सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक

शनिबार, ०६ वैशाख २०८२, १२ : ०१
शनिबार, ०६ वैशाख २०८२

पोखरा । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता नभएको बताएका छन् । शनिबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र एमालेका बिचमा कुनै समस्या नभएको समेत बताए । 

गृहमन्त्री लेखकले भने, ‘काम गर्दै जाँदा केही विषय आए छलफल गर्छौं र निराकरण गरिएको छ । सरकार बदलिन्छ भन्ने हल्लामा सत्यता छैन । हामी छलफलबाटै सम्बोधन गरेर सहमतिमै अघि बढ्छौँ ।’

लेखकले गभर्नर नियुक्तिको विषयले पनि सरकारलाई अप्ठ्यारो नपर्ने बताए ।  पछिल्लो समय संविधान विरोधी गतिविधि देखापरेको बताउँदै पूर्व राजावादीहरू लोकतन्त्र र गणतन्त्र समाप्त गरेर पश्चगामी अभियानमा रहेको समेत उनले बताए । 

लेखकले भने, ‘लोकतन्त्रको विकल्पमा जनताले निरङ्कुशता रोज्ने सम्भावना छैन । गणतन्त्रको विकल्पमा राजा रोज्दैनन् ।’ उनले यो संविधान पनि असफल भए मुलुकमा अस्थिरताको अन्त्यहीन शृङ्खला सुरु हुने बताए ।

‘७० वर्षमा ७ वटा संविधान फेरेछौँ । धेरै बाटा बनाउने, पुल, उद्योग, स्कुल, क्याम्पस बनाउनु राम्रो हो । धेरै संविधान बदल्नु अस्थिरताको सङ्केत हो । तसर्थ अब यो संविधान असफल भयो भने अस्थिरताको अन्त्यहीन शृङ्खला सुरु हुन्छ । भावी पुस्तालाई अन्याय हुन्छ ।’ 

संविधान संशोधनका लागि समिति बनाउने तयारी भइरहेको र सदस्यको सङ्ख्या पनि टुङ्गिएको उनले  संशोधनका लागि सबैको सहमति चाहिने समेत बताए ।  उनले शिक्षक आन्दोलनका माग महत्त्वपूर्ण रहेको र पूर्वसहमति अनुसार ऐन बनाउन सरकार तयार रहेको समेत उनले बताए ।  ‘शिक्षकका माग महत्त्वपूर्ण छन् । पूर्व सहमतिअनुसार ऐन बनाउन सरकार तयार छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप