सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर ज्ञानेन्द्रले गरे ‘लन्च मिटिङ’

शनिबार, ०६ वैशाख २०८२, २३ : २४
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका ७ जना नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरेका छन् ।  उनले शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । सो क्रममा उनले राजतन्त्रको पक्षमा जनमत बढेपनि राजावादी समूह नै एकताबद्ध नभएको गुनासो पोखेको उच्च स्रोतले बतायो । 

‘पूर्वराजाले नयाँ वर्षको अवसरमा आफ्ना सहयोगी दलका नेताहरूलाई बोलाएर लन्चसहितको छलफल गर्नुभएको हो । करिब डेढ घण्टाको छलफलमा मूलतः पूर्वराजाले राजावादी समूह एकताबद्ध नभएको विषयमा बढी गुनासो गर्नुभयो’, स्रोतको भनाइ छ । 

आन्दोलन एकताबद्ध हुन सकेको खण्डमा आन्दोलन बलियो हुनसक्ने र राजतन्त्र फर्काउने यात्रामा सहयोग पुग्ने पूर्वराजाको धारणा थियो । जनमत वर्तमान गणतन्त्रविरुद्ध रहेको बुझाइका साथ आफूले फागुन ७ मा देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरूलाई आह्वान गरेको पूर्वराजाको भनाइ थियो । 

सोहीबमोजिम बनेको नवराज सुवेदी नेतृत्वको आन्दोलन समिति बनेपनि त्यसलाई राप्रपा नेतृत्वबाटै खुलेर साथ नरहेको बढी गुनासोसहितको सन्देश उनले प्रवाह गरेका थिए । यस्तै तीनकुने आन्दोलनको विषयमा पनि छलफल भएपनि विस्तृत कुरा स्रोतले खुलाउन चाहेनन् । 
स्रोतका अनुसार राप्रपा अध्यक्ष लिङ्देनसहित पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए ।  यस विषयमा बुद्धिमान तामाङले पूर्वराजासँग भेट भएको स्वीकारे । उनले छलफलमा भएको विषयबारे भने खुल्न चाहेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप