एकअर्कालाई हराउँदै प्ले–अफ चरणको यात्रा सहज बनाउने धुनमा दिल्ली र लखनउ

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा मंगलबार लखनउ सुपर जायन्ट्सले बलियो प्रतिद्वन्द्वी दिल्ली क्यापिटल्सको सामना गर्दैछ । खेल लखनउस्थित एकाना क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४०औँ खेल हो । यो सिजन दिल्ली र लखनउ दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । दिल्ली क्यापिटल्सले आफ्नो आठौँ र लखनउ सुपर जायन्ट्सले आफ्नो नवौँ खेल खेल्न लागेका हुन् ।
यी दुवै टोलीले जारी सिजनको आईपीएलमा गतिलो प्रदर्शन गर्दै आएका छन् । दुवै टोलीको प्ले–अफ चरणमा पुग्ने सम्भावना बलियो देखिन्छ । दिल्ली र लखनउ दुवैले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन् । त्यसैले यो सिजन यी दुवै टोली पहिलो उपाधिको खोजीमा छन् ।
यो सिजन यी दुवै टोलीसँग एउटा रमाइलो संयोग पनि जोडिएको छ । १८औँ संस्करणमा यी दुवै क्लबका दुई प्रभावशाली खेलाडी आफ्नै पूर्वटोलीविरुद्ध मैदानमा ओर्लने छन् । अघिल्लो सिजन ऋषभ पन्त दिल्ली र केएल राहुल लखनउमा थिए ।
तर, १८औँ संस्करणमा ऋषभ पन्त लखनउमा र केएल राहुल दिल्लीमा आबद्ध छन् । मेगा अक्सनमा ऋषभ पन्तलाई लखनउले २७ करोड भारतीय रुपैयाँमा खरिद गरेको हो । आईपीएलको इतिहासमै ऋषभ सबैभन्दा महँगा खेलाडी हुन् । केएल राहुललाई भने दिल्लीले मेगा अक्सनमा १४ करोड भारतीय रुपैयाँमा खरिद गरेको हो ।
- लयमा छन् दुवै टोली
आईपीएलको जारी सिजनमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स दुवै टोली लयमा देखिएका छन् । दिल्लीले आफ्नो आठौँ र लखनउले आफ्नो नवौँ खेल खेल्न लागेका हुन् । तालिकामा १० अंकसहित दिल्ली दोस्रो र समान अंक बटुलेको लखनउ पाँचौँ स्थानमा छन् ।
दिल्लीले यसअघि खेलिएको सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । लखनउले भने आठमध्ये पाँच खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । त्यसैले प्ले–अफ चरणको यात्रामा दिल्लीभन्दा लखनउ केही कमजोर देखिन्छ ।
- अघिल्लो भिडन्तमा दिल्लीको जित
जारी सिजनको आईपीएलमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि मार्च २४ तारिखमा यी दुई टोलीबिच भिडन्त भएको थियो । त्यो खेलमा दिल्लीले लखनउमाथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।
विसाखापट्टनममा खेलिएको उक्त खेलमा टस हारी ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित ओभरमा आठ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दिल्लीले १९.३ ओभरमा नौ विकेट गुमाएर २ सय ११ रन बनाउँदै लक्ष्य पार गरेको थियो ।
लखनउका लागि मिचेल मार्सले ७२ र निकोलस पुरनले ७५ रन बनाएका थिए । दिल्लीका बलर मिचेल स्टार्कले तीन र कुलदीप यादवले दुई विकेट लिएका थिए ।
दिल्लीका लागि आशुतोष शर्माले अविजित ६६, विपराज निगमले ३९ र ट्रिस्टन स्टब्सले ३४ रन बनाएका थिए । लखनउका बलर सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्वेश राठी र रवि बिस्नोईले दुई–दुई विकेट हात पारेका थिए ।
- हेड टु हेडमा बराबर
आईपीएलमा हालसम्म दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबिच कुल ६ खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा दिल्ली र तीन खेलमा लखनउ विजयी भएका छन् । यी दुई टोलीबिचको पछिल्लो खेलमा भने दिल्ली विजयी भएको थियो । त्यसैले मंगलबार लखउनको टोली दिल्लीसँग सोही हारको बदला लिने धुनमा रहनेछ ।
- लखनउको सर्वाधिक रन पुरनको नाममा
जारी सिजनको आईपीएलमा लखनउ सुपर जायन्ट्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान निकोलस पुरन हुन् । उनले हालसम्म आठ खेलमा कुल तीन सय ६८ रन बनाएका छन् । उनी जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि दोस्रो स्थानमा छन् ।
पुरनको स्ट्राइक रेट दुई सयभन्दा बढी रहेको छ । उनले चारवटा अर्धशतक पनि प्रहार गरेका छन् । टोलीका लागि कप्तान ऋषभ पन्त भने खासै चल्न सकेका छैनन् । लखउनका लागि यो चिन्ताको विषय हो ।
ऋषभले हालसम्म आठ खेलमा कुल एक सय ६ रनमात्र बनाउन सकेका छन् । लखउनका लागि सर्वाधिक विकेट लिने बलर शार्दुल ठाकुर हुन् । उनले १२ विकेट लिइसकेका छन् । टोलीमा दिग्वेश राठी, रवि बिस्नोई, आवेश खानजस्ता प्रभावशाली बलर पनि छन् ।
- दिल्लीलाई कुलदीप र राहुलको आश
आईपीएलको जारी संस्करणमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक विकेट लिने बलर कुलदीप यादव हुन् । प्रभावशाली स्पिनर कुलदीपले हालसम्म १२ विकेट लिइसकेका छन् । टोलीमा मिचेल स्टार्क, विपराज निगम, मुकेश कुमारजस्ता क्षमतावान् बलरहरू पनि छन् ।
कप्तान अक्षर पटेल भने बलिङमा खासै चल्न सकेका छैनन् । उनले हालसम्म एक विकेटमात्र लिएका छन् । तर, उनको ब्याटिङ भने औसत देखिएको छ । उनले एक सय ५९ को स्ट्राइक रेटमा कुल एक सय ४० रन बनाएका छन् । दिल्लीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् ।
राहुलले हालसम्म ६ खेलमा कुल दुई सय ६६ रन बनाएका छन् । उनले दुईवटा अर्धशतक पनि बनाएका छन् । ओपनर ब्याट्सम्यानहरू भने खासै जम्न सकेका छैनन् । दिल्लीले फाफ डु प्लेसिस, ज्याक फ्रेजर म्याकगर्क, अभिषेक पोरेल र करुण नायरलाई ओपनरका रूपमा प्रयोग गरिसकेको छ ।
- ब्याट्सम्यानका लागि उपयुक्त पिच
दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबिच मंगलबारको खेल हुने एकाना स्टेडियमको पिच खासगरी ब्याट्सम्यानहरूका लागि उपयुक्त मानिन्छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल १८ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले आठ र जवाफी ब्याटिङ गर्ने टोलीले नौ खेल जितेका छन् । एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।
लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबिच खेल हुने दिन मंगलबार लखनउमा वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चर्को गर्मी खेलाडीका लागि समस्याको विषय बन्न सक्छ । तापक्रम २७ देखि ४० डिग्री सेल्सियसको बिचमा रहने छ ।
- सम्भावित टोली
लखनउ सुपर जायन्ट्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), एडेन मार्क्रम, मिचेल मार्श, निकोलस पुरन, आयुष बडोनी, अब्दुल समाद, डेभिड मिल्लर, शार्दुल ठाकुर, आवेश खान, दिग्वेशसिंह राठी, रवि बिस्नोई र पिन्स यादव ।
दिल्ली क्यापिटल्स : अक्षर पटेल (कप्तान), अभिषेक पोरेल, करुण नायर, केएल राहुल (विकेटकिपर), ट्रिस्टन स्टब्स, आशुतोष शर्मा, विपराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, मुकेश कुमार र डोनोभन फरेरा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ