कपालमा बारम्बार मेहन्दी लगाइरहनु हुन्छ ? यस्ता छन् बेफाइदा

काठमाडौँ । कपाल रङ्गाउन लामो समयदेखि मेहन्दी धेरैको मनपर्ने प्राकृतिक वस्तु बन्दै आएको छ । शताब्दीयौँदेखि कपाललाई गाढा रातो–खैरो बनाउने अनि यसलाई राम्रो बनाउनका लागि यसको प्रयोग हुँदै आएको छ ।
मेहन्दी सिन्थेटिक रङहरू भन्दा फरक छ । यसलाई प्रायः कपाल रङ्गाउन सुरक्षित र रसायनरहित विकल्प मानिन्छ । तर, कपाललाई रङ्गाउन बारम्बार मेहन्दी प्रयोग गर्दा प्रतिकूल प्रभावहरू उत्पन्न हुन सक्छन् ।
यस्ता प्रभावलाई हामी प्रायः बेवास्ता गर्छौँ । प्राकृतिक नै भए पनि मेहन्दीको अत्यधिक प्रयोग कपालको लागि राम्रो मानिन्न । तपाईं पनि बारम्बार कपालमा मेहन्दी लगाउनु हुन्छ ? त्यसो भए यसका केही साइड इफेक्टहरू जानी राखौँ :
१. सुख्खापन
मेहन्दीको अत्यधिक प्रयोगले कपालमा अत्यधिक सुख्खापन निम्त्याउन सक्छ । यसमा पाइने ट्यानिनले कपालबाट प्राकृतिक तेल निकाल्छ, जसले गर्दा कपाल सुख्खा हुन्छ । सुरुमा त कपाल चिल्लो जस्तो देखिएला । तर बारम्बार यसको प्रयोगले कपालको ओसिलोपन घट्दै जान्छ । जसले गर्दा कपाल भाँचिने र टुक्रिने जोखिम बढ्छ ।
२. कपालको बनावटमा परिवर्तन
मेहन्दीको नियमित प्रयोगले कपालको प्राकृतिक बनावट परिवर्तन गर्न सक्छ । प्राकृतिक रूपमा नरम र रेशमी कपाल भएकाहरूलाई समयसँगै खस्रो र सुख्खा महसुस हुन सक्छ । मेहन्दीले कपालको रेशालाई आफ्नो रङले ढाक्छ, जसले गर्दा कपाल बाक्लो देखिन्छ ।
३. कपाल पातलो हुने र टुक्रिने
मेहन्दीले कपाललाई बलियो बनाउँछ भन्ने गलत धारणा मानिसहरूमा पाइन्छ । तर यसको अत्यधिक प्रयोगले उल्टो प्रभाव पार्न सक्छ । मेहन्दीको सुख्खापनले कपालको तन्तुलाई कमजोर बनाउन सक्छ, जसले गर्दा कपाल कमजोर बन्छ र भाँचिने सम्भावना बढ्छ । मेहन्दीको निरन्तर प्रयोगले टाउकोको छालाले आफ्नो प्राकृतिक ओसिलोपन र पोषण कायम राख्न असमर्थ हुन्छ अनि कपाल पातलो भएर झर्छ
४. एलर्जी
मेहेन्दी प्राकृतिक उत्पादन भए पनि, केही व्यक्तिहरूमा यसले एलर्जी गराउँछ । निरन्तर मेहन्दीको सम्पर्कमा रहँदा टाउकोमा जलन, रातोपन, चिलाउने र बिबिराहरू आउने जस्ता समस्या उत्पन्न हुन सक्छ । केही मानिसहरूमा यसले कनट्याक्ट डर्मेटाइटिस निम्त्याउन सक्छ । स्क्याल्प संवेदनशील भएका मानिसहरूमा मेहन्दीको प्रतिक्रिया बढी हुन सक्छ । त्यसैले मेहन्दी लगाउनु अघि हरेक पटक प्याच टेस्ट गर्नु महत्त्वपूर्ण छ ।
५. अर्को रङ लाग्दैन
मेहन्दीको बारम्बार प्रयोगले कपालमा रङको पत्र नै बन्दछ । जसले गर्दा कपाल असमान र अप्राकृतिक रङ उत्पन्न हुन सक्छ । मेहन्दी चाँडै फिक्का पनि हुन्न । त्यसैले बारम्बार लगाउनाले गाढा र कहिलेकाहीँ दागदार रङ्ग बन्दछ । यसलाई हटाउन मुस्किल हुन सक्छ । रासायनिक रङलाई त सजिलै फिक्का बनाउन सकिन्छ । तर मेहन्दीको रङ स्थिर हुन्छ । यसलाई हल्का बनाउन वा क्षति बिना पूर्ण रूपमा हटाउन गाह्रो हुन्छ ।
मेहन्दीको बारम्बार प्रयोगको सबैभन्दा ठुलो बेफाइदा भनेको पछि कृत्रिम रङले कपाल रङ्गाउन लगभग असम्भव हुन्छ । मेहन्दीको तहले एउटा अवरोध सिर्जना गर्छ जसले रासायनिक रङहरूलाई कपालको रेसामा प्रवेश गर्नबाट रोक्छ । वा लाग्दैन । तसर्थ, मेहेन्दी कपाल रङ्ग्याउन एक खाले प्राकृतिक र परम्परागत उपाय भए पनि यसको अत्यधिक प्रयोगबाट बच्नुपर्छ ।