ज्ञानेन्द्रका तर्फबाट गोकर्ण र कृष्णगोपालले लगेका थिए माधवसमक्ष प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ । नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट आफूलाई उनको प्रत्यक्ष शासनमा प्रधानमन्त्री बन्न पटक–पटक प्रस्ताव आएको तर आफूले ठाडै अस्वीकार गरेको बताएका छन् ।
संसद विघटन गरेर तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव पठाए पनि उनको निगाहमा प्राप्त हुने पद ठाडै अस्वीकार गरेको नेपालको भनाइ छ । नेकपा एमालेका तत्कालीन महासचिवका रूपमा आफूलाई ज्ञानेन्द्रले प्रधानमन्त्रीमा प्रस्ताव गरेको उनले बताए ।
‘जनताले आफ्नो सार्वभौमसत्ता दुई किसिमले प्रयोग गर्छन् । एउटा लिगल सोभरेन्टी, जो संसद्को माध्यमबाट हुन्छ । अर्को पोलिटिकल सोभरेन्टी’, अध्यक्ष नेपालले रातोपाटीसँग भने, ‘मैले राजाको आदेश र निगाहमा बन्ने प्रधानमन्त्री खान स्वीकार्य छैन भनेँ ।’
२०६३ साल वैशाख ८ र ११ गते राजाका हैसियतले गरेको ज्ञानेन्द्र शाहको सम्बोधन र त्यसअघि भएका राजनीतिक घटनाक्रमका बारेमा कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले आफू त्यसवेला राजनीतिक दलहरूको बैठकबाट निर्णय गरेर दलकै सिफारिसमा मात्र प्रधानमन्त्री बन्न तयार भएको प्रस्ट पारे ।
२०५९ साल असोज १८ मा ज्ञानेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेका थिए । त्यसपछि आफूलाई प्रधानमन्त्रीको अफरसहित तत्कालीन नेपाली सेनाका प्रधानसेनापति, केही व्यापारी, केही आफ्नै पार्टीका नेतासमेत ज्ञानेन्द्रका तर्फबाट प्रस्ताव लिएर आएको नेपालको दाबी छ ।
- क–कसले गरे प्रधानमन्त्रीको प्रस्ताव ?
‘त्यो बेलाका नेपाली सेनाका प्रमुख प्याराजंग थापाले राजाका तर्फबाट प्रधानमन्त्रीको प्रस्ताव लिएर आएका थिए । त्यसैगरी वीरेन्द्र बस्नेतको सम्पर्कबाट गोकर्ण विष्ट (हाल एमाले सचिव) समेत आउनुभएको थियो’, नेपालले भने ।
तेस्रो प्रस्ताव राजाका तर्फबाट डा. डिल्ली खनालमार्फत आएको नेपालको भनाइ छ । त्यतिबेला डिल्ली खनाल दम्पतीसहित अर्घाखाँचीका दुमन थापा एक साथ आफूकहाँ प्रस्ताव लिएर आएको उनले बताए ।
तर नेपाललाई ज्ञानेन्द्रले विभिन्न सूत्रमार्फत प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र माधवले ज्ञानेन्द्र अनुकूलको प्रस्ताव अस्वीकार गरी दलहरूकै सहमतिमा बन्ने चाहना राखे पनि अन्ततः उनी ज्ञानेन्द्रको रोजाइमा भने पर्न सकेनन् । ‘सम्भवतः मलाई बदनाम गर्ने प्रयासस्वरुप त्यसरी प्रस्ताव गरिएको थियो’, त्यसवेलाका घटनाक्रम सम्झदै नेपालले भने, ‘मेरो राजनीतिक छवि स्खलित गर्न खोजिएको थियो ।’
नेपालले त्यसवेला प्रधानमन्त्रीका लागि आफूले निवेदन दिएको भने स्वीकार गरे । ‘मैले दाबाका साथ निवेदन दिएको हुँ, आग्रह गरेको होइन’, उनले भने ।
आफूले दिएको निवेदनमा ‘राजाको जो निगाह’ नभनेको नेपालको दाबी छ । उनले भने, ‘राजनीतिक दलहरूको सिफारिसका आधारमा त्यसो गरेको हो । गिरीजाबाबुले मलाई तपाईं प्रधानमन्त्रीमा दाबा गर्नुस् भन्नुभएको थियो ।’
त्यसो त देउवा सरकार अपदस्थ गरेपछि सात दलको बैठक कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा बसेको थियो ।
‘देउवा सरकार हटिसकेपछि बन्ने सरकारमा को प्रधानमन्त्री हुने भनेर गिरिजाबाबुले प्रस्ताव राख्नुभयो’, नेपालले भने, ‘बैठकले अबको प्रधानमन्त्री माधवकुमार नेपाल हुनुपर्छ भनेर पास गर्यो ।’
उनले त्यो बैठकमा तत्कालीन जनमोर्चाका अमिक शेरचन सद्भावनाका भरतविमल यादव, संयुक्त वाममोर्चाका तर्फबाट प्रभुनारायण चौधरी लगायत रहेको सुनाए । ‘त्यही बेलामा हामीलाई ज्ञानेन्द्र शाहले दरबारमा भेट्न बोलाएका थिए । ज्ञानेन्द्रले भेट्न बोलाइसकेपछि हामी दरबार जाने भयौँ’, नेता नेपालले स्मरण गरे, ‘जाने बेलामा कांग्रेसका चक्र बास्तोलाले मलाई भन्नुभयो– माधवबाबु ! तपाईं प्रधानमन्त्री हुने हो भने पहिलो काम तपाईंले प्रतिनिधि सभाको पुनर्बहाली गर्नुपर्छ ।’
बास्तोलाले यति भनेपछि नेपालले आफू कसैको सर्त नस्वीकार्ने जवाफ दिएको बताए ।
नेता नेपालले २०६२/०६३ को आन्दोलन उत्कर्षमा पुग्दै गर्दा बेबी किङको प्रस्तावसमेत आएको बताए । त्यसरी राजाका तर्फबाट बेबी किङको प्रस्ताव लिएर भारतीयहरू आएको नेपालको भनाइ छ । ‘त्यो प्रस्ताव पनि मैले अस्वीकार गर्दिएँ, सम्भव छैन भनेँ,’ उनले भने ।
आफूले त्यो प्रस्ताव अस्वीकार गरेपछि ती भारतीयले कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासमक्ष उक्त प्रस्ताव लगेको नेपालको भनाइ छ । ‘त्यो प्रस्तावमा उहाँहरू (गिरिजाबाबु र शेरबहादुर) कताकता सफ्ट हुनुभयो’, नेपालले भने, ‘मलाई त्यो बेलामा प्रदीप गिरीजीले फोन गरेर भन्नुभयो– माधवजी हाम्रा नेताहरूले बर्बाद गर्ने भए । अब यो आन्दोलन तपाईंले नै जोगाउनुपर्छ । तपाईं बाहेक कसैले बर्बादी रोक्न सक्ने स्थिति छैन ।’
त्यसपछि आफू पूरै सजग भएको नेपालले सुनाए । ‘वैशाख ८ गते जब ज्ञानेन्द्रले वक्तव्य निकाले, त्यसको समर्थनका लागि मलाई चार देशका राजदूतले फोन गरे’, उनले भने, ‘फोन गर्ने राजदूत नर्वे, भारत, अमेरिका र ब्रिटेनसहितका थिए । मैले चार वटै राजदूतलाई नो भन्दिएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनि एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै
-
पालिकामा भएको बहुमुखी सहकारी संस्थामा पनि ८५ लाख बढी हिनामिना
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा