‘आइमाई पनि न्यायाधीश ! कस्तो रहेछ आइमाई न्यायाधीशको अनुहार !’

‘आइमाई पनि न्यायाधीश ! कस्तो रहेछ आइमाई न्यायाधीशको अनुहार ! भन्दै मानिसहरु मलाई हेर्न आएका थिए,’ आफू पहिलोपटक न्यायाधीश बनेर भक्तपुर जिल्ला अदालत पुगेको क्षण सम्झिन्छिन् सत्यभामा माथेमा, ‘मानिसहरु कानेखुसी गर्दै थिए— आइमाईले पनि मुद्दा छिन्छन् र ?’
उनलाई त्यहाँका सिनियर न्यायाधीशले सुरुमा त्यति पत्याएनन्, सुरुमै अलि जटिल खालको चोरी मुद्दा थमाइदिए, सायद परीक्षा लिए— हेरौँ न त यसको क्षमता !
आफ्नो इजलासमा परेको पहिलो मुद्दालाई सत्यभामाले परीक्षा र चुनौतीकै रुपमा लिनुपर्यो । मुद्दा छिन्ने तरिका बुझ्न उनले त्यसअघि त्यहाँबाट छिनिएका केही मुद्दा अद्योपान्त पढिन् र आफ्नो मुद्दा छिनिदिइन् । सिनियर न्यायाधीशले व्यवहार र दृष्टिकोण बदल्न करै लाग्यो ।
स्कुल पढ्दादेखि नै कविता र निबन्ध लेख्न थालेकी सत्यभामा माथेमा (जन्म ः १९९१ साल) नेपालकै प्रथम महिला न्यायाधीशका रूपमा परिचित छँदै छन्; यसबाहेक उनको थप परिचय छ— कवि र उपन्यासकार । काठमाडौँको ओम बहालमा जन्मी–हुर्केकी सत्यभामाले मूलतः नेपालभाषामा कलम चलाउँछिन् । अहिलेसम्म उनका तीन कृति प्रकाशित छन्— नेपालभाषाको कविता संग्रह ‘ककःचा’ (तिते करेला), नेपालभाषाकै उपन्यास ‘फ्वाःगु जीवन’ (समयले घचेटेको जीवन) र नेपाली भाषाको कवितासंग्रह ‘मभित्रको यज्ञशाला’ ।
डुलन्ते स्वभाव
सत्यभामाका बुवाले तीनवटी बिहे गरेका थिए । आफ्नी आमापट्टिका तीन सन्तानमध्ये उनी कान्छी हुन् । उनीअघिका दुई सन्तान भने हुर्केनन् । बुवा बितेको १३औँ दिनमा जन्मिएकी थिइन् उनी । उनले बुवाको माया अनुभव गर्न पाइनन् नै, बुवाको सम्पत्तिमा समेत उनीहरुले हक नपाउनेजस्तो स्थिति बन्यो । उनकी आमामाथि सौतेला छोराहरुले अंश मुद्दा हालेका थिए । मुद्दा चलेसँगै उनकी आमाले माइतीको शरण लिनुपर्यो, जतिबेला सत्यभामा १३ वर्षकी थिइन् ।
आमाले झन्डै २० वर्ष मुद्दा लड्नुपर्यो, यही क्रममा सत्यभामाले देशको कानुन र कानुनी प्रक्रिया बुझ््ने अवसर पाइन्, अन्ततः देशकै पहिलो न्यायाधीश हुन पुगिन् । तर त्यहाँसम्मको यात्रा उनका लागि सहज भने थिएन ।
केटाकेटीमा सत्यभामा डुलन्ते स्वभावकी थिइन् । प्रायः बिहानको खाना खाएपछि उनी मिल्ने साथी शंकरमायालाई लिएर सहरका चोक र गल्ली धाउँथिन् । डुल्दै जाँदा एक दिन उनीहरु यस्तो ठाउँमा पुगे, जहाँ आफूजस्तै केटाकेटीलाई पढाइएको थियो । अरुले पढिरहेको उनीहरुले अनौठो मानेर हेर्दै थिए, शिक्षकले बोलाए— पढ्छौ ? आउ ।
यसरी उनीहरुले पहिलोपटक स्कुलको दैलो टेके, (स्कुल भन्दा पनि केटाकेटी जम्मा गरेर पढाइने कुनै स्थान भनौँ) । भोलिपल्ट पनि उनीहरु पढ्नका लागि त्यहाँ गए, शिक्षकले हाजिर गर्दा सबैको नाम लिए तर उनीहरुको नाम लिएनन् । आफूहरुलाई नबोलाएको भन्दै त्यही दिन दुवैले स्कुल छाडे । आफू कुन स्कुल कहाँ गएको भन्ने सत्यभामालाई सम्झना छैन । त्यतिबेला आफू १० वर्षकी हुँदी हुँ भन्ने उनलाई लाग्छ ।
यसरी नै उनीहरु अर्को एक स्कुलमा पुगे । त्यहाँ नेपालीमा मात्रै पढाइ हुन्थ्यो र सिलाइबुनाइ पनि सिकाइन्थ्यो । उनीहरुले त्यहाँ पढ्दै गर्दा बाहिर सडकतिर हरेक दिनजसो नारा–जुलुस हुन्थे । उनले पछि थाहा पाइन्, ती नारा–जुलुस राणाशासन विरुद्ध रहेछन् । जुलुस हेर्न उनलाई खुब रहर हुन्थ्यो, तर शिक्षकले दिँदैनथे । यही झोँकमा उनले त्यो स्कुल पनि छाडिन् । वास्तवमा उनले सिलाइबुनाइ नसिकाई पढाउने मात्रै स्कुल चाहेकी थिइन् ।
पछि भेट हुँदा शिक्षक कंसाकारले भने, ‘हेर त सत्य ! तिम्रो घडी कविता ठ्याक्कै मिल्यो । साँच्चिकै समय टक्क अडिएको छ । तिमी कविता लेख ।’
अन्ततः उनी कन्या मन्दिर (न्ह्यःखा) पुगिन् र केही समय स्थिर भएर पढिन् । समाजका भद्र–भलादमीले खोलेको स्कुल भएर होला, त्यहाँ उनीहरुलाई कसैले कुनै शुल्क मागेन । कापी–कलमबिनै उनी स्कुल जान्थिन् । उनले स्कुल पढ्न थालेको आमालाई थाहा थिएन । छोरी कतै खेल्न जाने गरेकी छ भन्ने उनकी आमालाई लागेको थियो । कक्षा ५ मा पढ्दै गर्दा उनले कुनै प्रतियोगिता जितिन्; पुरस्कारमा थुप्रै कापी–कलम र किताब पाएकी थिइन् । त्यो पुरस्कार लिएर घर गएपछि उनले स्कुल पढ्न थालेको आमाले थाहा पाइन् । आमाले यति मात्रै भनिन्, ‘ए, दिनभरि स्कुल पढ्न जान्छेस् !’
आमाले त उनलाई कुनै रोकटोक गरिनन् तर उनले पढेको मामाको घरकालाई मन परेको थिएन । त्यतिबेला छोरीले पढ्न हुन्न, पढे बिग्रन्छन् भन्ने मान्यता समाजमा स्थापित थियो । कक्षा ५ मै पढिरहेका बेला मामाले उनको सबै कापी–किताब च्यातिदिए, उनी रातभरि रोइन् । यही बेला उनीसँगै पढ्ने दुई सहपाठीले भागेर बिहे गरे । एकजना त पढाउने शिक्षकसँगै गएकी थिइन् । ‘त्यसपछि म एक्लै भएँ, कक्षा नै बन्द भयो । अनि घरमै बसेर पढ्न थालेँ,’ सत्यभामा आफ्नो विद्यार्थी जीवन सम्झन्छिन्, ‘पछि साथीभाइको मद्दतले पद्मोदयबाट २०१६ मा एसएलसी गरेँ । त्यसपछि नेसनल कलेज (अहिलेको शंकरदेव)बाट आईए र बीए गरेँ ।’
आईए पढ्दा मासिक आठ रुपैयाँ शुल्क लाग्थ्यो । यो शुल्क तिर्न नसकेर उनले एकपटक आमाको फरिया बेच्नुपरेको थियो । आईए पास गरेपछि केही समय उनले आदर्श विद्या मन्दिरमा पढाउन थालिन् । त्यहाँको तलबले कलेजको गर्जो टथ्र्यो ।
बीए गरेपछि उनले कानुन पढ्न थालेकी थिइन् । २० वर्षसम्म आमाको मुद्दा लड्दा उनलाई कानुन बुझ्नैपर्छ, नत्र पछि परिन्छ भन्ने लागेको थियो । कानुन पढ्दा उनी बेरोजगार थिइन् । खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताउन थालेको थियो । त्यतिबेला उनकी क्लासमेट थिइन्, सुकन्या वाइबा (पारिजातकी बहिनी) । पारिजातले जगदम्बा (मदन मेमोरियल) स्कुलमा पढाउँथिन् । पारिजातले उनलाई पनि त्यहीँ पढाउने जागिर मिलाइदिइन् । पार्ट टाइम भूगोल विषय पढाउने उनले मासिक सय रुपैयाँ तलब पाउँथिन् । त्यसले आमाछोरीलाई खर्च पुग्थ्यो ।
२०२४ सालमा बीएल गरेकी उनले नाम निकालेरै कानुन मन्त्रालयमा जागिर खान पुगिन्, शाखाअधिकृत पदमा । त्यतिबेला उनको तलब ४०० रुपैयाँ थियो । पछि उनले सर्वोच्च अदालतमा सरुवा मिलाइन्, कारण उनलाई मुद्दा लेख्न सिक्नु थियो । सर्वोच्चमा केही समय बिताएपछि २०२५ सालमा उनी भक्तपुर जिल्ला अदालतमा न्यायाधीश बनेर गइन् ।
पैसाको मामिलामा उनी फुर्मासे स्वभावकी छन् । जागिर गरेर जति कमाइन्, सबै खर्च गरिन् । सत्यभामा भन्छिन्, ‘अहिले पनि म त्यस्तै छु, सुकन्याले मलाई अहिले पनि गाली गर्छिन्, फुर्मासे भनेर ।’ पारिजातले भने उनलाई ‘हाकिम’ भन्थिन् । एकपटक सत्यभामाले आफ्नो छोरालाई गाली गरेको पारिजातले देखेकी थिइन् । त्यसपछि पारिजातले उनलाई हप्काइन्— केटाकेटीलाई त्यसरी हप्काउन हुन्छ ? हाकिम भएर अरुलाई अर्डर गरेजस्तो होइन, बच्चासँग नरम व्यवहार गर्नुपर्छ ।
त्यसपछि पारिजातले आफूलाई ‘हाकिम’ भन्न थालेको उनको भनाइ छ ।
टक्क अडिएको समय
सानैदेखि सत्यभामा संवेदनशील र भावुक प्रकृतिकी थिइन् । उनी प्रायः साँझपख कौसीमा पल्टिएर बादल हेर्थिन् र बहकिन्थिन्, अनेक कल्पन्थिन् । सायद यस्तै कल्पनाले उनीमा साहित्यिक चेत विकास भयो कि ! ‘एसएलसी दिनुअघि म शिक्षक प्रेमबहादुर कंसाकारको घरमा भूगोल विषय पढ्न जान्थेँ । एक दिन पढ्ने क्रममा उहाँ (शिक्षक कंसाकार)ले भित्तामा रहेको घडी देखाउँदै भन्नुभयो— ओ सत्य, तिमी यसको बारेमा एउटा कविता लेख त,’ आफू पहिलोपटक आशुकवि भएको पल सम्झिन्छिन् उनी, ‘कन्या मन्दिरमै हुँदा मैले निबन्ध लेखनमा मेडल त पाएकी थिएँ, अन्तरविद्यालय प्रतिस्पर्धामा असल छोरा शीर्षकको निबन्ध लेखेर । नेपाल भाषामा केही कविता समेत कोरेकी थिएँ । त्यहाँ मैले घडीमाथि केही हरफ लेखेँ ।’
त्यो कविताको दुई हरफ उनलाई अहिले पनि याद छ,
मजाले चलिरहेको थियो घडी
चल्दाचल्दै टक्क अडियो... ।
यो त्यो समय थियो, जतिबेला चुनाव जितेर बीपी कोइराला प्रधानमन्त्री भएका थिए । त्यही बेला देशमा विश्वविद्यालय खोल्नुपर्ने मागसहित जुलुसहरू हुने गर्थे । विश्वविद्यालय खोल्नका लागि बीपीले प्रतिबद्धता समेत गरेका थिए । यत्तिकैमा राजा महेन्द्रले प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था लागु गरे । पछि भेट हुँदा शिक्षक कंसाकारले भने, ‘हेर त सत्य ! तिम्रो घडी कविता ठ्याक्कै मिल्यो । साँच्चिकै समय टक्क अडिएको छ । तिमी कविता लेख ।’
करिब ३० वर्षको समय राजा महेन्द्रको मुठीमा पर्यो । यहीबिचमा सत्यभामाले भने सक्दो संघर्ष गरिन् र आफूलाई न्यायाधीश बनाइन् । न्यायाधीश बनेर उनी बारा, जुम्ला लगायत जिल्ला पुगिन् । विशेषतः महिलाले लोग्नेबाट वा बाउबाट अंश नपाएर परेका मुद्दामा उनको विशेष लगाव रहन्थ्यो । अन्यायमा परेका अनुहारहरुमा उनी कविता देख्थिन् सायद—
म यज्ञशाला हुँ
अनि चिहान पनि
महलका खण्डहरुबाट निस्केका
अपरिचित कङ्कालहरु
निरपराध टुकुचामा फ्याँकिएकाहरु
स्त्री र पुरुषका अवाञ्छित बच्चाहरु
सबैलाई समेटेकी छु
मेरो हृदयको यज्ञशालाबाट
मलाई घचघचाउँदै छन्
स्वतन्त्रताको बिगुल बजाउन
हकको आवाज उठाउन ।
(मभित्रको यज्ञशाला, २०२७)
आजभन्दा ५९ वर्षअघि (ने.सं. १०८६ मा) नेपालभाषाका आधुनिक कविहरुको कविता संग्रह आएको थियो, ‘गाजलं दाःगु चा’ । त्यसमा सत्यभामाका दुई कविता परेका छन्, ‘अल्बम’ र ‘जिगु लं’ शीर्षकका ।
शिक्षक कंसाकारको प्रेरणापछि सत्यभामालाई कविता लेख्नुपर्छ भन्ने भएको थियो । कविता फुरेका बेला उनी अगाडि जे भेट्यो त्यसमै लेखिहाल्थिन्— नेपालभाषा र नेपालीमा । ‘त्यसरी टिपेर राखेका कैयौँ कविता त हराएर गए,’ उनी भन्छिन्, ‘केही कविता भने मेरो संकलनमा रहिरहे ।’
१२ वर्षअघि अर्थात् नेपाल संवत् ११३३ मा प्रकाशित नेपालभाषाको कविता संग्रह ‘ककःचा’ उनको पहिलो कृति हो । यो कृति छपाउनका लागि उनको ५० हजार रुपैयाँ खर्च भएको रहेछ । त्यसपछि ने.सं. ११३६ मा उनको नेपालभाषामै दोस्रो कृतिका रुपमा उपन्यास आयो, ‘इलं फ्वाःगु जीवन’ (समयले घचेटेको जीवन) । यसमा आफूले नवीन प्रयोग गरेको उनी बताउँछिन् । ‘यो अलिकति कथाजस्तो, अलिकति उपन्यासजस्तो, अलिकति नाटकजस्तो छ,’ उनी भन्छिन्, ‘यसलाई मैले सुरुमा नेपाली भाषामै लेखेकी थिएँ । पछि साहित्यकार भूषणप्रसाद श्रेष्ठलाई अनुवाद गर्न लगाएँ । यसको नेपाली पाण्डुलिपि अझै पनि सुकन्यासँग छ ।’
नेपालीमा पनि प्रकाशन गर्ने कि ! उनी छोटो जवाफ दिन्छिन्, ‘खोइ, थाहा छैन ।’
एक वर्षअघि उनको कविता संग्रह ‘मभित्रको यज्ञशाला’ आएको छ । यस संग्रहमा उनका सुरुदेखिका कविता संग्रहित छन् । उनले आजभन्दा ५७ वर्षअघि (२०२४ सालमा) भानुभक्तको कवि हृदयमाथि प्रश्न गरेर कविता लेखेकी थिइन् —
तिमीलाई हेक्का छ,
तिम्रो पक्षपातपूर्ण विचारधारा
स्त्री जातिप्रति तिम्रो निम्नकोटिको विचार
तिमीलाई छोरा भन्न पनि
तिमीलाई आफ्नो भन्न पनि
लाज मानेर तिम्री आमा रुन्थिन् होली !
(ए भानुभक्त, तिमीमा कविको हृदय छ ?)
सत्यभामाको कवि व्यक्तित्वमाथि प्रतिसरा सायमिले संग्रहको भूमिकामा लेखेकी छन्, ‘टुकुचामा फ्याँकिएका अवाञ्छित निरपराध बच्चाको पक्षमा, शोषण विरुद्ध कलम युद्ध छेड्े साहस बोक्दै, घुमाउरो रेशमी जालीमा अबोध जीवनको झुत्रो लासको कंकाल सिँगार्न नचाहने कानुन व्यवसायी कवि हुन् सत्यभामा माथेमा ।’
०००
९१औँ वसन्तमा हिँड्दै गरेकी माथेमाले यतिखेर मधुमेहको औषधि लिइरहेकी छन् तर उनको बोली र विश्वास उस्तै जवान छ । केही वर्षअघि उनले राजेन्द्र महर्जनलाई भनेकी थिइन्, ‘अब जति दिन बाँचिन्छ, सक्दो पढिन्छ, लेखिन्छ । शरीरले थेगेसम्म सक्रिय होइन्छ, (मभित्रको यज्ञशालामा महर्जनको भूमिकाबाट) ।
एक वर्षअघि कविता संग्रह निकालेको खुसीले उनको मुहारलाई अझै छाडेको छैन । प्रस्ट र उस्तै अदम्य साहसले बोल्ने उनले मलाई आफ्नो संग्रह हस्ताक्षर गरेर दिइन्, केही प्रेमपूर्ण शब्दहरु लेखेर । लेख्दा उनको हात काँपेको थिएन, बोल्दा उनको बोली काँपेको थिएन ।
उनी २०५३/५४ सालदेखि श्रीमान्सँग अलग बस्न थालेकी थिइन् । एक वर्षअघि उनका श्रीमानको निधन भयो । हिजोआज उनी एक्लै छिन्, आफूलाई सघाउने एक महिला राखेकी छन् । साथमा एउटा कुकुर पनि छ साथमा । ‘तर अब यो नै अन्तिम हो । अब पाल्दिनँ होला,’ उनले कुकुरतिर औँल्याउँदै भनिन्, ‘दिन काट्न मोबाइल हेर्छु । आफन्त, प्रियजनहरू भेट्न आउँछन् उनीहरूसँग भलाकुसारी गर्छु । कहिलेकाँही आफन्तकहाँ पनि जान्छु । दिनहरू जसरी नि बितिहाल्छ नि । रोकेर राख्न पनि सकिन्न !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकबिनै सम्भव छ कक्षा १२ को परीक्षा ?
-
११ सदस्यीय जुडो टोली मंगलबार राति थाइल्यान्ड जाने
-
क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको तयारी : कप्तान पौडेलसहित ऐरीको टोलीबिच आन्तरिक प्रतियोगिता
-
कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा ६ जनालाई योद्धा सम्मान प्रदान
-
नयाँ राजनीतिक दलबारे प्रधानमन्त्रीको टिप्पणी: चलाउन नजान्ने ड्राइभरलाई जिम्मा दिन सकिँदैन
-
शिक्षा प्रणालीलाई प्रविधियुक्त र समायानुकुल बनाउन आवश्यक : मन्त्री दाहाल