सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय
प्रथम नेपाली महिला

नेपाली सेनामा काम गर्ने प्रथम नेपाली महिला ज्ञानी शाह को हुन् ?

शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । रातोपाटीको प्रस्तुति ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १७ औँ एपिसोड नेपाली सेनामा काम गर्ने प्रथम नेपाली महिला ज्ञानी शाहका सम्बन्धमा छ ।

उनले नेपाली सेनामा प्रथम महिला अधिकृत हुने श्रेय पनि हासिल गरेकी छिन् । सेनामा पहिलो नर्स हुने सौभाग्य समेत उनलाई प्राप्त छ । ज्ञानी शाह ‘टीकापुरकी धाई आमा’ अथवा ‘बूढी डाक्टर्नी’ जस्ता नामबाट पनि परिचित थिइन् ।

उनलाई नेपालमा इसाई धर्म प्रचारमा लागेकी प्रथम नेपाली पनि मानिन्छ । उनी ‘मण्डलीकी आमा’ उपनामबाट समेत चर्चित थिइन् ।

८२ वर्ष नाघिसके तापनि समाजसेवा प्रतिको उनको भावनामा कुनै कमी देखिएको थिएन ।

झन्डै २० वर्षअघि उनीसित भेट हुँदा अझै समाज सेवा गर्न चाहेको उनले बताएकी थिइन् ।  उनको शारीरिक अवस्था भने दह्रो थिएन ।

‘कम्मरको हड्डी बढेकाले’ उनलाई हिँडडुल गर्न समेत गाह्रो थियो ।

सोचे जस्तो गर्न नसके तापनि सके अनुसार सेवा गरिरहेकी थिइन् ।

‘इन्जेक्सन लगाउन सक्दिनँ, सुत्केरी गराउन पनि सक्दिनँ तर मकहाँ स्वास्थ्य, शिक्षा लगायतका विषयमा सोध्न धेरै जना आउँछन् ।

मैले जाने, बुझेको परामर्श दिने गरेको’ उनले बताएकी थिइन् ।

टीकापुरमा ३४ वर्षदेखि क्लिनिक सञ्चालन गर्दै आएकी ज्ञानी शाहको भनाइ थियो– ‘मैले यहाँ धेरै सेवा गर्न पाएँ । यहाँ निकै गरिबी छ, अशिक्षा छ, चेतना छैन । यिनै कारणले गर्दा मैले अवकाशपछि यही थलो रोजेकी हुँ । यहाँका धेरैजसो बच्चा मेरै हातबाट जन्मिए, हुर्किए । कोही मर्‍यो भने म पुग्नै पर्ने थियो । मैले आजसम्म कसैलाई जाँचेर पैसा लिएकी छैन । औषधी पनि परल दाममा दिने गरिएको छ, नसक्नेलाई थाहा नपाउने गरी छूट समेत दिने गरिएको छ । सेवा भनेको सक्नेले नसक्नेलाई गर्ने हो । गुप्त सेवा जत्तिको महान् सेवा अरू कुनै छैन । देखावटी सेवा, प्रचार–प्रसारको सेवाभन्दा गुप्त सेवाको महत्त्व धेरै बढी हुन्छ । मैले सेवा गरिनँ भने मैले स्वर्गमा ठाउँ पाउँदिनँ भन्ने लाग्छ । यो भावना ममा पहिल्यैदेखि रहेकाले यसप्रति मेरो सदा समर्पण भाव रहँदै आयो ।’

आफ्नो जीवनको उषाकालतर्फ फर्कँदै उनले बताए अनुसार उनी एक वर्षकी हुँदा आमाको निधन भयो ।

सानैमा आमा मरेकीले मामाघरमै हुर्किइन् उनी ।

मामा मुसिकोटे, हालको रुकुमका राजाखलक हुन् ।

मामाका जिजुबाजे, बाजे र उनका बुवा पनि पछिसम्मै माल्टाका ‘राजा’ थिए ।

ज्ञानी शाहकी मावलीबज्यै र प्रताप शमशेरकी रानी दिदीबहिनी हुन् ।

उनको धेरै समय प्रतापशमशेरको दरबार ‘फोहरा दरबार’ मै बित्यो ।

९० सालको भुइँचालो जाँदा उनी दश वर्षकी थिइन् ।

राणाहरूलाई ए, बी, सी क्लासमा छुट्याइँदा धेरै राणा देशबाहिर गए ।

प्रतापशमशेर ‘बी’ क्लासमा परेका थिए ।

प्रतापशमशेर दार्जिलिङतर्फ लाग्दा उनी पनि सँगै गएकी थिइन् ।

केही वर्ष त्यता बसेर रघुनाथपुर, जनकपुर आएकी हुन् ।

प्रतापशमशेरकी रानी नारायणकुमारी रघुनाथपुरमै थिइन् ।

ज्ञानी शाहका मामा पनि हरिहरपुरमा जङ्गल कटानीका काममा थिए ।

यहाँ मामासित उनी तीनवर्ष जति बसिन् ।

उनको जमानामा स्कुल, कलेज भन्ने थिएन ।

पण्डितहरूबाट पढाइ हुन्थ्यो ।

प्रतापशमशेर बितेपछि उनकी रानीसँगै ज्ञानी शाह पनि चारधाम यात्रामा गइन् ।

चारधाममा जगन्नाथधाम उनलाई सबैभन्दा बढी मन पर्‍यो ।

किन, किन ? उनलाई त्यहीँ जोगिनी भएर बस्न मन लाग्यो तर त्यो सम्भव थिएन ।

बनारस फर्किएपछि तीर्थभोज गरियो ।

यसपछि ‘रानी’ को दार्जिलिङ सवारी भयो ।

ज्ञानी शाहमा वैराग्यको भावना बढ्दै आएको थियो ।

खुला रूपमा जोगिनी हुनसक्ने कुरै थिएन ।

र, ‘जगन्नाथ’ पुग्नसक्ने उनको शक्ति र क्षमता पनि थिएन ।

दरबारभित्र मात्रै बसेकीले बाहिरतिरको उस्तो ज्ञान थिएन ।

तैपनि बनारसबाट टिकट काटेर कोलकाता जाने रेलमा चढिन् ।

पैसा पनि धेरै थिएन ।

रेल बिहानपख पटना पुग्यो ।

अनि उनको मन खेल्न थालेछ ।

उनलाई खोजेर चिन्ता भइरहेको होला भन्ठानी त्यहीँ ओर्लिछन् ।

थरीथरीका नेपाली भेटिए ।

उनलाई अप्ठेरो पनि भयो ।

तर एक नेपाली महिलाले निकै सघाइन् ।

उनी चाहिँ ‘जगन्नाथपुरी पुर्‍याइदेऊ’ मात्रै भनिरहन्थिन् ।

‘हेर तिमी जुनै पुरी गए पनि तिम्रो जीवन सुरक्षित रहँदैन ।

महिलालाई एक्लै बस्न धेरै गाह्रो हुन्छ । बरू म तिमीलाई एउटा राम्रो ठाउँमा पुर्‍याउँछु ।’ भनेर ती महिलाले त्यहाँको मिसन अस्पताल (बीएमएस हस्पिटल, भिवानी शपुर) मा पुर्‍याइदिएकी हुन् ।

सुरू–सुरूमा त उनलाई त्यहाँ सरसफाइको काम मात्रै दिइयो ।

त्यहाँ, उनको सुधोपन र मिहिनेत देखेर पढ्न पनि लगाएछन् ।

त्यतिखेर छ क्लास पढेपछि ‘नर्सिङ’ पढ्न पाइन्थ्यो ।

शिक्षा, तालिम सकेपछि उनले त्यहाँ १२ वर्ष सेवा गरिन् ।

पछि उनको स्वास्थ्य ठीक भएन ।

क्षयरोगका कारण बिरामी परिरहेकी देखेर ‘यसलाई विहार फापेन’ भनी पोखरा मिसन अस्पतालमा पठाइयो ।

२०१० मा एकवर्ष पोखरामा काम गरेर २०१२ मा युनाइटेड मिसन अस्पताल, काठमाडौं पुगिन् ।

यो अस्पताल पहिले टेकुमा थियो, पछि मात्रै पाटनमा सरेको हो ।

यहाँ पाँचवर्ष काम गरिन् ।

त्यतिबेला नेपाली नर्स थिएनन्, अमेरिकी र भारतीय नर्स मात्रै रहेको उनको भनाइ छ ।  

नीरशमशेरलाई उनी त्यहाँ काम गरिरहेको थाहा थियो ।

नीरशमशेरले नै उनलाई मिलिटरी हस्पिटलमा जान हौँस्याएका हुन् ।

‘आर्मी’, ‘सिपाही’ भन्दा ज्ञानी शाहलाई डर लाग्थ्यो ।

त्यसैले त्यहाँ जाने मन थिएन ।

पटक–पटक भनिएकाले निवेदन दिन पुगिन् ।  

हेडक्वार्टरमा निवेदन दिन जाँदा त्यहाँ नेपाली डाक्टर थिएनन् । भारतीय मात्रै थिए ।

‘यू आर मिस शाह ?’ भनेर कालो न कालो डरलाग्दो भारतीयले सोध्दा तर्सिएकी थिइन् रे ।

यो त यस्तो छ, अरू कस्ता होलान् ! भन्ने लागेछ उनलाई ।

अन्तर्वार्ता भयो, त्यसपछि उनलाई रक्षा मन्त्रालय, सिंहदरबार जान भनियो ।

रक्षामन्त्री मीनबहादुर गुरूङ थिए त्यसबखत ।

उनले केही सोधपुछ गरेर ‘नागरिकता प्रमाणपत्र बनाएर ल्याउनू’ भनेछन् ।

त्यतिखेर काठमाडौँ मजिस्टे«ट, पाटन मजिस्टे«ट भन्ने चलन थियो ।

पाटन मजिस्टे«ट धैर्य शमशेर थिए ।

उनी नागरिकता बनाएर पर्सिपल्ट रक्षा मन्त्रालयमा पुगिन् ।

नीरशमशेर पनि त्यहीँ रहेछन् ।

उनले ‘भोलिदेखि तिमी काममा जानू’ भने ।

आर्मीको सेवामा ‘मसान्त’ गन्ने चलन उनलाई थाहा थिएन ।

भनिएकै दिनमा काम थाल्न जाँदा कत्तिले ‘यो त धेरै बाठी रहिछे, मसान्तै पारेर आई’ भनेको सुनिन् उनले ।

पछि कुरो बुझेपछि निकै हाँसो लागेछ ।

२०१६ साल चैतमा उनले सेनामा प्रवेश गरेकी हुन् । सुरूमै ‘सेकेन्ड लेफ्टिनेन्ट’ भएर गएकी थिइन् । त्यहाँको मान्यताले अफिसरको दर्जा थियो । पछि पूरा ‘लेफ्टिनेन्ट’ बनिन् । ‘कप्तान’ सम्म भएर २०२७ सालमा जागिर छाडेकी हुन् उनले ।   

त्यतिखेर त्रिचन्द्र मिलिटरी अस्पतालमा कुनै कुरा व्यवस्थित थिएन ।

अस्पतालको नियम, तरिका पनि थिएन ।

मेडिसिन राख्ने राम्रो बन्दोबस्त समेत थिएन ।

डाक्टरले त लेखेर मात्रै जान्थे ।

तर परमेश्वरका कृपाले उनले त्यहाँ धेरै काम गर्ने मौका पाएको र केही नियम पनि बनाउन सकेको बताएकी छिन् ।

अलि दिन अघि त्यहाँ जाँदा ‘तँपाइँले उघार्नुभएको दैलामा हामीले राम्ररी काम गर्नपाएका छौँ’ त्यहाँ कार्यरत नर्सहरूले भन्दा उनको छाती हर्षले ठूलो हुनपुगेको’ सुनाएकी थिइन् उनले ।

त्यस बखत, उनका आँखा खूब रमाइरहेका थिए ।

ज्ञानीको उमेर पनि ३५ नाघिसकेको थियो ।

आर्मीको ‘आयुसीमा’ को नियमका आधारमा उनले जागिर छाडेकी हुन् ।

अनि तराईतिर लागिन् ।

त्यतिखेर कैलालीमा हैजाको महामारीले उनको हृदय रुवायो ।

आफू नर्स भएर पनि कसैलाई बचाउन, सेवा गर्न नसकेकामा उनको मनमा गहिरो वेदना बसेको थियो ।

उनले आफ्नो बाँकी जीवन गरिव, दीनदुःखीकै सेवामा बिताउने विचार गरिन् ।

त्यतिखेर टीकापुर जङ्गलैजङ्गल थियो ।

खड्गबहादुर सिंहको नेतृत्वमा रूख फाँड्ने काम भइरहेको थियो ।

झन्झटपुर गाउँमा बसेर २० वर्ष ज्ञानीले सेवा गरिन् ।

त्यो थलो नगरपालिकाभित्र पर्‍यो ।

उनको सेवाकार्य टीकापुर बजारबाटै भइरहेको थियो ।

ज्ञानी आमाबावुकी एकमात्र छोरी हुन् ।

उनका सौतेनी आमाबाट चार भाइ पनि भएका थिए ।

ती सबैको निधन भइसक्यो ।

‘विवाह गर्ने इच्छा कहिल्यै भएन र मौका पनि मिलेन’ उनको भनाइ थियो ।

‘लुगा रङाएर जोगिनी त भइनँ तर वास्तवमा म जोगिनी नै हुँ’ उनले हाँस्दै भनेको आजै जस्तो लाग्छ ।

१९८० असार १ गते माल्टाकोट, सल्यानमा जन्मिएकी ज्ञानी शाहकी माता घमन्डकुमारी शाह र पिता डोलप्रसाद शाह हुन् ।

८९ वर्षको उमेरमा २०६९ मङ्सिर २३ गते उनको निधन भयो ।

अहिले नेपाली सेनामा महिला सहभागिता बर्सेनि बढिरहेको छ ।

महिला मात्रै भएको ‘गोरख काली गुल्म’ समेत बनेको छ ।

गणप्रमुख, पृतनाप्रमुख आदि हुँदै महिलाले ‘प्रधान सेनापति’ समेत बन्नसक्ने व्यवस्था रहेको छ ।

२०७४ साउन एक गते स्थापित ‘गोरख काली गुल्म’ मा प्रथम नेपाली महिला गुल्मपति हुने श्रेय सेनानी (मेजर) सृष्टि खड्काले प्राप्त गरेकी छिन् ।

‘नेपाल सैनिक ऐन २०१६’ लागु भएपछि नेपाली सेनामा महिलाका लागि दैलो उघ्रिएको हो ।

ज्ञानी शाहको प्रवेशपछि अनेक महिलाले नेपाली सेनामा रही आफ्नो ज्ञान, सिप र सामथ्र्य दर्शाउने अवसर प्राप्त गरेका हुन् ।

पहिले सेनाको प्राविधिक क्षेत्रमा मात्रै महिला कार्यरत थिए ।

तर अहिले विभिन्न फाँटमा रही आफ्नो कुशल कार्यक्षमता प्रदर्शन गरिरहेका छन् ।

नेपाली सेनामा महिला डाक्टर, नर्स, इन्जिनियर र पाइलटको सङ्ख्या बढ्दैछ ।

लेखा, प्रशासन, कानुन, सञ्चार आदि क्षेत्रमा पनि महिलाहरू सक्रिय रहेका छन् ।

नेपाली सेनामा बढ्दो महिला सहभागिता निश्चय नै गौरवको विषय हो ।

‘महिला प्यारा जम्पर’ पूर्व उपसेनानी अन्नपूर्ण कुँवर, महिला पाइलट निरु ढुङ्गाना र अनिता आले मगर, ‘पीएचडी’ गर्ने प्रथम सैनिक महिला अधिकृत डा. नर्वदा थापा, नेपाली सेनाको ‘कमाण्ड एण्ड स्टाफ कोर्ष’ मा सहभागी हुने सुलोचना देउजा, प्रथम ‘प्राड’ अधिकृत इमिना राणा र सेनाको सञ्चार क्षेत्रमा रहेकी शोभना रायमाझी यतिखेर स्मरणीय बनेका छन् ।

नेपाली सेनामा ‘ब्रिगेडियर जर्नेल’ को सम्मानित पदमा पुग्ने महिला डा. राधा शाह हुन् ।

२०५६ साल यता राष्ट्र संघीय शान्ति अभियानमा पनि नेपाली सैनिक महिलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपाली सेनामा प्रथम महिला अधिकृत बनेकी ज्ञानी शाहले सेना र समाज सेवाका क्षेत्रमा गरेका योगदान उल्लेखनीय छन् । नेपाली सेना ‘महिलामैत्री’ हुँदै गइरहेको सुखद अवस्थामा नेपाली सेनाकी अग्रणी ज्ञानी शाहलाई ससम्मान सम्झनैपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया