बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

वसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गरिने

आइतबार, ०७ वैशाख २०८२, ०६ : ५४
आइतबार, ०७ वैशाख २०८२

लन्डन । वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले वि.सं. २०८२ सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार तुलसी दिवसलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा वैशाख ६ गते बसेको विशेष बैठकले सो निर्णय गरेको हो ।

उत्कृष्ट आधुनिक नेपाली कविताहरूको सिर्जना एवं नेपाली लोक संस्कृतिको अध्ययन, अनुसन्धान र उन्नयनद्वारा नेपाली साहित्य र संस्कृतिलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा, साहित्य र संस्कृतिको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान पुर्‍याएबापत दिवसलाई ७५ हजार रुपैयाँ नगद सहित सम्मानपत्र दिइने भएको हो ।

वि.सं. १९९८ असारमा धनकुटामा जन्मिएका साहित्यकार तुलसी दिवसका कविता, नेपाली लोककथा, धिमाल लोकधर्म संस्कृति नामक कृतिहरू प्रकाशित छन् ।

त्यसैगरी, प्रतिष्ठानले साहित्यकार तोया गुरुङलाई वि.सं. २०८२ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । आधुनिक नेपाली कविता, मुक्तक र कथाहरुको सिर्जनाद्वारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरी नेपाली साहित्यमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै गुरुङलाई ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.स. २००४ साल चैतमा सिन्धुपाल्चोकमा जन्मिएकी साहित्यकार गुरुङका सूर्यदह, धूपी, देवल घुमेपछि, तोया गुरुङका लामा कविता, पुनरावती, कुसुम र अस्पृश्य कृतिहरू प्रकाशित भएका छन् ।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (वि.सं. २०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९), वरिष्ठ समालोचक यदुनाथ खनाल (वि.सं. २०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (वि.सं. २०६१), वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा (वि.सं. २०६२), वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (वि.सं. २०६३), वरिष्ठ कवि मोहन कोइराला (वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी (वि.सं. २०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (वि.सं. २०६६), वरिष्ठ कवि वैरागी काइँला (वि.सं. २०६७), वरिष्ठ कवि धर्मराज थापा (वि.सं. २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), वरिष्ठ चित्रकार शशी शाह (वि.सं. २०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ संगीतकार अम्वर गुरुङ (वि.सं. २०७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (वि.सं. २०७३), वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४), वरिष्ठ गायक प्रेमध्वज प्रधान (वि.सं. २०७५), वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (वि.सं. २०७६), वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतम (वि.सं. २०७७), वरिष्ठ गायक कुमार बस्नेत (वि.सं. २०७८), वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाई (वि.सं. २०७९), वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत (वि.सं. २०८०) र वरिष्ठ कूटनीतिज्ञ डा. भेषबहादुर थापा (वि.सं. २०८१) लाई प्रदान गरेको छ ।

त्यसैगरी प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०५७), साहित्यकार विनय रावल (वि.सं २०५८), नाटककार अशेष मल्ल (वि. सं २०५९),गजलकार ज्ञानुवाकर पौडेल (वि.सं. २०६०), साहित्यकार मञ्जुल (वि.सं. २०६१), कथाकार मधुवन पौडेल (वि.सं. २०६२), कवि विष्णुविभु घिमिरे (वि.सं. २०६३),कवि कृष्णभूषण बल (वि.सं. २०६४), कथाकार भुवन ढुंगाना (वि.सं. २०६५), कथाकार श्री सनत रेग्मी (वि.सं. २०६६), कवि श्री विजय बजिमय (वि.सं. २०६७), समालोचक डा. रामदयाल राकेश (वि.सं. २०६८), कथाकार डा. बेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार किरण मानन्धर (वि.सं. २०७०), कलाकार नीर शाह (वि.सं. २०७१ ), गायक दीप श्रेष्ठ (वि.सं. २०७२),साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), सञ्चारकर्मी खगेन्द्र नेपाली (वि.सं. २०७४), गायक भक्तराज आचार्य (वि.सं. २०७५), कलाकार हरिवंश आचार्य (वि.सं. २०७६), साहित्यकार सरूभक्त (वि.सं. २०७७), कलाकार मिरा राणा (वि.सं. २०७८), कलाकार थान बहादुर रावल (वि.सं. २०७९), वैज्ञानिक डा. महावीर पुन (वि.सं. २०८०), र कूटनीतिज्ञ विन्देश्वरी शाह (वि.सं. २०८१) लाई प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप