वेस्ट इन्डिजको दूर्भाग्य, थोरै अन्तरले बंगलादेशसँग पछि पर्दा विश्वकपमा छनोट हुन सकेन

काठमाडौँ । वेस्ट इन्डिजको महिला टोली पनि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । यसअघि, सन् २०२३ मा भारतमा आयोजना भएको आईसीसी पुरुष एकदिवसीय विश्वकपमा पनि वेस्ट इन्डिजको टोली छनोट हुन सकेको थिएन ।
महिला विश्वकपका लागि पाकिस्तानमा भएको छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी थाइल्यान्डलाई ६ विकेटले हराए पनि वेस्ट इन्डिजको टोली विश्वकपमा छनोट हुन सकेन । कुल ६ टोलीको सहभागिता रहेको छनोट प्रतियोगिताबाट दुई टोलीले विश्वकपमा स्थान पक्का गर्ने प्रावधान थियो । तर, नेट रन रेटमा बंगलादेशसँग थोरै अन्तरले पछाडि परेपछि वेस्ट इन्डिजको टोली विश्वकप खेल्नबाट बञ्चित भयो ।
छनोट प्रतियोगितामा सहभागी टोलीले पाँच–पाँच खेल खेलेका थिए । घरेलु टोली पाकिस्तान पाँचवटै खेलमा विजयी हुँदै कुल १० अंकसहित विश्वकपमा छनोट भयो । बंगलादेश भने ६ अंकसहित तालिकामा दोस्रो हुँदै विश्वकपमा पुग्न सफल भयो । बंगलादेशले पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हारको नतिजा निकाल्यो । वेस्ट इन्डिजले पनि पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हारको नतिजा निकाल्यो । बंगलादेशसँगै समान ६ अंक बटुले पनि वेस्ट इन्डिजको टोली नेट रन रेटमा थोरै अन्तरले पछि पर्यो ।
बंगलादेशको नेट रन रेट ०.६३९ र वेस्ट इन्डिजको नेट रन रेट ०.६२६ रह्यो । वेस्ट इन्डिजसँगै स्कटल्यान्ड, आयरल्यान्ड र थाइल्यान्ड पनि विश्वकपमा छनोट हुन सकेनन् । महिला विश्वकपमो १३औँ संस्करण सन् २०२५ को सेप्टेम्बर २९ देखि अक्टोबर २६ तारिखसम्म भारतमा आयोजना हुँदैछ ।
महिला विश्वकपमा कुल आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने आठवटै टोलीको टुङ्गो लागिसकेको छ । प्रतियोगितामा आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र पाकिस्तान सहभागी हुनेछन् ।
छनोट प्रतियोगिताको अन्तिम खेलमा थाइल्यान्डले ४६.१ ओभरमा अलआउट हुनुअघि एक सय ६६ रन बनाएको थियो । त्यो लक्ष्य १०.१ ओभरमा पुरा गर्न सकेको भए बंगलादेशलाई पछि पार्दै वेस्ट इन्डिज विश्वकपमा छनोट हुने थियो । तर, वेस्ट इन्डिजले १०.५ ओभरमा मात्र विजयलक्ष्य पार गर्न सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ