सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

मकवानपुर गोल्डकपको हिसाब किताब गोलमाल

शनिबार, ०६ वैशाख २०८२, २० : ४९
शनिबार, ०६ वैशाख २०८२

मकवानपुर । प्रतियोगिता सम्पन्न भएको डेढ वर्षपछि मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक गरिएको छ । शनिबार मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै संघको आयोजनामा गत २०८० माघमा सम्पन्न प्रतियोगिताको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।

मकवानपुरको १० वटा स्थानीय तहको आर्थिक सहयोगमा हुने गरेको उक्त गोल्डकपको आम्दानी खर्च भने हरेक वर्ष अपारदर्शी हुने गरेको छ । सातौँ संस्करणको ‘सहिद स्मृति मकवानपुर राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगिता २०८० को आम्दानी तथा खर्च पनि पारदर्शी हुन सकेको देखिँदैन ।

संघले सार्वजनिक गरेको गोल्डकपको आम्दानी तथा खर्च विवरणमा एकै प्रकृतिका खर्च शीर्षकहरू पटक पटक दोहोरिएका छन् भने नगरेको शीर्षकमा पनि खर्च भएको विवरण सार्वजनिक गरेको हो । संघले शनिबार सार्वजनिक गरेको गोल्डकपको खर्च विवरणमा खेलाडी यातायात खर्च ४ लाख ३१ हजार ६०० रुपैयाँ देखाइएको छ भने बस भाडा खेलाडी शीर्षकमा पनि २ लाख २८ हजार रुपैयाँ खर्च भएको देखाइएको छ ।

अतिथि तथा आयोजक खाजा खर्चमा १ लाख ९५ हजार रुपैयाँ खर्च भएको संघको विवरण रहेको छ भने स्वयंसेवक खर्च शीर्षकमा १ लाख १९ हजार रुपैयाँ देखाइएको छ । संघले फ्लेक्स प्रिन्ट, गेट ब्यानर खर्च शीर्षक २ पटक समावेश गरी प्रत्येक पटक २ लाख ६३ हजार ८८२ रुपैयाँ खर्च समावेश गरेको छ । प्रचार प्रशासन अन्तर्गत विज्ञापन खर्चमा २ लाख ९७ हजार रुपैयाँ खर्च भएको संघको विवरणमा उल्लेख छ । जबकि उक्त समयमा गोल्डकपको विज्ञापन कुनै पनि माध्यमबाट औपचारिक रूपमा प्रचार प्रसार भएको थिएन । 

पत्रकार ट्रेनिङ शीर्षकमा ३ दिनको तालिम सञ्चालन, टिसर्ट वितरण गर्दा १ लाख ५० हजार रुपैयाँ खर्च भएको संघको विवरणमा उल्लेख छ । जबकि उक्त ट्रेनिङमा न उपस्थितहरूलाई कुनै सुविधा प्रदान गरिएको थियो न टिसर्ट नै वितरण गरिएको थियो ।

संघको खर्च विवरणमा मसलन्द बापत ३६ हजार ८७० रुपैयाँ खर्च भएको विवरण समावेश भएको छ भने सोही प्रकृतिको अर्को शीर्षक मसलन्द तथा अन्य शीर्षकमा १ लाख ७७ हजार १९८ रुपैयाँ खर्च भएको विवरण समावेश भएको छ । फुटबल संघले उक्त प्रतियोगिताको लागि ९१ लाम ४८ हजार ९४९ रुपैयाँ खर्च गरेको विवरण देखाएको छ ।

फुटबल प्रतियोगिता आर्थिक रूपमा घाटा भएको संघका कोषाध्यक्ष अमृत लुङ्बाले बताए । प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ भने जम्मा ८९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको उनले बताए । प्रतियोगिताबाट २ लाख २४ हजार रुपैयाँ घाटा भएको कोषाध्यक्ष लुङ्बाले बताए ।

  • स्थानीय तहले दिने बजेट निरन्तर कटौती

विवाद र अपारदर्शीताका बिच फुटबल संघलाई सो प्रतियोगिता अन्तर्गत दिँदै आएको बजेट कटौती भएको देखिन्छ । २०८० को उक्त प्रतियोगिताको लागि मकवानपुरका गाउँपालिकाहरूले ३ लाख देखि ५ लाख रुपैयाँसम्म बजेट विनियोजन गर्ने गरेका थिए ।

हेटौँडा उपमहानगरपालिकाले २५ लाख रुपैयाँ र बागमती प्रदेश खेलकुद विकास परिषद्ले ५० लाख रुपैयाँ आर्थिक सहयोग दिएर सो गोल्डकप सम्पन्न हुने गरेको थियो । तर, पछिल्लो समय उक्त बजेट निरन्तर कटौती भएको संघको आम्दानी विवरणमा उल्लेख छ ।

सो प्रतियोगिताको लागि मकवानपुरका ८ गाउँपालिका मध्ये ५ वटाले मात्र आर्थिक सहयोग उपलब्ध गराएका छन् । ३ लाखदेखि ५ लाखसम्म आर्थिक सहयोग दिने गाउँपालिकाहरूले न्यूनमत १ लाख ७० हजार रुपैयाँ देखि अधिकतम ४ लाख ९२ हजार रुपैयाँ आर्थिक सहयोग दिएका छन् ।

गोल्डकपका लागि भीमफेदी गाउँपालिकाले ४ लाख ९२ हजार रुपैयाँ, कैलाश गाउँपालिकाले २ लाख ९५ हजार रुपैयाँ, बागमती गाउँपालिकाले २ लाख ७८ हजार रुपैयाँ, इन्द्रसरोबर गाउँपालिकाले २ लाख ४७ हजार रुपैयाँ र मकवानपुरगढी गाउँपालिकाले १ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग दिएको छ ।

त्यसबाहेक २५ लाख रुपैयाँ आर्थिक सहयोग दिँदै आएको हेटौँडा उपमहानगरपालिकाले १८ लाख ७५ हजार रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्ले ४५ लाख ९१ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । मकवानपुरको बकैया गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, थाहा नगरपालिकाले प्रतियोगिताको लागि दिँदै आएको बजेट कटौती गरेका छन् ।

संघका कोषाध्यक्ष लुङ्वाका अनुसार प्रतियोगिताको खर्च विवरणमा केही त्रुटिहरु रहेको बताए । केही खर्च शीर्षकहरू दोहोरिएको र केही खर्च शीर्षक मिलानमा प्राविधिक कमजोरी भएको बताए । खर्च मिलान गर्न केही शीर्षकहरू उस्तै प्रकृतिको देखिएको उनले बताए ।

गोल्डकपको आम्दानीका क्षेत्रहरू उठाउन समय लागेकाले हिसाब किताब सार्वजनिक गर्न समय लागेको उनले बताए । अझै पनि केही खर्चहरू फर्छ्यौट गर्न बाँकी रहेको र त्यसलाई पनि खर्चको विवरणमा समावेश गरिएको उनको भनाई छ । पत्रकार तालिम, विज्ञापन तथा प्रचार प्रसार लगायतका खर्चहरू पठाउन बाँकी नै रहेको उनले बताए ।

पछिल्लो समय प्रतियोगिताको लागि स्थानीय तहबाट बजेट उपलब्ध हुने क्रम घटिरहेको उनले बताए । स्थानीय हत आफै प्रतियोगिता आयोजना गर्ने कार्यमा अग्रसर रहेकाले प्रतियोगिताको बजेट घटेको उनको भनाई छ । पछिल्लो समय स्थानीय तहको स्रोत पनि घटेकाले प्रतियोगिताको बजेट स्वतः गिरावट आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप