बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : कर्णालीका विमानस्थल

‘चिलगाडी’ चढ्न नपाएरै मरिन्छ कि क्या हो !

सोमबार, ०८ वैशाख २०८२, १० : १२
सोमबार, ०८ वैशाख २०८२

पहिला–पहिला हवाईजहाज भन्न पनि जान्दैनथ्यौँ हामी । आकाशमा चिलजस्तै उड्ने भएकाले होला– हामी त्यसलाई ‘चिलगाडी’ भन्थ्यौँ । आकाशमा उडेको देखिने त्यही ‘चिलगाडी’ हाम्रै गाउँमा पनि आउने भयो भनेर युवा अवस्थामै मैले सुनेको हुँ ।

यो ०४२ सालतिरको कुरा हो सायद । त्यतिबेला अहिलेको कर्णाली राजमार्ग पनि बनेको थिएन । राजमार्ग नै नबनेको हुनाले हामीले त्योवेला गाडी पनि देखेका थिएनौँ । हाम्रा गाउँका मान्छेहरू पैदल नै गन्तव्यमा जानु पर्दथ्यो । गाडी नै देख्न नपाएको ठाउँमा ‘चिलगाडी’ आउने भनेपछि हामी अचम्ममा पर्‍यौँ ।

सबैमा कौतुहलता जागेको थियो । चिलगाडी कस्तो हुन्छ होला ? कसरी उड्छ होला ? त्यसभित्र कसरी बसेर यात्रा गर्ने होला भन्ने खालको उत्सुकता थियो । गाडी चढ्नुभन्दा पहिला नै चिलगाडी चढ्ने भयौँ भन्ने लाग्थ्यो । चिलगाडी बस्ने ठाउँ बनाउने काम सुरु गर्नका लागि त्योवेला जिल्लाबाट दीप बहादुर शाही, पञ्चायत सदस्य अविलाल विष्ट, गाउँ पञ्चायतका सबै जम्मा भए ।

आफ्नै गाउँठाउँमा ‘चिलगाडी’ आउने भयो भनेर हामी निकै खुसी थियौँ । पछि ०५१ मा विमानस्थल निर्माण ठेक्कामा गयो । ०५७ सालमा पनि फेरि ठेक्का भयो । ०६२/०६३ सालमा उपभोक्ता समितिबाट काम भयो । ०५१ सालमा हामी पनि विमानस्थल निर्माणको काम गर्नका लागि गयौँ । त्यहाँ माटोको ढिस्कोमा पुरिएर गाउँका केही मान्छे पनि मरे । पछि युद्धकालमा त्योवेलाको शाही नेपाली सेनाले माओवादी भनेर काम गर्ने मान्छे मारेर त्यहाँ गाडिदियो ।

बरु ६० सालपछि कर्णाली राजमार्ग बन्यो । गाडी चल्न सुरु भए । यहाँका मान्छेले नेतालाई छिटो ‘चिलगाडी’ ल्याउन पटक–पटक भने । निवेदन लेखेर दिए तर पनि आएन ।

विमानस्थल बन्दैछ भन्ने कुराले एक मनमा खुसी भए पनि अर्को मनमा निकै दुःख लाग्यो । काम गरिरहेका मान्छेले ज्यान गुमाए । हामीले त्यो कोटबाडमा फिल्ड खन्यौँ । पछि थाहा भयो, यसलाई त विमानस्थल भन्ने रहेछन् । हामी त ‘चिलगाडी’ बस्ने फिल्ड भन्ने गर्थ्यौँ । त्यसको नाम विमानस्थल हो भन्ने कुरा पछिमात्र बुझियो । माओवादी शान्ति प्रक्रियामा आएपछि हाम्रा छोराछोरी पनि विमानस्थल निर्माणका लागि माटो बोक्न गए । २० वर्ष भइसक्यो तर यहाँ अझै ‘चिलगाडी’ आएन ।

बरु ६० सालपछि कर्णाली राजमार्ग बन्यो । गाडी चल्न सुरु भए । यहाँका मान्छेले नेतालाई छिटो ‘चिलगाडी’ ल्याउन पटक–पटक भने । निवेदन लेखेर दिए तर पनि आएन । हाम्रा छोराछोरी अहिले पढे–लेखेर कोही सुर्खेत छन्, कोही बाहिर छन् तर चिलगाडी चढ्ने मौका अझै पाएनौँ । पहिला त चिलगाडी देख्नु पाउनु हाम्रा लागि ठुलो कुरा थियो ।

०७२ सालमा हो, एक पटक ‘चिलगाडी’ आयो । सबै मान्छे हेर्न गयौँ तर चढ्न पाएनौँ । त्यसपछि थाहा भयो ‘चिलगाडी’लाई ‘प्लेन’ भन्ने रहेछन् । ०७२ सालमा पहिलो पटक आएको थियो प्लेन, दोस्रो पटक आउन ०८० सालसम्म कुर्नुपर्‍यो । ०८० को फागुन महिनामा प्लेन आयो । गाउँका सबैजसो मान्छे उर्लिएर प्लेन हेर्न विमानस्थल पुगे । बाजागाजाले कोटबाडामा भव्य स्वागत गर्‍यौँ । त्यही दिन उडेर गएको प्लेन अहिलेसम्म फेरि फर्किएर आएको छैन । त्यो दिन भाषण गर्ने नेताहरूले अब कालिकोटका जनता सधैँ प्लेनमा चढ्न पाउँछन् भने । अहिलेसम्म हामीले प्लेन चढ्न पाएनौँ । नेताहरूले हामीलाई ढाँटेका रहेछन् ।

काठमाडौँबाट ठुला नेताहरू आए । उनीहरूले पालैपालो भाषण गरे । हाम्रो कालिकोटका महेन्द्र शाहीले पनि भाषण गरेका थिए । अब नियमित उडान हुन्छ भनेर सबैजसोले भनेका थिए त्यतिबेला । त्यसपछि अहिलेसम्म यहाँ प्लेन आउन सकेको छैन ।

हाम्रो सपना अधुरो हुने भयो । अहिले विमानस्थलमा केटाकेटी खेल्छन् । मान्छे पनि कोही छैनन् ।

‘चिलगाडी’ चढ्ने सपना पूरा नहुँदै मरिन्छ कि क्या हो ! ‘चिलगाडी’ आउँछ भन्न थालेको ४० वर्ष हुन लाग्यो । म अहिले ७२ वर्षको भइसकेँ । महिना बिते, वर्ष बिते, अझै ‘चिलगाडी’ चढ्ने सपना पूरा भएन । ‎‎अहिले कसैले के भन्छन्, कसैले के ।

गाउँमै प्लेन आउँछ र यहाँका जनतालाई सुविधा हुन्छ भन्थे नेताहरू । अहिलेसम्म अवस्था फेरिन सकेन । यातायातको नाममा कर्णाली राजमार्ग बनेको छ । सडक यातायात पनि निकै कष्टकर छ । बाटोको अवस्था नाजुक छ । जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था छ ।

खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संघीय सरकारको पर्यटनमन्त्री हुँदादेखि नै यहाँ विमानस्थल निर्माणका लागि बजेट आउन थालेको हो । त्यसपछिका चुनावमा नेताहरू गाउँमा आउँदा सधैँ यहाँको विमानस्थललाई आफ्नो एजेण्डा बनाए । यहाँ प्लेन नियमित आउने व्यवस्था हुन्छ भनेर प्रतिबद्धता जनाए । यद्यपि, अहिलेसम्म हामीले प्लेन चढ्न पाएनौँ । अहिले मेरो छोराबुहारी सुर्खेत बस्छन् । हवाई यातायातको व्यवस्था भए कहिलेकाहीँ प्लेन चढेर भेट गर्न जान हुन्थ्यो । बुढेसकालमा कर्णाली राजमार्गबाट गाडीमा उफ्रिँदै यात्रा गर्नुभन्दा हवाईजहाजको यात्रा सहज हुन्थ्यो ।

हाम्रो सपना अधुरो हुने भयो । अहिले विमानस्थलमा केटाकेटी खेल्छन् । मान्छे पनि कोही छैनन् । फेरि चुनावमा नेताहरू प्लेन चलाउँछौँ भन्ने आशा देखाउन आइपुग्छन् । यो क्रम वर्षौंदेखि चलिरहेको छ । यहाँ किन प्लेन सञ्चालन हुन सकेन भन्ने हामीजस्ता सामान्य मानिसलाई थाहा हुने कुरा भएन । नचल्ने हो भने सरकारले यहाँ चल्न सक्दैन भनिदिए हुन्थ्यो बरु । नेताहरू विमानस्थल सञ्चालन गर्छौं भन्न छाड्दैनन् । बोलेको कुरा पुर्‍याउन पनि सक्दैनन् ।

(नरहरीनाथ गाउँपालिका–७, जडेमुलाका ७२ वर्षीय स्थानीय काशी बटालासँग रातोपाटीका लागि पंखबहादुर शाहीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशी बटाला
काशी बटाला
लेखकबाट थप