मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक

आइतबार, ०७ वैशाख २०८२, १९ : ०९
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ ।  दुर्लभ हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक गरिएको छ । 

सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा हिउँ चितुवाको सङ्ख्या ३९७ र प्रति १०० वर्ग किलोमिटरमा औसत घनत्व एक दशमलव ५६ रहेको अनुमान गरिएको छ । 

वन तथा वातावरण मन्त्रालयअन्तगर्तको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा विश्व वन्यजन्तु कोष नेपाललगायत संस्थाको सहयोगमा मूल्याङ्कन गरिएको थियो । 

वन्यजन्तु सप्ताहको समापन कार्यक्रममा आज यहाँ अयोजित कार्यक्रममा सार्वजनिक गरिएको सङ्ख्याले नेपालभरि हिउँ चितुवा र तिनीहरूको बासस्थानको स्थितिबारे महत्वपूर्ण जानकारी प्रदान गर्ने बताइएको छ ।

कार्यक्रममा निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले यो राष्ट्रिय अनुमान नेपालको संरक्षण यात्रामा एक ऐतिहासिक कदम भएको उल्लेख गरे ।

“यसले हिउँ चितुवाको सङ्ख्याको स्पष्ट चित्र मात्र प्रदान गर्दैन, भविष्यका संरक्षण रणनीतिहरूलाई पनि सूचित गर्दछ । यो प्रजातिको संरक्षणप्रतिको हाम्रो प्रतिबद्धता अटल छ, र हामी यसको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न स्थानीय समुदाय र विश्वव्यापी साझेदारहरूसँग निकट सहकार्य जारी राख्नेछौँ”, उनले भने । 

यस मूल्याङ्कनमा २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्थाहरू र अनुसन्धानकर्ताहरूद्वारा नेतृत्व गरिएका व्यक्तिगत अध्ययनहरूबाट, क्यामेरा ट्र्याप र दिशाको नमूनाहरूको आनुवंशिक विश्लेषणलगायत अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न सात अध्ययन क्षेत्रहरूबाट हिउँ चितुवाको वितरण र जनसङ्ख्या घनत्वको तथ्याङ्क प्रयोग गरिएको थियो । 

यस मूल्याङ्कनले उपलब्धिले हिउँ चितुवा र तिनीहरूको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न मुलुकको प्रतिबद्धतालाई जोड दिन्छ ।

मूल्याङ्कन निकुञ्ज विभागका वरिष्ठ पारिस्थितिकीय विद्को नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामको ‘पपुलेसन एसेसमेन्ट अफ द वल्र्डस् स्नो लियोपाड्र्स’ निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो ।

जसमा कोषलगायत व्यक्तिगत अनुसन्धानकर्ताहरू र संरक्षण संस्थाहरू सहभागी थिए ।

यसैगरी, भूसंरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले नेपालमा हिउँ चितुवाको वासस्थानको एक महत्वपूर्ण हिस्सा संरक्षित क्षेत्रहरू बाहिर रहेको बताउँदै यी भू–परिदृश्यहरू लक्षित संरक्षणका उपायहरूको आवश्यकता औँल्याए । 

“यसका लागि समुदायमा आधारित पहलहरूलाई सुदृढ पार्नु, वासस्थानको निरन्तरता र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका रणनीतिहरू हिउँ चितुवाको सम्पूर्ण क्षेत्रमा दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ”, उनले भने ।

कोषका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङले विश्व वन्यजन्तु नेटवर्कमा हिउँ चितुवाको राष्ट्रिय जनसङ्ख्याको आधाररेखा स्थापित गर्ने प्रयासलाई सहयोग गर्न पाएकामा गर्व महसुस भएको उल्लेख गरे ।

“यो नतिजाले सहभागीमूलक संरक्षणका लागि आधारको रूपमा काम गर्नेछ, जसले हामीलाई सबैभन्दा बढी हस्तक्षेप आवश्यक पर्ने क्षेत्रहरूलाई प्राथमिकता दिन सुनिश्चित गर्नेछ”, उनले भने, “सरकारी निकायहरू, संरक्षण संस्थाहरू र स्थानीय समुदायबीचको सहकार्य हालसम्मको हाम्रो सफलता र जलवायु परिवर्तन तथा तीव्र पूर्वाधार विकासको सामनामा र यस प्रजातिको भविष्यका लागि पनि महत्त्वपूर्ण छ ।”

मूल्याङ्कनका निष्कर्षहरूले हिउँ चितुवा पाइने क्षेत्रहरूमा तिनको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न परिष्कृत सुरक्षा उपायहरूको आवश्यकता पर्ने संरक्षण प्राथमिकताको उजागर गरेका छन् । 

यस्तै, दिगो संरक्षण रणनीतिहरूले सामुदायिक सहभागिता र द्वन्द्व न्यूनीकरणका उपायहरूलाई एकीकृत गर्नुपर्ने औँल्याइएको छ । नतिजाहरूले संरक्षित क्षेत्रहरू बाहिरका हिउँ चितुवाको बासस्थान व्यवस्थापनको महत्वमा पनि जोड दिएका छन् ।

एसियाका १२  मुलुकमा पाइने हिउँ चितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको क्षेत्रमध्ये पर्दछ । विश्व वन्यजन्तु कोषको सन् २०२१ को  एक प्रकाशनअनुसार उक्त समयसम्म हिउँ चितुवाको विश्वव्यापी क्षेत्रको लगभग २३ प्रतिशत मात्र व्यवस्थित रूपमा अध्ययन गरिएको छ । तीन प्रतिशतभन्दा कममा मात्र सङ्ख्यासम्बन्धी अनुभवजन्य तथ्याङ्क उपलब्ध छन् ।

यस पहलले हिउँ चितुवा संरक्षणमा नेपालको विश्वव्यापी नेतृत्वलाई रेखाङ्कित गर्दै यस प्रजातिको भविष्य सुरक्षित गर्न वैज्ञानिक अनुसन्धान, समुदायमा आधारित संरक्षण र सीमापार सहकार्यमा निरन्तर लगानीको महत्वलाई प्रकाश पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप