पञ्जाबसँग दुई दिनअघि घरेलु मैदानमा भोगेको हारको बदला लिने धुनमा बेंगलुरु

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेटमा आइतबार दुई खेल खेलिँदै छ । प्रतियोगिताको पहिलो खेल पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेलिने छ । दोस्रो खेल मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबिच हुनेछ । दोस्रो खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिचको खेल भने मुल्लापुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ । बेंगलुरु र पञ्जाब यो सिजन दोस्रो पटक आपसमा भिड्न लागेका हुन् ।
यही सिजन खेलिएको खेलमा पञ्जाबले बेंगलुरुलाई पाँच विकेटले हराएको थियो । उक्त खेल बेंगलुरुको घरेलु मैदानमा खेलिएको थियो । आइतबारको खेल हुने महाराज यादवेन्द्र सिंह स्टेडियम भने पञ्जाबको दोस्रो घरेलु मैदान हो ।
जारी सिजनको आईपीएलमा पञ्जाब र बेंगलुरुले आफ्नो आठौँ खेल खेल्न लागेका हुन् । यी दुबै टोली प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत छन् । पञ्जाबले यसअघि खेलिएको सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।
पञ्जाब १० अंकसहित तालिकाको तेस्रो स्थानमा आसीन छ । बेंगलुरुले भने अघिल्ला सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । बेंगलुरु आठ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ ।
पञ्जाब किङ्सले हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पञ्जाब किङ्स फाइनलसम्म पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो ।
रोयल च्यालेन्जर्स बेंगलुरुले पनि हालसम्म उपाधि चुम्न सकेको छैन । बेंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ । बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो ।
त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो ।
हेड टु हेडमा दुई खेलको अन्तर
रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्सबिच आईपीएलमा हालसम्म कुल ३४ खेल खेलिएको छ । त्यसमध्ये १८ खेलमा पञ्जाबले बेंगलुरुलाई हराएको छ । १६ खेलमा भने बेंगलुरुले पञ्जाबलाई पराजित गरेको छ ।
मुल्लापुरस्थित महाराज यादवेन्द्र सिंह स्टेडियममा भने पञ्जाब र बेंगलुरु पहिलो पटक आपसमा भिड्न लागेका हुन् । जारी सिजनकै आईपीएलमा पनि यी दुई टोली एकपटक आपसमा भिडिसकेका छन् । गत शुक्रबार बेंगलुरुको घरेलु मैदानमा खेलिएको उक्त खेलमा पञ्जाब पाँच विकेटले विजयी भएको थियो ।
लयमा छन् पञ्जाबका कप्तान श्रेयष
आईपीएलको जारी सिजनमा पञ्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान श्रेयष ऐयर हुन् । उनले यसअघि खेलिएको सात खेलमा कुल दुई सय ५७ रन बनाइसकेका छन् ।
उनले बनाएको उच्च स्कोर अविजित ९७ रन हो । पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर भने अर्शदीप सिंह हुन् । उनले सात खेलमा १० विकेट लिइसकेका छन् ।
बेंगलुरुको सर्वाधिक रन विराटको नाममा
आईपीएलको १८औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुको लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने पूर्वकप्तान विराट कोहली हुन् । उनले सात खेलमा कुल दुई सय ४९ रन बनाइसकेका छन् ।
उनले तीनवटा अर्धशतक पनि बनाएका छन् । सर्वाधिक विकेट लिने बलर भने जस हेजलउड हुन् । उनले हालसम्म सात खेलमा १२ विकेट लिइसकेका छन् ।
ब्याट्सम्यानका लागि उपयुक्त पिच
रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्सबिच आइतबारको खेल हुने मुल्लापुरस्थित महाराजा यादवेन्द्र सिंह स्टेडियमको ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा बढी नै रन बन्ने गरेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल आठ खेल खेलिएको छ ।
त्यसमध्ये पाँच खेलमा पहिले ब्याटिङ गर्ने टोली र तीन खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर ६ विकेट गुमाएर दुई सय १९ रन हो । उक्त स्कोर यसै सिजन पञ्जाबले चेन्नई सुपर किङ्सविरुद्ध बनाएको थियो ।
छैन वर्षाको सम्भावना
पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेल हुने दिन आइतबार मुल्लापुरमा वर्षाको कुनै सम्भावना नरहेको बताइएको छ । दिनभर चर्को घाम लाग्नेछ । तापक्रम भने २० देखि ३६ डिग्री सेल्सियसको बिचमा रहनेछ ।
सम्भावित टोली
पञ्जाब किङ्स : श्रेयष ऐयर (कप्तान), प्रियांश शर्मा, नेहल बाधेरा, मार्कस स्टोइनिस, जस इङ्लिस (विकेटकिपर), शशांक सिंह, हरप्रित बरार, मार्को यान्सन, अर्शदीप सिंह, जेभियर बार्टलेट, युजवेन्द्र चहल र ग्लेन म्याक्सवेल ।
रोयल च्यालेन्जर्स बेंगलुरु : रजत पाटिदार (कप्तान), विराट कोहली, फिल साल्ट, लियाम लिभिङ्स्टोन, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, क्रुणाल पाण्ड्या, जस हेजलउड, भुवनेश्वर कुमार, सुयश शर्मा, यश दयाल र स्वप्निल सिंह ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्
-
एनआरएनएको विवाद समाधानका लागि अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्छ : राष्ट्रपति पौडेल