काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) स्थापना भएको ५५ वर्ष पुगेको छ । प्रजातन्त्रका लागि लडेको नेपाल विद्यार्थी संघले गौरवमय इतिहास बोकेको छ । पञ्चायतकालीन समयमा राजनीतिक पार्टीले खेल्नु पर्ने महत्त्वपूर्ण भूमिका खेलेको नेविसंघले थुप्रै नेता जन्माएको छ ।
कांग्रेसको नर्सरी मानिने नेविसंघले थुप्रै नेताहरू जन्मायो । विद्यार्थी राजनीति हुँदै यही स्कुलिङबाट हुर्किएकाहरू कालान्तरमा मन्त्री, प्रधानमन्त्रीसम्म बन्न सफल भए । दलीय राजनीतिमाथि प्रतिबन्ध लगाइएको बेला नेपाली काँग्रेसले शैक्षिक एजेन्डामा टेकेर विद्रोह गर्न वि सं २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना गर्यो । एकतन्त्रीय पञ्चायती शासनका विरुद्ध लडेको नेविसंघले नेपालको प्रजातान्त्रिक आन्दोलन प्राप्तिको लडाइँमा अतुलनीय भूमिका खेल्यो ।
पञ्चायती कठोर शासनमा प्रवासमा रहेका विद्यार्थीहरूले ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेका थिए । नेपालका विभिन्न क्याम्पसहरूमा सम्मेलन तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको थियो । यसैबाट औपचारिक रूपमा नेपाल विद्यार्थी संघको जन्म भयो । प्रजातन्त्र स्थापनादेखि गणतन्त्रसम्मको यात्रामा नेविसंघले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
नेपाल विद्यार्थी संघको स्कुलिङबाट हुर्किएर कांग्रेसको राजनीतिमा उदाएका नेता मध्ये एक हुन्, नैनसिंह महर ।
नैनसिंह डडेलधुराको असीग्राम उच्च माध्यमिक विद्यालय माध्यमिक तहमा विद्यार्थी थिए । त्यही स्कुल पढेका नेपाली कांग्रेसका सभापति देउवाको प्रभाव डडेलधुराभरि फैलिएको थियो । पञ्चायतविरुद्ध सक्रिय रूपमा लागेका देउवाको प्रभाव नजानिँदो तरिकाले महरमा पनि परिसकेको थियो ।
त्यसैबेला नेविसंघको सदस्य बन्न उत्साहित बनिसकेका थिए । बहुदलपछि उनी नेविसंघ र कांग्रेस राजनीतिमा समर्पित भए । अध्यक्ष बन्न भने उनले लामै समय कुर्नुपर्यो । नेपाल विद्यार्थी संघको एघारौँ महाधिवेशनबाट १८ औँ अध्यक्षका रूपमा निर्वाचित भएका महरले २९ महिना संगठनमा काम गरे । २०७३ पछि नेविसंघको महाधिवेशन हुन सकेको छैन ।
डडेल्धुराको भागेश्वरमा जन्मिएका उनी नेविसंघ डडेल्धुराको पूर्वअध्यक्ष तथा डडेल्धुराबाट निर्वाचित काँग्रेस महासमिति सदस्यसमेत हुन् । नेविसंघको निर्वाचित केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बन्न उनी सफल भए । महरले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनी स्कुल अफ डेमोक्रेसीको अध्यक्ष समेत हुन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) स्थापनाको ५५ वर्ष पुगेको सन्दर्भमा रातोपाटीले महरसँग भिडिओ कुराकानी गरेको छ । नेविसंघको इतिहास, विगतमा यसले खेलेको भूमिकालाई उनले सम्झिएका छन् । आजको दिनमा विद्यार्थी राजनीतिको भूमिका कस्तो रहन्छ ? नेविसंघमा समयमै किन महाधिवेशन हुन सकिरहेको छैन ? नेविसंघले समात्नु पर्ने बाटो के हो ? यिनै सन्दर्भमा महरसँग गरिएको कुराकानी :
प्रतिक्रिया