मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
इन्साइड स्टोरी

राप्रपाका नेताहरूलाई ज्ञानेन्द्रले भने– पुलिसलाई गुलाफको फूल दिनू !

निर्मल निवासमा राजनीतिक छलफल
आइतबार, ०७ वैशाख २०८२, ११ : ५०
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका नेताहरूसँगको भेटमा ‘राजनीतिक कुराकानी’ गरेको खुलेको छ । वर्तमान व्यवस्था विरुद्ध राजावादीको गतिविधि बढिरहेका बेला पूर्वराजाले शुक्रबार बिहान करिब डेढ घण्टा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ नेतासँग ‘लन्च वार्ता’ गरेका थिए । 

नयाँ वर्षको शुभकामना आदानप्रदानका लागि  भेटघाट भनिए पनि मूलतः राजनीतिक विषयवस्तुमै केन्द्रित रहेर खुलेर छलफल भएको भेटमा सहभागी राप्रपाका नेताहरूले खुलाएका छन् । आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै नेताहरूले पूर्वराजासँग शुक्रबार ‘बिल्कुलै राजनीतिक विषयमा कुराकानी भएको’ बताए । 

पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही निर्मल निवास निर्मल निवास पुगेका थिए । 

सो क्रममा तीनकुने घटना, नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को गठनका साथै देशको वर्तमान अवस्थाका सन्दर्भमा कुराकानी भएको स्रोतको भनाइ छ । 

स्रोतका अनुसार पूर्वराजाले छलफलको सुरुमै तीनकुनेको घटना किन हिंस्रक भयो ?’ भन्दै राप्रपाका नेताहरूलाई प्रश्न गरेका थिए ।  ‘आन्दोलनमा नेपाली आमाका छोराछोरी कोही मर्नु हुँदैन’, पूर्वराजा शाहको भनाइ थियो, ‘हामीले मान्छे नमरुन् भनेर नै हिजो सहज र शान्तिपूर्ण रूपमा सत्ता छाडेको हो ।’ 

उनले सबै भन्दा ठुलो राजावादी समूहको नेताका हिसावले आन्दोलन शान्तिपूर्ण बनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले किन भूमिका नखेलेको भन्दै प्रश्न समेत गरेको स्रोतको भनाइ थियो । जवाफमा लिङ्देनले आन्दोलन समिति पूर्वराजाले नै बनाएको भन्ने सुनेको भन्दै आफूले सहयोग मात्रै गरेको बताएका थिए । त्यसपछि पूर्वराजाले समितिबारे अनविज्ञता दर्साउँदै आफ्नो यसमा कुनै भूमिका नरहेको बताएका थिए । ‘हामीले कहिले बनायौँ नवराज सुवेदीलाई ? यस्तो हामीले कहीँ भनेको पनि छैन’, पूर्वराजाको भनाइ थियो । यस्तै उनले आफूले दुर्गा प्रसाईंलाई तीनकुने आन्दोलनअघि निर्मल निवासमा नभेटेको समेत बताएको ती नेताको भनाइ छ । उनका अनुसार प्रसाईं निर्मल निवास प्रवेश गरेपनि पूर्वराजाका सचिवहरूलाई मात्रै भेटेको पूर्वराजाको दाबी थियो । 

चैत १५ मा तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा पूर्वराजा विवादमा तानिएका थिए भने पूर्वराजाकै चाहनामा दुर्गा प्रसाईंलाई सो दिनको आन्दोलनको कमान्डर बनाइएको विषय बाहिरिएको थियो । उक्त दिन कमान्डर बनेका प्रसाईंकै हर्कतले तीनकुनेमा हिंसा भड्किएको टिप्पणी समेत हुँदै आएको सन्दर्भमा पूर्वराजाले तीनकुनेमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका हुन् । 

बरु पूर्वराजाले आफ्नो नाममा खेल्न केही राजावादी नेताहरु नै लागेको भनेर असन्तुष्टि पोखेको भेटमा सहभागी एक नेताले बताए । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र लगायतले बिचमा खेलेर पूर्वराजाको नाममा आन्दोलन परिचालन समिति बनाएको बुझाइ निर्मल निवासको रहेको स्रोतको भनाइ छ । 

यस्तै पूर्वराजाले जुनसुकै आन्दोलन पनि शान्तिपूर्ण हुनुपर्नेमा जोड समेत दिएका थिए ।उसो त पूर्वराजाले निर्मल निवासको छलफलमा तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदै गर्दा प्रहरीमाथि ढुंगामुढा र प्रहरीले पनि गोली प्रहार गरेको विषयमा समेत दुख मनाऊ गरेका थिए । ‘तीनकुनेमा प्रहरीलाई किन इँटा हानेको ? प्रहरीले किन गोली हानेको ? हामीले हिजो सत्ता छाड्दासम्म पनि मान्छे नमारेकै छाडेको हो’, उनको भनाइ थियो । मूलतः उनले आन्दोलन समिति आफूले नबनाएको र तीनकुने घटनामा पनि आफ्नो कुनै संलग्नता नरहेको उल्लेखसहित आन्दोलन पनि हिंसात्मक हुन नहुने सन्देश प्रवाह गरेको भेटमा सहभागी नेताहरूको भनाइ छ । 

राप्रपाले आइतबार राजधानीमा प्रदर्शन आयोजना गरेको अवस्थामा पूर्वराजाले प्रहरीलाई ढुंगा नहान्न र गुलाफको फूल दिन समेत सुझाएको बताएको छ । 

‘पुलिसलाई गुलाफको फूल दिनू , प्रहरी आफ्नो दाजुभाइ हो । मान्छे मारेर आएको व्यवस्था कहिले पनि ठिक हुँदैन’, उनको भनाइ थियो ।  

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजासँग भएको भेटमा पूर्वराजाले बढ्दो गरिबी, बेरोजगारी जस्ता सवालमा आफ्नो चिन्ता जाहेर गरेको बताए । उनले आइतबार पार्टीले राजतन्त्रकै पक्षमा शान्तिपूर्ण आन्दोलन गर्ने उल्लेख गर्दै पूर्वराजाबाट पनि मान्छे मारेर आएको व्यवस्था ठिक नहुने विचार व्यक्त भएको रातोपाटीलाई बताए । 

‘आजको आन्दोलन हामीले निषेधित क्षेत्रमात्रै तोड्ने हो । कुनै हुल जफत गर्ने होइन’, उनले टेलिफोनमा भने । 

यस्तै पूर्वराजाले राप्रपा अध्यक्ष लिङ्देनलाई अहिलेकै अवस्थामा मुलुक कसरी अघि बढ्छ भन्दै प्रश्न समेत गरेका अर्का एक नेताहरूको भनाइ छ । ‘गरिबी र बेरोजगारी बढ्यो, नेपालमा कोही मान्छे छैन । सबै विदेश गएको छ, धर्म संस्कार मासिएको छ । नेपाली नेपालीबिच एकअर्कालाई विश्वास गर्ने वातावरण छैन । यसरी नै मुलुक अघि बढ्छ त राजेन्द्रजी, अध्यक्षजी’, पूर्वराजाले लिङ्देनलाई प्रश्न गरेका थिए । जवाफमा लिङ्देनले सोही कारण आफ्नो पार्टी राजसंसथाको एजेण्डामा अडिग रहेको बताएका थिए । 

उसो त पूर्वराजाले लिङ्देनको कार्यशैलीमाथि समेत घुमाउरो ढंगले असन्तुष्टि पोखेका थिए । विशेषगरी राजावादी आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढ्ने सन्दर्भमा पूर्वराजाले लिङ्देनको कमजोरी औँल्याएको भेटमा सहभागी अर्का नेताले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप