मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकार ! एउटा प्रेम अदालत गठन गर् !

सोमबार, ०८ वैशाख २०८२, १९ : २५
सोमबार, ०८ वैशाख २०८२

भनिन्छ, इतिहासका कतिपय ठुल्ठुला युद्ध र अपराधका घटनापछाडि प्रेम वा यौन कारक रुपमा थिए । अहिले समाजमा देखिने अधिकांश अपराधका घटनापछाडि पनि प्रेम वा सम्बन्ध कारक रुपमा देखिन्छन् । आज अपराधका मुख्य कारणहरू खोतल्दै जाँदा पिँधमा आउँछन्— प्रेम र पैसा ।

श्रीमान्–श्रीमती वा प्रेमी–प्रेमिका बिचको प्रेममा घृणा र असमझदारी किन उत्पन्न हुन पुग्छ ? यही मूलभूत प्रश्न लिएर उनी अदालतको ढोकामा आइन् र मसँग ठोक्किइन् । 
सधैँ मेरो टेबलमा दर्ताका लागि आउने अदालती लिखत, निवेदन र सेवाग्राहीका गुनासाभन्दा केही भिन्न फिरादसहित उनी उपस्थित थिइन् । कानुनका दफा र ‘ड्यु प्रोसेस’ हेरेर दर्ता र दरपिठ गर्न टेक्ने कुनै आधार भेटिनँ मैले उनको फिरादमा । तर आफ्नो लोग्नेप्रतिको उनको प्रेम अजीव र अगाध रहेछ । उनको कुरा सुन्दा लाग्थ्यो— लोग्ने–स्वास्नी बिचको वा प्रेमी–प्रेमिका बिचको झगडा हेर्ने छुट्टै अदालत होस् । त्यो सम्भव होला वा नहोला, तर यहाँ उनको फिरादसँगै उनी नै भएर बहकिन मन भयो मलाई । 

प्रिय बुढो ! मैले तिमीलाई भगवान्कै स्थान दिएर सिउँदोमा सजाएकी छु । धार्मिक, सांस्कृतिक, नैतिक, आत्मिक— सबै रूपमा तिमीलाई स्वीकार गरेकी छु । मेरो प्रेमले तिमीलाई बाँधेको महसुस झुक्किएर पनि नगर्नु । कसैको स्वतन्त्रता र खुसीको कदर गर्नु नै ऊप्रतिको प्रेम हो भन्ने लाग्छ । हाम्रा दुई सन्तानलाई जन्माउन सकिनँ र खेर गए । एकपछि अर्को बच्चा खेर गएपछि दोष मेरै कोखको देखिने नै भयो । मेरो कोखको औषधि–उपचार हुँदो हो तर तिमीले त्यहाँसम्मको धैर्य लिएनौँ । जेहोस्, म आमा नहुने भएँ । तिमीलाई दिल र दिमागमा सजाए पनि तिम्री पत्नी रहिरहन नपाउने भएँ । 

जिल्ला अदालतमा तिमीले मागेको सम्बन्ध–विच्छेदको फिरादमा दाबी नपुग्ने फैसला भयो, त्यसपछि तिमी उच्च अदालतमा पुनरावेदन गयौ, सुरु सदर भएको छ । अदालतले हामीलाई कागजी रुपमा छुट्टाउला, तर तिमीप्रतिको मेरो प्रेम र सम्मानलाई अदालतको आदेश वा फैसलाले छुट्ट्याउँछ ! मैले तिमीलाई त्यति कमजोर प्रेम पनि गरेकी छैन प्रिय । प्रेम हुँदो रहेछ त म के गरुँ ! 

तिमी चाहन्छौ त तोड सम्बन्ध, यसमा मेरो सहृदय सहमति छ तर म ‘वान म्यान वुमेन’ हुँ । मेरो घर, वन, जीवन र मरण तिमी नै हौ । तिमी मलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाई अर्को कुनै गन्तव्यतर्फ उडान भर्दै छौ । यद्यपि तिमी कुनै दिन मेरै छातीमा ‘ल्यान्ड’ हुनेछौ भन्ने मेरो झुटो विश्वास छ । 

प्रिय बुढो ! तिमी मदेखि छुट्टिन खोज्दै छौ र म यति पीडामा छु, जति पीडा जन्मन नसकेका हाम्रा दुई सन्तान खेर जाँदा समेत भएको थिएन । 

त्यतिबेला निर्धक्क भएर तिमीले मेरोअगाडि आफ्नी प्रेमिकाको प्रशंसा गरेका थियौ—  ऊ सरकारी जागिरे छे, एभरेज छ, त्यस्तो खास ट्यालेन्ट त होइन तर दुःख बुझ्न सक्छे । घरमा बच्चा पनि हुन्छन्, उसको परिवारले सहमति दिएपछि बिहे गर्छु । 

जिल्ला अदालतमा तिमीले मागेको सम्बन्ध–विच्छेदको फिरादमा दाबी नपुग्ने फैसला भयो, त्यसपछि तिमी उच्च अदालतमा पुनरावेदन गयौ, सुरु सदर भएको छ । अदालतले हामीलाई कागजी रुपमा छुट्टाउला, तर तिमीप्रतिको मेरो प्रेम र सम्मानलाई अदालतको आदेश वा फैसलाले छुट्ट्याउँछ !

तिमीले यति भनिसक्दा–नसक्दा म भक्कानिएर रुँदै तिमीलाई सोध्छु— बुढो, मलाई चैँ अब कसरी माया गर्छौं ? मसँग पाउने सबै कुरा उसैसँग पाइहाल्छौ अनि मेरो त कुनै स्थान नै हुँदैन होला है... ! आफूले भन्न खोजेको वाक्य पूरा हुँदा नहुँदै मेरो घाँटी अवरुद्ध भयो र नियन्त्रण गुमाएर डाँको छाडेर रोएँ, तिम्रै काँधमा । तिम्रो जवाफ आउँछ— कस्ती लाटी रहिछे, तिम्रो स्थानमा तिमी हुन्छौ, उसको स्थानमा ऊ । तिमीलाई माया त गरिहाल्छु नि ! अहिलेजस्तो अलि नहोला, परिस्थिति फरक होला तर तिमीलाई पनि माया गर्छु ।

बुझेकी छु, तिमीलाई छोराछोरी अनि घरमा आमा–बालाई नाति–नातिनी चाहिएको छ । तिम्रो चाहना पूरा गर्ने धेरै उपाय छन् आजको जमानामा । तर तिमी उही प्रेमिकाको कुरा गर्छौ । विवाह संस्थालाई संस्थागत गर्दै आएको सभ्यताको इतिहासलाई सोध— अन्य कुरा यथावत रहेको अवस्थामा एउटी स्त्रीका लागि सौताभन्दा ठुलो दुःख अर्को थिएन । 

खैर, म तिमीलाई अथाह प्रेम गर्छु । तिम्रो खुसीका लागि सबै त्याग्न तयार छु, सिर्फ तिमीबाहेक । एउटा बच्चा खेर गएदेखि नै तिमीले मलाई भन्दा अर्कैैलाई मन दिन थालेछौ । मप्रतिको तिम्रो बोली–व्यवहार बदलियो । व्यवहार दुर्व्यवहारमा र बोली गोलीमा परिणत हुन थाले । शारीरिक र मानसिक रुपमा मलाई दुखाएर तिमी खुसी हुन थाल्यौ । मलाई अगाडि देख्यौ भने पनि तिमीलाई दुख्थ्यो, रिस उठ्थ्यो, घृणा जाग्थ्यो । तैपनि मैले सहेकै थिएँ । तिम्रो मन फर्केला, दुवैले स्विकार्ने कुनै उपाय निस्केला भन्ने आशामा थिएँ म । संयोगले भेटिएका हामी दुई खोला, एउटै नदी भएर बग्न चाहन्थेँ तर तिमीले दुई किनारा बन्न चाह्यौ । 

म त तिम्रो बैँस बिसाउने चौतारी मात्रै रहेछु, अझै भन्नुपर्दा म त तिम्रो वीर्यनाल पो भएँछु । म आफूमै कमजोरी देख्न थालेँ । लाग्यो, मसँग अघायौ तिमी । खोजे र रोजेजस्तै नयाँ प्रेमिका पाइसक्यौ तिमीले । सायद डुंगा पायौँ र लाठी बिर्सियौ । तिमीले प्रेमिका पायौ वा बनायौ, यसमा पनि मेरो त्यति धेरै ईष्र्या र अवरोध थिएन । तर तिमीले मेरो प्रेमलाई, मेरो मनलाई, मेरो भावनालाई कुल्चियौ । 

कुनै दिन थिए— सुस्तरी अँगालोमा बेरेर चुम्थ्यौ मलाई तिमीले । आज तिम्रा शब्द–शब्दले मलाई चिथोर्छन् । फेरि पनि तिमीप्रतिको मेरो प्रेम मरिसकेको छैन । एक अर्थमा मनमा उब्जेको भावना न हो प्रेम भन्नु पनि, भोलि मर्छ होला तर आज तिमीलाई प्रेम गर्छु । यो प्रेमलाई मलजल गर्ने दायित्व तिमीले किन उठाउँदैनौँ !  

सम्झन्छु, एक दिन तिमीले मलाई अधुरो छाडेर हिँड्यौँ । मेरो मनमा धेरै कुरा खेले — अब तिमीले मबाट तृप्ति समेत नपाउने भयौ, अर्कै तृप्तिले तिमीलाई तानिसक्यो । म यति भड्किएँ, तिमीलाई आशक्त राख्न र तृप्त पार्न नसक्ने यो तनको के काम ! यसलाई टुंग्याइदिउँ जस्तो पनि लागेको थियो । त्यही बेला तिम्रो म्यासेज आयो— सरी माया, तिमीलाई आज हतारमा छाडेर आएँ । एउटा ‘सरी’ शब्दले मलाई सायद भिरबाट खस्नदेखि रोक्यो । 

प्रिय ! अझै पनि मप्रतिको तिम्रा बोली–व्यवहार, रिस–आवेग सारा बालहठझैँ लाग्छ । तिम्रो रिस थामिन्छ र तिमी मेरै छाती वा आलिंगनमा आउँछौँ भन्ने विश्वास अझै टुटेको छैन । 
सुनेको थिएँ, बुढाबुढीको सम्बन्ध भनेको विचार र स्वार्थको सन्तुलन हो । लाग्थ्यो, प्रेमले जगत् अडिएको छ अरु तपसिलका विषय हुन् । अहिले त दुनियाँ नै भ्रम लागिरहेको छ । 
मेरो बुढो ! तिमीलाई याद होला, तिम्रो स्वास्थ्य र दीर्घायुका लागि कति व्रत बसेँ । तिमीसँगै खाना खान कति साँझ पर्खिरहेँ । प्रायः तिमी उसैसँग डेटिङमा हुन्थ्यौ, तर एउटा म्यासेज गरेर ‘खाना खाउ माया, मलाई ढिला हुन्छ’ भन्न सक्दैनथ्यौ । त्यतिबेलै मैले बुझ्न सक्नुपथ्र्यो, आफ्नो स्थान । कति घातक रहेछ यो प्रेम, यसको धारले आफैँलाई रेटिरहेछ तर रति घट्दैन । 
(लेखक जिल्ला अदालत भक्तपुरमा कार्यरत अधिकृत तथा सूचना अधिकारी हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हिराकुमारी भण्डारी
हिराकुमारी भण्डारी
लेखकबाट थप