बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

एसियन कप छनोटलाई ध्यानमा राखी महिला टोलीको प्रमुख प्रशिक्षक खोज्दै एन्फा

सोमबार, ०८ वैशाख २०८२, १३ : १०
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकका लागि सोमबार आवेदन खुला गरेको छ । एन्फाले महिला राष्ट्रिय टोलीका लागि पहिलोपटक प्रो–लाइसेन्स प्रशिक्षक माग गरेको हो । 

एन्फाले केही निश्चित मापदण्डको अनिवार्यतासहित राष्ट्रिय महिला टोलीको प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । प्रशिक्षकका लागि आवेदन दिने व्यक्तिले यसअघि पनि सिनियर महिला टोलीको जिम्मेवारी सम्हालिसकेको वा युवा राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेको हुनुपर्नेछ । 

यसैगरी, कम्तीमा दुई वर्षको अनुभव भएको र ट्र्याक रेकर्ड पनि राम्रो भएको हुनुपर्ने आवेदनमा उल्लेख गरिएको छ । एन्फाले सन् २०२६ को एएफसी महिला एसियन कप छनोट प्रतियोगितालाई ध्यानमा राखी प्रशिक्षकको आवेदन खुलाएको हो । 

छनोट प्रतियोगिता आगामी जुन २३ देखि जुलाई ५ तारिखसम्म आयोजना हुँदैछ । छनोट प्रतियोगिताका लागि एएफसीले सार्वजनिक गरेको खेलतालिका अनुसार, नेपाली टोलीले आफ्नो पहिलो खेल जुन २९ तारिखमा लाओससँग खेल्नेछ । 

छनोट प्रतियोगिताको समूह ‘एफ’ मा नेपाल र लाओससँगै उज्बेकिस्तान र श्रीलंका पनि रहेका छन् । यो समूहको सबै खेल उज्बेकिस्तानमा खेलिने छ । छनोट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल जुलाई २ तारिखमा श्रीलंकासँग र तेस्रो खेल जुलाई ५ तारिखमा उज्बेकिस्तानसँग खेल्नेछ । 

समूहको पहिलो स्थानमा रहने टोलीले सन् २०२६ को मार्च १ देखि २१ तारिखसम्म अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कपमा स्थान पक्का गर्ने प्रावधान छ । एन्फाले महिला राष्ट्रिय टोलीका लागि प्रशिक्षकसँगै एकजना परफरमेन्स एनालिष्ट पनि माग गरेको छ । यी दुवै पदमा आवेदन गर्न एन्फाले ३० दिनको समय तोकेको छ ।

492537022_984272253865260_8513537523590195840_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप