‘नरसिंहा अवतार’ मेरो बोर्ड परीक्षा हो– अभिनेता रमेश

काठमाडौँ । निर्देशक दिवाकर भट्टराई एक्सन ड्रामा ‘नरसिंहा अवतार’ लागि गठिलो शरीर र एक्सन गर्न सक्ने अभिनेताको खोजीमा थिए । उनको नजर रमेश चन्द सोडारीमा पर्यो । रमेशलाई निर्देशक भट्टराईले सोधे फिल्म खेल्ने हो । रमेश फिल्मको पर्खाइमै थिए । फिल्म युनिट ज्वाइन गरिहाले ।
‘निर्देशक दिवाकर भट्टराई सर ‘नरसिंहा अवतार’ को लागि एक जना अलि एक्सनमा निपूर्ण कलाकारको खोजीमा हुनुहुँदोरहेछ । कोरियोग्राफर माइकल चन्दले मेरो फोटोहरू देखाउनुभएछ’, रमेशले भने– ‘फोटो हेरेपछि मलाई मिटिङका लागि बोलाउनुभयो र स्क्रिप्ट सुनाउनुभयो । केही समयमै म फाइनल भए ।’ जिम गरेर बनाएको आकर्षक शरीरको साथमा मिक्स मार्सल आर्टको लामो समयदेखिको अभ्यास फिल्मका लागि क्वालिफाइ भएको रमेश बताउँछन् । रमेश मिक्स मार्सल आर्टको साथमा तेक्वान्दो र सितेरियो कराँतेका ब्यालकबेल्ट समेत हुन् ।
उनी हरेक बिहान ४ बजे जिम पुग्छन् भने ८ बजेदेखि ११ बजेसम्म मिक्स मार्सल आर्टको अभ्यास गर्छन् । यो उनको दैनिकीजस्तै बनिसकेको छ । ‘नरसिंहा अवतार’ मा उनी सकारात्मक भूमिकामा देखिनेछन् ।
‘राम्रो मेहेनत गरेको छु । त्यसैले उचित नतिजा पाउने आशामा छु । दर्शकहरूले मेरो पात्र मन पराउनुहुनेछ’ उनी थप्छन्– ‘यो मान्छेले राम्रो गरेको छ भन्ने प्रतिक्रिया सुन्न पाउँछु ।’ ‘नरसिंहा अवतार’ लाई उनी मनोरञ्जनको प्याकेजका रूपमा व्याख्या गर्छन् । भन्छन्– ‘यो एक्सन, लभस्टोरी भएको एउटा प्याकेज फिल्म हो । प्याकेजका सबै कुराले यो फिल्म भरिपूर्ण छ ।’
रमेशको ठुलो पर्दामा यो चौथो फिल्म हो । ‘मेहेन्दो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेका उनको फिल्म रिलिज भएन । त्यसपछि ‘मन त परदेशी’, बिराज भट्टको ‘साङ्लो’ र ‘वानर सेना’ नामका ३ फिल्म उनले अभिनय गरे ।
सबै फिल्म उनका लागि सिकाइका पाठशाला भए र अब ‘नरसिंहा अवतार’ भने उनका लागि बोर्ड परीक्षा भएको उनको बुझाइ छ ।
‘यो फिल्मबाट म आशावादी छु । विग बजेट, विग ब्यानर, विग क्यानभासको फिल्म पाएको छु । सिने बजारमा पनि आशा गरिएको फिल्म हो यो’ उनले थपे । कयौँ म्युजिक भिडियोमा समेत आफ्नो क्षमता देखाइसकेका रमेशले नेपाली रजतपटमा सङ्घर्ष थालेको झण्डै दशक पुग्न लागेको छ । यो दशक लामो मेहेनत र सङ्घर्षको नतिजा ‘नरसिंहा अवतार’ ले दिने बलियो विश्वास छ उनलाई ।