम अधिवक्ता सदस्य रहने न्याय परिषद्ले सिफारिस गर्ने गरेको छ । 

संविधान संशोधन नै मूल एजेन्डा थियो । तर सरकार बनेको १० महिना भयो संविधान संशोधनको मुद्दा अन्ततः सेलाउँदै गयो । 

उक्त सिफारिसपश्चात् संसदीय सुनुवाइमार्फत सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुने प्रावधान छ । परिषद्मा प्रधानन्यायाधीश राउत नेतृत्वको परिषद्मा सदस्यहरू वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, कानुनमन्त्री अजयकुमार चौरसिया र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का र सदस्य सचिवका रूपमा यमबहादुर बुढामगर रहेका छन् ।

परिषद्को सिफारिसपश्चात् सर्वोच्चको न्यायाधीशका लागि संसदीय सुनुवाइ अनिवार्य छ । तर न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइ प्रक्रियामा आफैँमा न्यायपालिकामाथि नियन्त्रण थोपर्ने संयन्त्र बन्न पुगेको कानुन व्यवसायीहरूको निष्कर्ष छ । जसकारण संविधान संशोधन गरी संसदीय सुनुवाइको प्रावधान हटाउनुपर्ने बारको मुख्य एजेन्डा छ । 

२०८१ असार १७ गते संविधान संशोधनको मूल उद्देश्यसहित सरकारका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन भएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शक्तिशाली सरकार गठन भएको थियो । 

संविधान संशोधन नै मूल एजेन्डा थियो । तर सरकार बनेको १० महिना भयो संविधान संशोधनको मुद्दा अन्ततः सेलाउँदै गयो । 

संविधान संशोधन गर्न कार्यदल नबने पनि नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूको संयुक्त गठबन्धन बृहत् लोकतन्त्रवादी समावेशी कानुन व्यवसायीहरूको प्यानल नै बारको नेतृत्वमा आयो । संविधान संशोधनका लागि बारले अब महत्त्वपूर्ण पहलकदमी चाल्न सक्ने विश्वास कानुन व्यवसायीहरूको छ । 

बारको नयाँ नेतृत्वले अघिल्लो २०८१ जेठमा सम्पन्न नेपाल बार राष्ट्रिय सम्मेलनले संविधानको संशोधनको विषयमा दिशानिर्देश गरेका विषयलाई नै मुख्य एजेन्डा बनाइएको बारका महासचिव केदारप्रसाद कोइरालाले बताए । उनका अनुसार सम्मेलनले न्यायाधीश नियुक्तिमा अनिवार्य संसदीय सुनुवाइलाई संविधान संशोधनमार्फत हटाउनुपर्ने निष्कर्ष सम्मेलनले निकालेको थियो ।

राज्यकै एक अंग न्यायपरिषद्बाट न्यायाधीश सिफारिस गर्दा संसदीय सुनुवाइको अर्थ नहुने उनको भनाइ छ । कार्यकारीले न्यायाधीश नियुक्त गर्ने हो भने सुनुवाइ जरुरी भए पनि नियुक्त हुने न्यायाधीशलाई परिषद्ले हेरेर, छलफल गरेर, अनुसन्धान गरेर नियुक्तिका लागि सिफारिस गर्ने हुँदा संसदीय सुनुवाइको औचित्य नरहेको उनले बताए । ‘संविधान निर्माणको क्रममा संसदीय सुनुवाइ राख्नुपर्छ भन्नु हुनेले पनि यसमा पुनरवलोकन हुनुपर्छ भन्ने अवस्थामा आउनुभएको छ,’ उनले भने, ‘बारको बहुमत पनि संसदीय सुनुवाइको औचित्य छैन भन्ने नै छ ।’

न्याय परिषद्ले सिफारिस गरेको न्यायाधीशको नाम संसदीय सुनुवाइमा पठाउने प्रचलनले राजनीतिक अंकगणित हाबी भएको बताइन्छ । सुनुवाइका क्रममा राजनीतिक संसदीय सुनुवाइ समितिमा बहुमत दलको हित र पूर्वाग्रह हुने गरेको आरोप छ ।

अधिवक्ता चिरञ्जीवी खनाल संसदीय सुनुवाइ शक्ति पृथकीकरणको सिद्धान्तसँग मेल नै नखाने बताउँछन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलग अलग खण्डमा हुनुपर्ने र कार्यपालिका र व्यवस्थापिका मिसायो भने त्यहाँ कानुनको कार्यान्वयन सम्भव नहुने उनले बताए ।

पूर्वन्यायाधीश बलराम केसी भने न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइ चाहिने बताउँछन् । संसदीय सन्तुलन र पृथकीकरणका लागि संसदीय सुनुवाइ अभिन्न अंग हुने उनको बुझाइ छ ।

‘व्यवस्थापिकाले कानुन बनाउँछ कार्यपालिकाले कार्यान्वयन गर्छ । दुवै मिलिदिँदा वास्तविक रूपमा काम गर्ने वातावरण हुँदैन,’ उनले कानुन बनाउने र कार्यान्वयन गर्ने सम्पूर्ण न्यायिक प्रक्रियालाई हेर्ने न्यायपालिकाको काम भएको बताए ।

न्याय सम्पादन मात्रै नभई न्यायिक समीक्षा, न्यायिक पुनरवलोकन, न्यायिक सक्रियता र सम्पूर्ण प्रक्रियाको मूल्यांकन पनि न्यायपालिकाले गर्ने उनको भनाइ छ ।

‘कानुन र कानुन बनाउने सार्वभौम अधिकारलाई पनि न्यायपालिकाले हेर्छ । व्यवस्थापिकालाई यस्तो कानुन बनाउने अधिकार छैन, म खारेज गर्छु भन्ने सम्म अधिकार छ । नियुक्तिमा संसद्मा लगेर सुनुवाइ गर्दा घर घर धाउने नातागोता खोज्ने, अनुचित प्रभाव पार्ने, गलत कार्यकलाप प्रोत्साहन गर्नेलगायत हुने हुँदा संसदीय सुनुवाइ प्रक्रिया नै गलत छ,’ उनले भने ।

उनले न्याय परिषद्को संरचना पनि बदल्नपर्ने उनले तर्क गरे । 

पूर्वन्यायाधीश बलराम केसी भने न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइ चाहिने बताउँछन् । संसदीय सन्तुलन र पृथकीकरणका लागि संसदीय सुनुवाइ अभिन्न अंग हुने उनको बुझाइ छ । इमानदार, दृढ, आँट भएको मान्छेले संसदीय सुनुवाइ अस्वीकार नगर्ने उनी बताउँछन् । परिषद्को सिफारिसमा शंका व्यक्त गर्दै नियुक्ति गर्ने मान्छेले स्वार्थी भएर नियुक्त गरेको छ भने त्यसलाई रोक्न संसदीय सुनुवाइ चाहिने उनले बताए ।

यस्तै बारका अध्यक्ष विजयप्रसाद मिश्र पनि संविधान संशोधन आजको मुख्य एजेन्डा भएकाले न्याय परिषद्को पुनर्संरचना, न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्को सदस्यमा नरहने गरी संविधान संशोधन गर्न आवश्यक रहने बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप