बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
पुस्तक चर्चा

गोपी मैनालीको ‘विशृङ्खलित सपना’लाई नियाल्दा...

शनिबार, ०६ वैशाख २०८२, १८ : १६
शनिबार, ०६ वैशाख २०८२

नेपालको प्रशासन र लेखन क्षेत्र दुवैमा दक्ष नेपाल सरकारका पूर्वसचिव गोपी मैनालीकृत विशृङ्खलित सपना नामक कथासङ्ग्रह भर्खरै सार्वजनिक भएको छ । साहित्यको अनेक विधामा कलम चलाउँदै आएका मैनालीको यो आठौँ कृति हो । मानव जीवन अनेकौँ ऊहापोहको भुमरीबिच चलेको हुन्छ । सोझो, सजिलो र शृङ्खलित छैन जीवन; झन् सपनाहरू कहाँबाट शृङ्खलित हुन्थे । हो, ‘विशृङ्खलित सपनाबाटै चलेको हुन्छ मानव जीवन’ भन्ने कथाकारको ध्येय रहेको छ ।

कथामा आफ्नै जीवनका भोगाइ, समाजका विकृति विसङ्गति र यथार्थ चित्रणलाई कथाका रूपमा प्रस्तुत गर्न सफल रहेका छन् मैनाली । यस पुस्तकमा सत्रवटा कथाहरू सङ्गृहित छन् । 

विशृङ्खलित सपना सङ्ग्रहको पहिलो कथा ‘आमासँग कुरा गर्ने धोको’ शीर्षकले एकदम मन छोयो । संसारमा सबैभन्दा प्रिय र महान् व्यक्ति आमा हुन् । ‘यदि आमा छन् भने त्यो व्यक्ति कहिल्यै गरिब हुनुपर्दैन’  भन्ने उखान रहेको छ हाम्रो समाजमा । यसरी दाँजिएको छ, आमालाई प्रेमको प्रतिमूर्तिसँग । यस कथामा जागिरे अवस्थाका कारण चाहेर पनि आमासँग बस्न नपाउनुको अवस्था र आमासँगको जीवन भोगाइ, आमा बिरामी हुँदा सन्तानलाई के कस्तो पीडा हुन्छ भन्ने कुरा कथाकारले प्रस्तुत गरेका छन् । आमा दीप हुन्— आफू जलेर सन्तानलाई उज्यालो छर्ने; आमा धर्ती हुन्— आफूले वेदना सहेर सन्तानलाई उज्यालो मुहार देखाउने; आमा घरकी देवी हुन्— सन्तानको प्रगतिमा खुसी हुने । यस्ती आमालाई गुमाउनुपर्दा सन्तान सदाका लागि अनाथ हुन्छन् । आमासँग कुरा गर्ने धोकोमा पहिल्यै आमाले आफू बिरामी भएको कुरा सन्तानलाई अवगत गराएको भए सायद यति छिट्टै मृत्युको मुखमा होमिनुपर्थेन कि ?

आमालाई अस्पताल लैजाँदा डाक्टरले ‘बिमारीलाई पनि सास्ती, तपाईंहरूलाई पनि सास्ती, पैसाको पनि खर्च, अपरेसन गरेर टुङ्गो लगाए जाति’ (पृ.६) भन्ने वाक्यले के यस्ता शब्दहरू एउटा डाक्टरको मुखबाट भन्न सुहाउँछ र ? यसरी आमालाई पैसासँग तुलना गर्न हुन्छ ? यहाँ कथाकारले आमा र रोशी खोलाको महिमा उत्तिकै गरेका छन् । सायद यही भएर नै भन्ने गरिन्छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ । आमा र जन्मभूमि स्वर्ग भन्दा पनि ठुला हुन् ।

‘सधैँ असुरक्षित’ कथाकी अन्नीजस्तै हाम्रा समाजका छोरीहरू किन नित्य असुरक्षित हुने गर्छन् ? खै कहाँ छन् हाम्रा छोरीहरू सुरक्षित ? न घरमा न स्कुलमा न बसमा न मन्दिरमा न कार्यालयमा । अन्नीलाई जब आफ्नै बाल साथी विपुलले स्कुलबाट घर फर्किरहेको समयमा एकान्त पारेर म्वाइँ खान्छ, तब ऊ स्तब्ध हुन्छे । उसलाई सधैँ डर उत्पन्न हुन थाल्छ मनको एउटा कुनामा । हो त्यस्तै केही समय पहिला डडेल्धुराकी भागिरथालाई पनि स्कुलबाट घर फर्किरहेको समयमा दुष्टहरूले बलात्कार गरेर मृत्युको मुखमा पुर्‍याएका थिए । उता घरमा बसेकी निर्मला पन्तले ज्यान गुमाउनुपरेको थियो । हो, यस्ता तमाम डरलाग्दा घटना हाम्रो समाजमा घटिरहेका छन् । खै छोरीहरूको सुरक्षा जिम्मेवार निकायबाट ?

प्रायः कथामा आमा र रोशी खोलाको चित्र उतारिएको छ । मातृ र मातृभूमिप्रतिको स्नेह हो त्यो । कथामा पात्र र परिवेशलाई जे–जस्ता शब्दचित्रले उतारिएको छ, ती शब्दचित्रले मस्तिष्कमा एक खालको विम्ब ल्याउँछन् । कथामा भाषा शैली सरल छ र सहज छ । सबै कथा उत्तिकै बेजोड लाग्छन् ।

छोरीलाई कमजोर आफ्नै घर–परिवार र समाजले बनाएको छ र त ‘उसले छोरीको जीवन काँच जस्तै त हो नि’ –(पृ ४९) भन्ने बुझी । जीवनभरि अप्ठ्यारो पर्ला कि भनेर अन्नीले आफूमाथि घटेको दुव्र्यवहार आफ्नी आमा र हेडसरलाई भन्न पनि सकिनँ । यदि त्यस घटनाबारे उसले केही बताएको भए त्यस्ता नरपिसाचले समाजमा हाबी हुने मौका पाउँथेनन् कि ? परम्परादेखि चलिआएको एउटै परिवारमा जन्मेका छोरीहरूको न जन्म घर हुन्छ, न त थर न त सुरक्षा कवच नै । यो कस्तो परम्परा हो ? महिलाहरू सबैथोक सहेर पनि अरूका लागि रमाउनुपर्ने यो कस्तो नियति हो ? सोच्दै छे, अन्नीले । उसको आँखामा सबै पुरुषहरू निन्दनीय लागेका छन्, यी सब घटनाले गर्दा । यहाँ कथाकारले समाजमा छोरीचेलीको असुरक्षित अवस्थाले गर्दा प्रगति गर्ने उमेरका छोरीहरू कसरी विचलित भएका छन् भन्ने मार्मिक दृष्टान्त दिएका छन् ।

त्यस्तै अर्को कथा ‘विसमको मोटरसाइकल’मा द्वन्द्वकालीन युगमा प्रतिगामी युवाहरूले देशमा बन्द हडताल गर्ने, वातावरण धमिल्याउने, परिवेशलाई उत्तेजित बनाउने, आतङ्कित पार्ने, क्रान्तिको नाममा भाँडभैलो मच्चाउने, साइकल, मोटरसाइकल, गाडी जलाउने, पसल खोलेमा भौतिक कारबाही गर्ने जस्ता गतिविधि गरे र अझै पनि देशमा त्यही परिपाटी कायम छ । बाबुआमाको दायित्व नै हो सन्तानको आवश्कता पूरा गर्नु... । यही सम्झी सहरमा पढ्न बसेको छोरा विसमलाई आमाले गहना बेचेर पैसा पठाइदिन्छिन् मोटरसाइकल किन्न । आफूले कमाएपछि गहना बनाइदिन्छु भनी उसले चिठीमा भनेकै छ । नेपाल बन्दको समयमा विसमले प्रेस लेखेको मोटरसाइकल चलाउँदा चाबी खोसेर—हडताल विरोधी भन्दै आन्दोलनकारीले आगो लगाइदिन्छन् । मोटरसाइकल खरानीमा परिणत हुन्छ । बल्लबल्ल किनेको सवारी यसरी जलाउँदा कस्तो सन्ताप भयो होला ? त्यसरी जलाउनुको औचित्य आखिर के रह्यो ? अराजकताले देश छोपेको थियो विगतमा र अहिले पनि छोपेकै छ । 

‘साथी र सापटी’ कथामा साथी तथा आफन्तलाई बडो दुःखले आर्जन गरेको पैसा सापटीको रूपमा दिँदा कस्तो हुन्छ भनी देखाउन खोजिएको छ । त्यसैले भनिएको छ, धनको मुखै कालो । यही सापटी पैसाले गर्दा नै कति आफन्तकोे सम्बन्ध टुक्रिएको छ । आफ्नै पैसा माग्दा कतिको हत्या समेत भएको छ । साथीलाई पैसा दिँदा ‘खाऊ भने दिनभरिको शिकार नखाऊँ त कान्छो बाउको अनुहार’ भनेजस्तै हुन्छ । हाम्रो समाजका व्यक्ति हार्दिकजस्तै ठगिएका छन् । सियो भएर पैसा माग्ने मुसल भएर निस्कने राघवजस्तो प्रवृत्ति भएका मानिस समाजमा अहिले पनि उत्तिकै छन् । ठगिएको छ, सबै ठाउँमा हार्दिक । प्रस्तुत कथा स्वैरकल्पनामा आधृत नभई नेपाली समाजको जीवनसँग निकट रहेको छ । यसरी मानवीय संवेदना र समाजको विकृति विङ्गतिको केन्द्रीयतामा रचिएका छन् मैनालीका कथा । 

‘सुकरामको रेडियो प्रेम’ कथामा सिङ्गो डोल्पाको सामाजिक, आर्थिक सांस्कृतिक तथा प्राकृतिक पक्ष अनि त्यहाँको जीवनशैलीलाई देखाउन खोजिएको छ । आजको युगले सञ्चार सुविधा पर्याप्त बनाउँदा पनि डोल्पामा भने रेडियो समेत नपुग्नुले त्यो ठाउँ कति दुर्गम रहेछ भन्ने बुझ्न सकिन्छ । रेडियो बज्दा सुकराम जस्ता व्यक्ति आश्चर्यमा पर्नुले पिछडा समाजको आकलन गर्न सकिन्छ । आखिर त्यो विकटताले निम्ताएको अज्ञानता त हो नि ! हरियाली नभएका उराठलाग्दा अजङ्गका पहाड देखिनु, हिउँले गर्दा रुख रोपेर हुर्किन समय लाग्नु, त्यसमा पनि आगो ताप्नकै लागि रुख काट्नुपर्ने कस्तो विरोधाभासी जीवनशैली रहेछ त्यहाँ । सामान ढुवानीका लागि भेडा तथा खच्चर साधनको रूपमा प्रयोग हुनुपरेको छ । मोटर आएपछि यहाँको संस्कृति मासिन्छ कि भन्ने डर रहेको छ कथाकारलाई । जहाँ विकास हुन्छ त्यहाँ केही न केही विनाश हुन्छ नै । कथाकारको साथमा मनोरञ्जनको नाउँमा एक मात्र साधन रहेको छ रेडियो, जसले देशभरिको खबर ओसार्छ । सेवाग्राही सुकराम जसले रेडियो बज्दा अचम्म र नौलो मान्दै सोध्छ, ‘साब रेडियोमा बोली कसरी आउँछ ? कति मिठो आवाज, आएर पनि सक्दैन । कति भरेको छ’ (पृ.११२) । 

हामी सानो हँुदा हाम्रो बाल मस्तिष्कले पनि त्यही सोच्ने गथ्र्याे, यहाँभित्र मान्छे होला । आवाज कसरी आएको होला । सायद सुकरामलाई पनि त्यही लागेको छ । आश्चर्य लागेको छ उसलाई कसरी बज्छ रेडियो भनेर । अनि नियालिरहन्छ रेडियोलाई । ठाउँ अनुसारका राम्रा–राम्रा गीत बज्छन् तर डोल्पाकै गीत बज्दैन रेडियोमा । डोल्पावासी हिन्दी चलचित्रका गीतबाट राम्ररी प्रभावित भएका छन् । हिन्दी गीतले नै साम्राज्य फैलाएको छ डोल्पामा । यदि आफ्नो ठाउँ सुहाउँदो गीत बज्थ्यो भने सुकराम जस्तो पात्रको मनमा कति खुुी छचल्किन्थ्यो होला ? मान्छेलाई कति प्रभाव पार्छ आफ्नो भाषा तथा संस्कृतिले । त्यहाँ युगले पुर्‍याएको मनोरञ्जनको साधन छैन । छ त केवल निश्छल माया र त सोधेको छ सुकरामले ‘साबको सरुवा कहिले हुन्छ’ (पृ.११३) । उसलाई सबै सुन्न मिल्ने रेडियो प्रिय लागेको छ साब भन्दा पनि । 

कथामा सुकराम एउटा पात्र मात्र हो । सिङ्गो दुर्गम जिल्लामा रेडियो समेत पुग्न नसकेको कस्तो अन्धकारमय स्थितिमा रुमलिएका रहेछन् त्यहाँका जनताहरू भन्ने देखाइएको छ । 

‘जन्मदिन’ कथामा जन्म दिन मनाउने प्रचलन आएको छ । सानो छँदा आमाले दियो बाली, सूर्यलाई अघ्र्य चढाएर अष्ट चिरञ्जीवीको पूजा गरी खीर खाएर मनाउने गरिन्थ्यो जन्मदिन । तर अहिले यस्तो मौलिकता हराउँदै गएको छ । पश्चिमी संस्कृतिले अतिक्रमण गरेको छ । त्यसैको देखासिकीमा हामी उभिएका छौँ । बलिरहेको दीपलाई निभाई ‘ह्याप्पी बर्थ डे टु यु’ भन्दै ताली पिट्छौँ । आफ्नो संस्कृति र धरातललाई बिर्संदै गएका छौँ भने अर्कोतर्फ अनेकौँ जिम्मेवारीले गर्दा सानो हुँदाखेरिको जस्तो जन्मदिन रमाइलो र रसिलो नहुँदो रहेछ । आफ्नै व्यवहारले थिचेको हुन्छ । त्यति महत्त्व पनि लाग्दैन अहिले । जन्मदिनको औचित्य त्यति बेला पुष्टि हुन्छ, जति बेला मानव सेवा आश्रमका र त्यस्तै संस्थाका बाबु नानीहरूलाई सँगै बसेर भोजन गराइन्छ । ती असहाय बालबच्चाको मुहारमा दियो बाल्न सकेमा जन्मदिन स्वतः सार्थक हुन्छ भन्ने कथाकारको उद्देश्य रहेको छ । म पनि सम्झन्छु मेरा छोरीहरूले पनि समाज विकास संस्थाअन्तर्गत हाम्रो बालगृहमा गएर नानीहरूलाई भोजन गराई उनीहरूसँगै जन्म दिन मनाउने गर्छन्— समय अनुकूल हुँदा । 

निम्न वर्गीय परिवारको जीवन भोगाइ तथा आर्थिक कठिनाइले के कस्तो प्रभाव पार्छ भन्ने ‘उसको पनि दसैँ होला’ कथामा उल्लेख गरिएको छ । अनेकाँै कठिनाइलाई पार गर्दै हरि आफ्नो घर परिवार र गाउँ छोडेर काठमाडौँ जान्छ । अनि सहरका घरमा रङ लगाउने काम पाउँछ । सोझो इमानदार व्यक्ति भएकाले प्रगति राम्रै गर्छ । ऊ सन्तुष्ट हुन्छ । हरि विदेश जाने युवाभन्दा केही कम छैन पैसा कमाउन । फेरि पनि आउँछ दसैँ भनी ऊ काममा बस्छ, ‘मनी अट्राक्ट मनी’ भनेझँै पैसाको महत्त्वाकाङ्क्षा बढेकाले ऊ घर पनि जाँदैन । परन्तु उसको प्रगतिमा एकाएक छाँगो खस्छ । दसैँका बेलामा घर नगई रङ लगाउँदा कम्मरको डोरी छिनेर तीन तलाबाट बजारिन्छ । उसको र परिवार सबैको सपना तुहिन्छ । 

आखिर उसले गरेको धपेडी परिवारको उन्नतिकै लागि न हो । एउटा नेपाली समाजको प्रतिनिधि पात्र मात्र हो हरि । उसले भोगेको समाज जहाँ दुःख, कष्ट, पीडा, गरिबी, अभाव रहेको छ । यसले नेपाली समाजकै प्रतिनिधित्व गरेको छ । त्यो दुःख कहिल्यै सकिनेछैन निम्न वर्गका मानिसहरू माझ । यस्तो वियोगको कथाले मेरो मनमा कम्पन छुट्यो । 

गोपी मैनालीका कथामा समाजका यथार्थ पात्रहरू आएका छन् । प्रायः कथामा आमा र रोशी खोलाको चित्र उतारिएको छ । मातृ र मातृभूमिप्रतिको स्नेह हो त्यो । कथामा पात्र र परिवेशलाई जे–जस्ता शब्दचित्रले उतारिएको छ, ती शब्दचित्रले मस्तिष्कमा एक खालको विम्ब ल्याउँछन् । कथामा भाषा शैली सरल छ र सहज छ । सबै कथा उत्तिकै बेजोड लाग्छन् । 

यति हुँदाहुँदै पनि कुनै कुनै कथा आत्मसंस्मरणझैँ लाग्छन् भने कुनै कथा नियात्रा जस्तो । यसै सन्दर्भमा मलाई यहाँ भारतीय कवि प्रमोद तिवारीको एउटा हिन्दी कविता राख्न मन लाग्यो– 

अपनी रचना अपनी होगी

अपना पथ अपना होगा

अपनी रचना मे तुमको

झलकेंगी गंगा जमुना । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रेखा आचार्य ज्ञवाली
रेखा आचार्य ज्ञवाली
लेखकबाट थप